तहगत स्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिइनु पर्छ

नवलपरासी/८ चैत-शिक्षा नियमावलीको परिच्छेद १७ को नियम ९३ मा प्रत्येक सामुदायिक विद्यालयमा वरिष्ठ स्थायी शिक्षकहरु मध्येबाट विद्यालय व्यवस्थापन समितीले प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था गरेको छ । तर नवलपरासी (पुर्व र पश्चिम दुबै ) मा यस्तो व्यवस्थाको धज्जी उडाइएको छ । औंलामा गन्न सकिने बाहेक सबै पालिकाहरुमा न स्थायी शिक्षक प्रधानाध्यापक बनेका छन् न तहगत र योग्यता पुगेका ।


पटकपटक सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ तथा पालिकाका शिक्षाका प्रमुखहरुलाई यस सम्बन्धमा जानकारी र अनुरोध गर्दा समेत बेवास्ता गरि स्थायी शिक्षकहरुको मान मर्दन गरिएको छ । कक्षा १–१२ चलेका प्रत्येक सामुदायिक विद्यालयमा स्थायी शिक्षक नहुनु एउटा कारण त होला । तर, चितवनको भरतपुर महानगर पालिकाले सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रयोजनका लागि तहगत स्थायी शिक्षकलाई काज सरुवा गरी प्रधानाध्यापक व्यवस्थापन गरेको छ । यसको सिको सबै पालिकाहरुले किन नगर्ने ?


कक्षा १–५,१–८,१–१२ चलेका सामुदायिक विद्यालयमा प्राथमिक तह, अस्थायी करार, राहत तथा योग्यता नपुगेका शिक्षकहरुलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ । यो तुरुन्तै नियमावली अनुसार कक्षा १–५ मा प्रावि स्थायी ,१–८ मा निम्न माध्यामिक स्थायी र १–१२ मा मावि स्थायी स्नातकोत्तर प्रधानाध्यापकको व्यवस्थापन हुनुपर्छ । स्थायी शिक्षकहरुलाई काज सरुवा गरेर भए पनि तहगत स्थायी शिक्षकहरुलाई प्रधानाध्यापकको जिम्मेवारी दिइनु पर्छ । स्थायी शिक्षकहरुको मानमर्दन हुने गरि तल्लो तहका, अस्थायी , करार, राहत र अयोग्य (योग्यता नै नपुगेका) शिक्षकहरुलाई राजनीतिक आस्थाका आधारमा जिम्मेवारी दिनु नियम विपरीत कार्य हो । यो तुरुन्तै सच्चिनु पर्दछ ।


नियमावलीले विद्यालय विकास प्रस्ताव पेश गर्ने स्थायी बरिष्ठ शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने व्यवस्था गरे ता पनि पालिका तथा शिक्षा समन्वय इकाइहरुले यसतर्फ ध्यान दिएको देखिदैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हस्तक्षेप गरी नियमावलीको कार्यान्वयन तुरुन्तै गर्ने आदेश दिनु पर्दछ ।


शिक्षा नियमावलीको नियम विपरीत नियुक्त गरिएका प्रधानाध्यापकहरुलाई हटाइ योग्य तथा वरिष्ठ शिक्षकहरुलाई विद्यालय विकास प्रस्ताव आह्वान गरि एक पटकमा बढिमा ५ बर्षका लागि प्रधानाध्यापकमा नियुक्ति दिइनु पर्दछ । प्रत्येक सामुदायिक विद्यालयमा तहगत स्थायी शिक्षकको व्यवस्था गरि प्रधानाध्यापक नियुक्ती गरिनु पर्दछ । पालिकाहरुले प्रधानाध्यापकका नाममा नियम विपरित नियुक्ति भएका प्रधानाध्यापकहरुलाई मिटिङ लगायतका अन्य सेवा सुविधा प्रदान गर्नु एकातिर भ्रष्टाचार हो भने अर्को तिर कनिष्ठ शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएर वरिष्ठ शिक्षक प्रतिको हेपाहा प्रवृत्ति हो, मान मर्दन हो ।

कतिपय स्थानीय तहहरुले आफू अनुकुल स्थानीय शिक्षा ऐन बनाई एकाध व्यक्तिलाई हेरेर प्रधानाध्यापक सम्बन्धि अपुरो नियमावली निर्माण गरि राजनितीक आस्थाका आधारमा कानुन विपरीत पुर्वाग्रही ढंगबाट शिक्षक सरुवा गरेको पाइएको र सम्मानित अदालतले उक्त सरुवा बदर गरेका उदाहरण देख्न सकिन्छ । तर प्रधानाध्यापक नियुक्ति गर्ने प्रयोजनका लागि भरतपुर महानगरको अनुकरण गर्न जरुरी छ ।


अन्यथा शिक्षा विकास तथा समन्वय इकाइ र पालिकाहरुका शिक्षा शाखाको जिम्मेवारी खरदार र सुब्बालाई किन नदिने ? सम्बन्धित निकायको बेलै माथि ध्यान जान जरुरी छ ।


कुसुम न्यौपाने
संयोजक : स्थायी शिक्षक हकहित मञ्च,नवलपरासी (पुर्व)