नेपाली शिक्षाको भविष्य र हिसानको भूमिका

काठमाडौं/४ चैत-नेपालको पछिल्लो शैक्षिक अवस्थालाई हेर्ने हो भने एक प्रकारको अव्यवस्थित र लथालिङ्ग जस्तै देखिएको छ । अहिले शिक्षाका विभिन्न विषयहरूलाई गम्भीर रूपमा लिएर छलफल गरी नीतिगत तहदेखि नै सुधार गर्नुपर्ने सवालहरू धेरै उठेका छन् । विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै समस्यालाई नयाँ शिक्षा ऐन जारी गरेर व्यवस्थापन गर्न सकिन्छ भन्ने सरोकारवालाहरू धेरै छन् । तर, शिक्षा ऐन बन्ने क्रममा रहेपनि जारी हुनेमा ढुक्क हुने अवस्था देखिदैन । त्यसमा पनि उच्च शिक्षाको सवालमा शिक्षा मन्त्रालयदेखि विश्वविद्यालयहरू बारम्बार अलमलिएको देखिन्छ । उनीहरूसँग दक्ष जनशक्ति उत्पादनका लागि कुनै दिर्घकालीन योजना देखिँदैन । तसर्थ अब विश्वविद्यालय शिक्षालाई व्यवस्थित, मर्यादित बनाउँदै विद्यार्थीहरूलाई आकर्षणको केन्द्रमा राखेर योजना बनाउँनु आवश्यक छ ।


सरकारले २०४८ सालदेखि कक्षा ११ र १२ लाई उच्च माध्यामिक शिक्षा ऐन अन्तरर्गत अलग्गै बोर्डबाट स्थापना भएता पनि अहिले त्यो अवस्था रहेन र विद्यालय तहमा गाभिसकेको छ । तर पनि उच्च शिक्षाको जगका रूपमा अहिले पनि ११ र १२ को महत्व उत्तिकै रहेको छ । उच्च माध्यमिक शिक्षा छुट्टै बोर्डको रूपमा सञ्चालित हुँदा पाठ्यक्रम निर्माण गर्न, परीक्षालाई मर्यादित र व्यवस्थित गर्न, उच्च माध्यामिक शिक्षा परिषद्सँग सहकार्य गर्ने लगायतका धेरै मुद्दाहरूलाई व्यवस्थित गर्ने उद्देश्यले २०५२÷५३ सालमा गठन भई निजी शैक्षिक संस्थाहरुको राष्ट्रिय संगठन हिसानको उदय भयो । यो सँगै प्लस २ को आकर्षण सहित धेरै शैक्षिक संस्थाहरूको संख्या बढाउनु पर्ने चुनौती पनि उत्तिकै थियो । त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह पनि सञ्चालनमा रहेका कारणले पनि हामीलाई अझ बढी चुनौतीहरू थिए । यस्ता खालका विभिन्न चुनौती र अवसर सहित अगाडि बढ्दै गर्दा विभिन्न तहमा संगठनको विकास, वृद्धि र विस्तार गर्दै आज हिसान यहाँसम्म आएको छ ।

प्लस टु शिक्षामा हिसानको भूमिका :


देश संघीयतामा प्रवेशसँगै मुलुकमा नयाँ संविधान लागू भएपछि २०७२ पछि विद्यालय शिक्षाको संरचनामा १ देखि १२ कक्षासम्मलाई विद्यालय शिक्षाको रूपमा अवलम्बन गरियो । कक्षा ११ र १२ विद्यालय शिक्षामा गइसकेपछि हिसानले कक्षा ११ र १२ को संरचनालाई मात्र सिमित नगरी उच्च शिक्षाको नेतृत्वलाई आवश्यकता महसुस ग¥यो र उच्च शिक्षालाई पनि समेट्ेर अगाडि बढ्नु पर्छ भन्ने अठोट ग¥यो । त्यसपछि २०७२ सालमै उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपालका रूपमा हिसानलाई परिवर्तित ग¥यो । अहिले हिसानमा करिब १ हजार ५० शिक्षण संस्थाहरू आवद्ध रहेको एक सवल र मजबुत संगठन बनेको छ ।

