बेलायतमा नेपाली विद्यार्थी अलपत्र, असाईलम दिन बाध्य

काठमाडौं /२८ माघ-सोमबार गृह मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा भनिएको थियो “इजाजतपत्र नलिई अनधिकृत रुपमा सञ्चालन भएका शैक्षिक परामर्शदातृ संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु र अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिका रुपमा कार्य गर्ने व्याक्तिहरु उपर सरकारले निगरानी गरिरहेको छ ।”


साथै गृह मन्त्रालयले विदेश अध्ययनमा जाने विद्यार्थीहरुलाई सम्बन्धित देश र उक्त देशका शैक्षिक प्रकृया पुरा गरेर मात्र अध्ययनका लागि जान आग्रह गरेको छ । विदेश जाँदा सम्बिन्धित देश, शैक्षिक संस्थाहरुले निर्धारण गरेको प्रक्रिया पूरा नगरी जाने, उक्त देशमा गई अलपत्र पर्ने तथा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने घट्ना, समाचार र गुनासाहरु प्राप्त भएको जानकारी दिँदै प्रकृया पुरा गरेर मात्र अध्ययनका लागि जान विज्ञप्तिमा भनिएको छ ।


मन्त्रालय विज्ञप्ति जारी गर्दे गैरकानुनी रुपमा काम गरेको संस्थाहरु, व्याक्तिहरु उपर सम्बन्धित व्याक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यलय वा नजिकको प्रहरी कार्यलय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकारी दिन आग्रह गरेको छ । नेपाल सरकारलाई जानकारी नगराई गतिविधि सञ्चालन गरेको पाइएमा संलग्न संस्था, समूह र व्याक्ति प्रचलित कानूनबमोजिम कारबाही गरीने समेत चतावनी मन्त्रालयको छ ।


गृह मन्त्रालयले बेलायत गएका विद्यार्थीहरु अलपत्र पर्ने गरेको, बेलायत पुगेर विश्वविद्यालयमा भर्ना नभई असाईलम दिएर बसेको, ईमिग्रेशनबाटै फिर्ता भएको लगायत विभिन्न देशमा गएका विद्यार्थी र अभिभावकहरुको गुनासो आउन थलेपछि प्रकृया पुरा गरेर मात्र अध्ययनका लागि जान आग्रह गरेको जनाएको छ ।


बेलायमा विद्यार्थी अलपत्र परेको र बेलायत पुगेर कलेज भर्ना नभई असाईलम दिएर बस्नेको संख्या करीब दुइ सय जति रहेको बेलायतबाट राज सिटौलाले खबर एजुकेसनलाई जानकारी दिएपछि हामिले विद्यार्थीको अवस्था खोज्न थाल्यौं । यसै विषयलाई लिएर सरोकारवालाको ध्यानाकर्षण होस भनि माघ २३ गते आइतबार साँझ ७ बजे खबर एजुकेसन बहस चालायौं । बहसको विषय थियो बेलायमा विद्यार्थीको अबस्थाबारे , शैक्षिक परामर्श व्यावस्थापन र अभिभावक महासंघको दायित्व र भूमिका । यी विषयका लागि बहसमा आएका थिए शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका उपसचिव इश्वरीप्रसाद ज्ञावली, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी र बेलायबाट जनसम्पर्क समिति युकेका उपाध्यक्ष राज सिटौला ।


बेलायमा नेपाली विद्यार्थीको दर्दनाक अवस्था, असाईलम किन दिनपुगे र नेपाली विद्यार्थीहरुलाई ईमिगे्रशनबाटै फर्काइनुको कारण बारे राज सिटौलाले सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराए । उनले बेलायतमा जुन अवस्था आएको छ त्यसको नेपालमा रहेर परामर्श दिने कन्सल्टेन्सी दोषी रहेको प्रष्ट पारे । सहि परामर्श नदिने जसरि हुन्छ विद्यार्थीलाई बेलायत पठाउने, बनाएका डकुमेन्ट पनि फेक बनाइदिने, बेलायतले निर्धारण गरेका नियम पुरा नगर्ने, अंग्रेजी भाषामा दक्षता नभएका लाई पनि नो आईईएलटिएस भन्दै विज्ञापन गरेर पठाउने गरेकाले विद्यार्थीहरुको भविष्य विग्रिएको र विद्यार्थीहरुलाई गाह्रो भएको उनले बताए ।


