काठमाडौँ /६ बैशाख-विद्यालयमा हिन्दीलाई अनिवार्य बनाउने भएपछि भारतका उत्तरपूर्वी राज्यमा विरोध भएको छ । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले देशका उत्तरपूर्वी राज्यकाले तिनका विद्यालयमा हिन्दी भाषालाई अनिवार्य बनाउने सहमति भएको जनाए पछि विरोध भएको हो ।
सहमति सार्वजनिक भएसँगै आसाम लगायत उत्तरपूर्वी राज्यहरुमा आक्रोश उत्पन्न भएको छ । उत्तरपूर्वका आठ राज्यका १० कक्षासम्म हिन्दी भाषा अनिवार्य बन्न लागेको जानकारी दिने क्रममा शाहले हिन्दीलाई ‘भारतको भाषा’ बताए । उनले ‘देशको एकता मजबुत बनाउन हिन्दी भाषालाई आधिकारिकता प्रदान गर्ने बेला आएको’ भने ।
सोही घोषणा कार्यक्रममा शाहले उत्तर पूर्वी राज्यका नौ आदिवासी समुदायले तिनको भाषाको लिपी बदलेर देवनागरी बनाएको पनि शाहले जानकारी गराएका थिए ।
भारतको संसद अन्तरगतको वैधानिक भाषा समितिका अध्यक्षसमेत रहेका शाहले आठ उत्तर–पूर्वी राज्यमा हिन्दी पढाउन शिक्षक बढाउने पनि बताए । उनले नयाँ परिवर्तनलाई कार्यन्वयन गर्न २२ हजार हिन्दी भाषाका शिक्षक खटाइएको जानकारी दिए ।
गृहमन्त्री अमित शाहको भनाइप्रति सबै आठ राज्यमा विरोधको आवाज सुनिएको छ । हालसम्म आक्रोश सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा मात्र देखिएको छ । विरोध प्रदर्शन नै सुरु भएको छैन ।
मेघालयकी पूर्व मन्त्री मान्जल अम्परितन लिंगदोहले उत्तरपूर्वी राज्यमा हिन्दी अनिवार्य विषय बनाउने कुरालाई लिएर केन्द्र सरकारको आलोचना गर्दै भनिन्, ‘मेघालयमा पहिलेदेखि आठ कक्षासम्म हिन्दी तेस्रो भाषाको रुपमा अनिवार्य छ । यदि गृहमन्त्रीको उद्देश्य स्थानीय भाषा हटाएर हिन्दीलाई अनिवार्य बनाउने हो भने त्यो कुरा कदापी स्वीकार्य हुने छैन । यदि यो क्षेत्रमा १० औं र १२ औं कक्षासम्म हिन्दी अनिवार्य बनाइयो भने हाम्रो मातृभाषा नास हुन्छन् । ’
भारतका उत्तरपूर्वी राज्यका मानिसहरुको लागि भाषासँग जोडिएको मुद्दा सधैं संवेदनशील रहँदै आएको छ । मेघालयमा द भ्वाइस अफ द पिपुल पार्टीका अध्यक्ष अरटेन्ट मिलर बसियावमोइटले भाषागत परिवर्तनमार्फत केन्द्रको भाजपा भारतलाई हिन्दू राष्ट्रमा बदल्ने दिशामा अघि बढेको आरोप लगाए । –बीबीसी हिन्दीबाट