सहकार्यमा हिसान :
यहाँ मनन गर्नुपर्ने कुरा के छ भने हिसान कसैसँग चोइटिएर आएको संगठन नभई उच्च माध्यमिक तहका विद्यालय÷ +२ कलेजहरुलाई नेतृत्व गर्न खोलिएको एक मौलिक संगठन हो । पछिल्लो केही वर्ष यता उच्च शिक्षालयहरूलाई पनि हिसान अन्तर्गत समावेश गर्ने गरी योजनावद्ध रूपमा संगठनलाई विस्तार गरिँदै आएको छ । इञ्जिनियरिङ, व्यवस्थापन, मानविकी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट, कानून आदि कार्यक्रम सञ्चालन गरेका कलेजहरू, सिटिइभिटीको सम्बन्धनबाट सञ्चालनमा रहेका कलेजहरू र विश्वविद्यालयहरूबाट सम्बन्धन लिएका कलेजहरूका संगठनहरूलाई पनि समेटेका छौँ । यसलाई ‘लुज नेटवर्क’का हिसावले आबद्ध गराएका छौँ र यसकै परिकल्पनालाई लिएर संगठनलाई बलियो बनाउन थप आवश्यकता महशुस गरेका छौं ।


अब बन्ने नयाँ विधानमा संस्थागत रूपमा सँगै भएर आगाडि बढ्ने गरी हिसानको विधान संशोधनको प्रकृयामा छ । उच्च शिक्षालयहरू सबैलाई समेट्न सक्ने गरी महासंघको अवधारणामा पनि जाने योजनाका साथ आसन्न नवौं महाधिवेशन (चैत्र २५ र २६, २०७८)ले सबै उच्च शिक्षलयहरू समेटेर आगामी दिनमा अगाडि बढ्ने कार्ययोजनाका साथ काम भइरहेको छ ।


अर्कोतर्फ, हिसान उच्च शिक्षालयहरूको संगठन भए पनि प्याब्सन र एन–प्याब्सन जस्ता राष्ट्रियस्तरका संगठनहरुसँग कक्षा ९ देखि १२ सम्मको तहका लागि सहकार्य गर्न आवश्यक छ । शिक्षामा निजी क्षेत्रको लगानीको ग्यारेन्टी र सम्बर्धनका साथै शैक्षिक उन्नयन, पाठ्यक्रम, परीक्षा व्यवस्थापन, नीतिगत कुराहरूमा सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प छैन । तर, कक्षा ११ र १२ तह उच्च शिक्षाको ‘फाउण्डेसन’ भएकाले यसको आवश्यकता अझै महसुस गरेका छौँ, तसर्थ सांगठनिक एवं प्राविधिक कुराहरूमा प्याब्सन र एन–प्याब्सनसँग सहकार्य गर्नुपर्ने देखिन्छ । विद्यालय शिक्षाका जुन खालका समस्या र चुनौतीहरू छन् उच्च शिक्षाका समस्या र चुनौतीहरू फरक हुने भएकाले निजी क्षेत्रका चूनौतीहरू एवं नितीगत कुराहरूमा सँगै सहकार्य गर्नुपर्ने आवश्यकता देखिन्छ ।


पेसागत संगठनका तर्फबाट राज्यसँग नितीगत सवालमा बोल्नका लागि र बन्दै गरेको शिक्षा ऐनमा हाम्रा मुद्दाहरू सम्बोधन गराउनका लागि अब हामी प्याब्सन लगायतका राष्ट्रिय संगठनहरु सँगको सहकार्यमा जोडतोडका साथ लाग्ने समय आएको छ । कोभिड १९ का कारणले केही समयदेखि हाम्रा गतिविधिहरूमा कमी देखिएको यथार्थ हो । अब ढिला नगरी हाम्रा मुद्धाहरूलाई योजनाबद्ध रूपमा उठान गर्न जरुरी छ । यसमा कक्षा ११ र १२ को शिक्षालाई मात्र हेरेर हुँदैन समग्र देशकै शिक्षालाई परिवर्तन गर्न र समय सापेक्ष बनाउन आवश्यक छ ।


