काठमाडौं/१३ वैशाख-काठमाडौंको वुढानिलकण्ठ-१० कपनको मिलनचोक स्थित जोसेफ स्कुलले एसईई दिँदै गरेका एक जना विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको छ । एपेक्स लाईफ स्कुलका एचऐन खड्कालाई सोमबार गणित विषयको एसईई परीक्षा दिँदा दिँदै गार्डले पछि फर्केको भन्दै कपि खोसेर परीक्षा दिनबाट वञ्चित गरेको पाइएको हो ।
परीक्षार्थी एचऐन खड्का परीक्षामा सहभागी भएको १० मिनेट पछि पछाडि फर्केर साथीलाई सोधेको भन्दै उनले लेख्दै गरेको कापी खोसेर दुई घण्टासम्म परीक्षा हलमा रखिएको पाइएको छ । उनले धरै पटक परीक्षा गार्डमा रहेका शिक्षकलाई अनुरोध गर्दा पनि विभिन्न गालि गर्दे कापी नै नदिई दुई घण्टा सम्म परीक्षाहलमा राखिएको विद्यार्थीले बताएका छन् ।
उनले खबर एजुकेशनसँग भने मेरो गल्ति केही थिएन, अरु विद्यालयका विद्यार्थीहरुलाई सिकाईदिने, नजानेको भनिदिने तर मैले टाउको मात्र घुमाएको थिए मैले लेख्दै गरेको कापी नै खोसियो । त्यसपछि २५ मिनेटको समय रहँदा मात्र मलाई कापी दिइयो । मैले जम्मा ३० नम्बरको मात्र लेख्न पाए । उनले थपे सरसँग धेरै पटक अनुरोेध गरे तर कापी दिनुको साटो उल्टो “त धर्तिको बोझ होस, तलाई किन दिनु” भन्दै गालि गर्नुभयो । पछि केन्द्राध्यक्ष सुर्य अधिकारी आएर सोधेपछि मात्र मलाई कापी दिइयो ।
उनीसँगै परीक्षा हलमा रहेका साथीहरुसँग बुझ्दा करीब दुई घण्टासम्म परीक्षा दिन नपाई कापी खोसेर कक्षामा राखिएको बताए । बाहिर पिसाब फेर्न जान्छु भन्दा पनि जान नदिने र गालि गर्दे परीक्षाहलमा खड्कालाई राखिएको उनका साथीहरुले जानकारी दिए ।
उनका बुबा यज्ञ खडकाले यसरी विनाकारण विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गर्न नहुने बताउँदै आफ्नो छोरो अन्यायमा परेको बताएका छन् । उनले परीक्षा हलमा लेख्दा लेख्दै विनाकारण कापी खोसिनु र दुई घण्टासम्म लेख्न नदिनुले छोराको भविष्य नै अन्योल भएको बताए । उनले यसबारेमा बुढानिलकण्ठ नगरपलिका शिक्षा शाखामा निवेदन दिनुका साथै राष्ट्रिय परीक्षा बोर्डमा समेत जानकारी गराएको खबर एजुकेसनलाई जानकारी दिए ।
बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख ललित विक्रम सिंहले यसको अधिकार पालिकालाई भन्दा शिक्षा विकास तथा समन्वय इकाईलाई रहेको जानकारी दिँदै यो कुरा सुने पछि आफुपनि विद्यालयमा बुझ्न गएको बताए । उनले विद्यार्थीले घरी घरी पछाडी फर्कने, दायाँ बायाँ हेरेका कारण पटक पटक गरेर कपि खोसिएको जानकारी केन्द्रले दिएको बताए । विद्यार्थीका अभिभावकले शिक्षा शाखामा निवेदन दिएको र यसबारेमा अध्ययन गरेरमात्र वास्तविक कुरा थाहा हुने जनाए । साथै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सहित भोलि परीक्षा केन्द्र पुग्ने जानकारी दिए । उनले भने “परीक्षा केन्द्रले मात्रै भनेका आधारमा निर्णय हुदैन यदि परीक्षा गार्डमा रहेका शिक्षकको गल्ति छ भने कार्वाही हुनुपर्छ ।”
जोसेफ स्कुलका भाइस प्रिन्सिपल दिपक अधिकारीले परीक्षामा रहेका शिक्षकलाई सोध्दा विद्यार्थी पछाडि फर्केर साथीलाई सोधेका कारणले कापी खोसिएको जानकारी पाएको बताए । उनले दुई घण्टा नभई ५ देखि ७ मिनेटमात्र कापी खोसिएको र पुनः लेख्न दिएको बताएका छन् । अहिले परीक्षा गार्डमा रहेका शिक्षकलाई गार्ड बस्नबाट हटाइएको समेत उनले जानकारी दिए ।
भाइस प्रिन्सिपल अधिकारीले यदी विना गल्ती वा सामान्य कुरामा विद्यार्थीलाई त्यसरी कार्वाही गरिएको र गाली गरीएको पाइएमा गल्ति गर्ने शिक्षकलाई कार्वाही गरीने समेत प्रतिवद्धता व्याक्त गरे ।
यता राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले त्यसरी विद्यार्थीलाई परीक्षा दिनबाट रोक्न नमिल्ने बताउँदै यसबारे अध्ययन गरी सत्य तथ्य पत्ता लगाएर मात्र अगाडि बढीने बताएका छन् ।