विद्यालय शिक्षा स्थानीय तहको जिम्मेवारीमा गए पनि त्यसको व्यवस्थापन, परीक्षा, पाठ्क्रम, शिक्षक÷कर्मचारीको दरबन्दी लगायत विविध कुरामा अलमलिएको अवस्था एकातिर छ भने अर्कोतिर सबै स्थानीयतहमा शैक्षिक गुणस्तरको एकरूपता ल्याउनु पर्ने चुनौती पनि छ । यसमा प्याब्सन, एन–प्याब्सन र स्थानीय तहसँग मिलेर हिसानले काम गर्नुपर्ने देखिन्छ । अर्को तर्फ उच्च शिक्षामा अहिले जुन खालका चुनौतिहरू देखिएका छन्, २०२८ सालदेखि अहिलेसम्म आईपुग्दा पनि उपयुक्त शिक्षा ऐनको अभावमा हाम्रा शैक्षिक संस्थाहरू तहस नहस हुने अवस्थामा आइपुगेका छन् । यो सवालमा निजी क्षेत्रले राज्यलाई सहयोग गर्दै शिक्षा ऐन ल्याउन खेल्नु पर्ने भूमिका नै हिसानको प्रमुख मुद्दा हो ।

उच्च शिक्षामा हिसानको भूमिका र चुनौती :


उच्च शिक्षाका विषय र समस्याहरू काम गर्ने दायराहरू वृहत् छन् । त्यसैले पनि हिसानले प्रदेश सरकारदेखि लिएर केन्द्रीय सरकारसँग अलि बढी सहकार्य गर्नुपर्ने हुन्छ । अब प्रदेश स्तरीय विश्वविद्यालयहरू पनि खुल्ने क्रममा भएकाले हिसानले प्रदेश संगठनलाई अझ सशक्त र सक्रिय बनाएर नीतिगत रूपमा काम गर्न सक्ने गरी संगठनको विकास गर्नु पर्दछ ।
एकातिर शिक्षा ऐन आउन ढिला हुने, अर्कोतिर विश्वविद्यालयहरू खुल्दै जाने हो भने यसले उच्च शिक्षाको गुणस्तरमा प्रभाव पार्न सक्छ । एउटै विश्वविद्यालयले सबै विषय पढाउँदा दक्ष जनशक्ति उत्पादनमा चाहेजस्तो नतिजा नआउन सक्छ । त्यसकारण अब खुल्ने विश्वविद्यालय भनेको विशिष्टिकरण विश्वविद्यालय हुनु पर्छ र हिसानले आफ्नो मुद्दाका रूपमा यसलाई उठाउनु आवश्यक छ । जस्तै : इन्जिनियरिङ्ग विश्वविद्यालय, मेडिकल विश्वविद्यालय, कानून, व्यवस्थापन, खेलकुद तथा पर्यटन सम्बन्धी विश्वविद्यालय लगायतका विविध विषयहरूको विश्वविद्यालय खोल्नु अबको आवश्यकता हो ।


अर्को, जुन उद्देश्यले विश्वविद्यालय खोलिएको हो त्यसैसँग सम्बन्धित विषयहरूमा मात्र पठनपाठन र अनुसन्धान हुनु आवश्यक छ । त्यसैगरी विश्वविद्यालयहरूले कलेजहरूलाई सम्बन्धन दिन रोकतोक गर्ने, विभिन्न परीधिहरू तोक्ने, सिमित सिट तोक्ने आदि कारणले राम्रा कलेजहरू हुँदाहुँदै पनि विद्यार्थीहरू राम्रो कलेजको खोजीमा विदेश जानुपर्ने बाध्यतालाई गम्भीर रूपमा हेरिनु पर्दछ । नेपालका विश्वविद्यालयहरूले समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशित गर्न नसक्दा विदेशी विश्वविद्यालयहरूले चलखेल गरेर विद्यार्थीहरूलाई विदेश लाने गरेको अवस्था छ । विदेशी शिक्षाको नाममा खोलिएका र सामान्य पूर्वाधारमा संचालन भएका कलेजहरूले पनि धमाधम विदेशमा हाम्रा विद्यार्थीहरू लगिरहेको अवस्था छ । यसले कहिलेकाही विद्यार्थीको भविष्य जोखिममा पर्ने गरेको गुनासाहरू पनि नआएका हैनन् ।


त्यसैगरी कन्सल्टेन्सीहरूले आर्थिक प्रलोभनमा पारेर सहि परामर्श नदिई विभिन्न आश्वासन, रोजगारीको लोभ देखाउने, अनुमति नलिई शैक्षिक मेला सञ्चालन गर्ने, विदेशका कलेजहरुले अनाधिकृत रूपमा नेपालमा प्रतिनिधिहरू राखेर विद्यार्थीहरूलाई बाहिर पठाइरहेका छन् । यसलाई रोक्नका लागि स्वदेशकै कलेजहरूमा गुणस्तरीय शिक्षाको खाँचो देखिन्छ । यसरी राम्रो शिक्षा र अवसरको खोजीमा करिब वार्षिक एक लाखको हाराहारीमा विद्यार्थीहरू विदेश जाने गरेका छन् । यो राज्य र हाम्रा लागि थप चुनौतीको विषय हो ।

हिसानले उठाउनु पर्ने मुद्दाहरू :
१. अहिलेको हाम्रो सामु ठूलो समस्या भनेकै कक्षा १२ सम्म विद्यार्थीहरू नेपालमै पढ्ने तर उच्च शिक्षाका लागि विदेश पलायन हुने देखिएको छ । कक्षा १२ सम्म सरकारले निशुल्क र अनिवार्य शिक्षा प्रदान गर्ने र त्यसपछि राज्यले उच्च शिक्षामा गर्नुपर्ने पर्याप्त लगानी हुन नसकेको परिप्रेक्षमा विदेशी विश्वविद्यालयहरू र कलेजहरूले विद्यार्थी लिएर जाने संख्या बढ्दै गएको छ र यसलाई रोक्न नितान्त आवश्यक छ । नेपालको उच्च शिक्षा नै कन्सल्टेन्सीहरूले चलाएको जस्तो देखियो, यो दुःखद कुरा हो । यसर्थ पनि शिक्षा मन्त्रालय, विश्वविद्यालयहरू, विश्वविद्यालय अनुदान आयोग र अन्य सरोकारवालाहरूसँग छलफल गरेर विश्वविद्यालय शिक्षामा सुधार ल्याउनु र यसलाई परिवर्तन गर्नु नितान्त आवश्यक छ ।


२. त्यसैगरी विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेका विभिन्न कलेजहरू पनि नेपालभित्र सञ्चालनमा छन् । सँगसँगै भरतीय बोर्ड, ए लेभल, आईबी बोर्ड, अमेरिकन बोर्डका कार्यक्रमहरू लगायत विदेशी बोर्डबाट पनि विद्यालयहरू सञ्चालन भएका छन् । यिनीहरूको सवालमा विद्यालय शिक्षामा विदेशी बोर्डहरू सञ्चालन गर्दा कस्तो पाठ्यक्रम सञ्चालन भइहेको भनेर हामीले पुनर्मूल्याङ्कन गर्नु जरुरी छ ।


३. उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरूले लिएकोे सम्बन्धन कस्तो हो, केका आधारमा सम्बन्धन लिए, कस्ता विश्वविद्यालयबाट लिएका छन्, परीक्षा संचालन र मूल्याङ्कन, विद्यार्थी भर्ना संख्या आदि विषयहरूमा शिक्षा मन्त्रालयको धारणा आएको देखिँदैन । यस्ता मुद्दाका सवालमा हाम्रो धारणा के रहने भन्ने विषयमा योजना बनाउनु आवश्यक छ । अब ती कलेजहरूको पनि स्तर निर्धारण गरिनुपर्छ, अनुगमन हुनुपर्छ र हिसान सहितको सरोकारवालाहरुको उपस्थिति रहनु पर्दछ ।


४. साथै, विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजले जे गरे पनि हुने, जसरी पढाए पनि हुने तर नेपालकै विश्वविद्यालयहरूबाट सम्बन्धन लिएका कलेजहरूलाई कोटा निर्धारण गर्ने, सम्बन्धन नदिने र विभिन्न बाहनामा बाँध्ने,काम गर्न गाह्रो हुने वातावरण सिर्जना गर्ने जस्ता समस्याहरू छन् । यस्ता समस्याहरूप्रति हिसानले नेपाल सरकार, शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालयहरूसँग संवाद र बहस गर्नु जरुरी छ ।

अबको बाटो :
आगामी दिनमा नेपालका संस्थाहरूले अन्तराष्ट्रिय स्तरमा रहेका विद्यालय,विश्वविद्यालयका राम्रा कुराहरूलाई सिक्ने र अवलम्बन गरिनु पर्दछ । उनीहरूले प्रयोग गरेको पाठ्यक्रम, प्रविधिहरू, पढाउने तरिका, आवश्यक जनशक्ति र दक्ष जनशक्ति उत्पादनको प्रक्षेपण लगायतका विषयलाई लिन सकिन्छ । नेपालमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न, पठनपाठनमा नयाँ प्रविधिको प्रयोगमा जोड दिनु जरुरी छ । AI (Artificial Intelligence) जडित Hybrid (Physical and Virtual) मोडलमा पठनपाठन र अनुसन्धान गर्ने, स्टेम (STEM) आधारित कक्षा ६ देखि विश्वविद्यालयसम्मको पाठ्यक्रम निर्माण गर्ने, खोज (Inquiry) र अनुसन्धान (Research) मुलक शिक्षण विधिका साथै विद्यार्थी केन्द्रित (Student Centered) शिक्षालाई जोड दिनु पर्दछ । पालिका र प्रदेशस्तरको शिक्षण तथा पेसागत विकास (Professional Development) तालिमहरु संचालन गर्ने, सिकाईलाई एक्काइसौं शताब्दीका नयाँ सीपहरू (Skills) सँग जोड्नु जरुरी छ न कि परीक्षामा राम्रो अंक ल्याएर मात्र एकांगी विद्यार्थी उत्पादन गर्ने कारखाना ।


हिसानले विगत देखिनै यस्ता कुराहरूमा काम गर्दै आइरहेको छ । “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने हिसानको नारालाई राष्ट्रव्यापी बहस गर्न जरुरी छ । जसरी श्रीलंका, भारत, बंगलादेश, दुबई, सिङ्गापुर, मलेसिया आदि जस्ता देशहरूमा अस्ट्रेलियन, अमेरिकन, युकेका विश्वविद्यालयहरू खुलेका छन्, त्यसैगरी नेपालमा पनि विश्वस्तरीय विदेशी विश्वविद्यालयलाई शिक्षण तथा अनुसन्धानका लागि विदेशी लगानी (FDI) मार्फत लगानी भित्र्याउन सकिन्छ । यसले ती विश्वविद्यालयहरूसँग नेपाली विश्वविद्यालयहरुलाई प्रतिष्पर्धी बनाउन सक्छ भने विदेशी विद्यार्थीहरूलाई पनि नेपालमा पढाउन आकर्षित गर्न सकिन्छ । नेपाललाई ‘शैक्षिक हब’को रूपमा विकास गर्न सकिन्छ र नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य हुन सक्छ ।


अन्तमा, शिक्षामा राज्यले मात्र लगानी गरेर पुग्दैन । निजी क्षेत्रको लगानी र सहभागितामा मात्र हामीले नेपालमै गुणस्तरीय र विश्वस्तरको शिक्षा प्रदान गर्न सक्छौं । मुलुकलाई चाहिने जनशक्ति हामीले मात्र परिपूर्ति गर्न सक्छौं । नेपालमै रोजगारीको अवस्था सिर्जना गरी वार्षिक रुपमा विदेशिने लाखौं युवा विद्यार्थीहरुलाई नेपालमै अवसर दिन सक्यौँ भने मात्र नेपालको शिक्षामा निजी क्षेत्रले केही योगदान पु¥याएको ठहरिन्छ ।


शर्मा हिसानका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ हिमालयन ह्वाइटहाउस स्कूल एवं कलेजका प्राचार्यका साथै ह्वाइटहाउस एजुकेशन फाउण्डेसनका अध्यक्ष हुनुहुन्छ ।