त्यसरी बेलायत पुगेका विद्यार्थीहरुले नेपालमा राजा नभएको र विप्लप समुहले बस्न नदिएको कारण देखाउदै असाईलम दिने गरेको बताए । उनि आफैले पनि त्यसरी अलपत्र परेर म्यानचेस्टरको बोल्टनमा आएका लगभग सबै विद्यार्थीहरुलाई काम खोजिदिनेदेखि आवश्यक परेको सहयोग गरिरहेको जानकारी दिए । उनको आफ्नै कम्पनिमा पनि असाईलम दिएर बसेका चार जना विद्यार्थीले अहिले पनि काम गरिरहेको जनाए ।


बेलायत अध्ययनमा पठाउने केही कन्सल्टेन्सीले विद्यार्थीलाई कलेज र विश्वविद्यालयको बारेमा पुरै जानकारी नदिएका कारण ईमिग्रेशनमा विद्यार्थीहरुसँग सोधपुछ गर्दा अंग्रेजिमा राम्रोसँग जवाफ दिन नसक्ने, विश्वविद्यालयको पुरै नाम पनि भन्न नसक्ने, कलेज विश्वविद्यालय र पढ्ने विषयको राम्रो जानकारी नभएको, काहाँ बस्ने ठेगान नभएकोे को लिन आउने थाहा नभएको र आर्थिक अवस्था राम्रो नभएको देखिए पछि ईमिग्रेशनबाटै विद्यार्थीलाई नेपाल फर्काइएको जानकारी गराए ।
बेलायतमा आउने विद्यार्थीहरुमा अंग्रेजी भाषा राम्रो चाहिने भएकाले भाषा परीक्षा नगराई नो आईईएलटीएसमा पठाउने गरेकाले विद्यार्थी बेलायत आएर अलपत्र पर्ने मुख्य कारण भएको बताए । “नो आईईएलटीएस भन्नाले अंग्रेजी भाषा अनिवार्य छैन भनिएको हैन”उनले भने ।


असाईलम गर्ने सबै विद्यार्थीहरुलाई सुरुमा केही समयको लागि बस्न दिए पनि विद्यार्थीले दिएको विवरण झुट ठहरीएको खण्डमा नेपाल फार्काइने वा उनीहरुसँगको दोस्रो अन्तर्वाता भएपछि अनिवार्य जस्तै आफ्नै देश फर्कनुपर्ने बताए ।


पछिल्लो समय केहि महिना यता पनि २७ जना भन्दा बढी विद्यार्थीहरु ईमिग्रेशनबाटै नेपाल फकाईएको सिटौलाले जानकारी दिए ।


अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विदेश अध्ययनमा गएका विद्यार्थी अलपत्र परेर असाईलम दिन बाध्य हुनु राम्रो नभएको बताए । उनले यसको पछाडी जे सुकै कारण भएपनि यस्ता सवालमा राज्यले तत्काल ध्यन दिन आवश्यक रहेको भन्दै विदेशमा अलपत्र परेका विद्यार्थीहरुलाई उद्धार गर्नुपर्ने बताए ।


उनले २००९ मा पनि यस्तै समस्या आएको स्मरण गर्दे विदेश अध्ययनमा जाँदा कलेज वा विश्वविद्यालयका बारेमा राम्रोसँग नबुझि गएकाले यस्ता समस्या आउने हुँदा अभिभावकपनि चनाखो हुनुपर्ने र राम्रोसँग बुझेर मात्र विदेश अध्ययनमा जानुपर्ने बताए ।


सरकारले एनओसी दिएर मात्रै उम्किन नमिल्ने भन्दै निति बनाएर शैक्षिक परामर्श संस्थाहरुलाई नियमन गर्नुपर्ने बताए । सबै शैक्षिक परामर्श संस्थाहरु खराब नभएपनि सरकारको राम्रो निति नभएको र नियमन गर्ने कार्य नगरेकाले केही शैक्षिक परामर्श संस्थाहरुले नक्कली कागजपत्र तयार गरेर विद्यार्थीलाई विदेश अध्ययनमा पठाउँदै ठग्नुको साथै अलपत्र पारेको बताए ।


सरकारले दर्ता भएका शैक्षिक परामर्श संस्थाहरुलाई नविकरण पनि नगर्ने र दर्ताका लागि आवेदन दिएकालई पनि सञ्चालन गर्न दिएकाले यो क्षेत्रमा समस्या आएको देखिएकोले यसलाई नियमन नगरी सरकाले टुलुटुलु हेरेर बसेको बताए । यसका लागि अभिभावक प्रतिनिधि सहित सरोकारवालाहरुको उच्च स्तरीय छनविन समिति बनाएर विदेशमा अलपत्र परेका विद्यार्थीको खोजिनिति गरी उद्धार गर्न सरकारलाई आग्रह गरे ।


शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका उपसचिव इश्वरीप्रसाद ज्ञावलीले विद्यार्थीहरु कुन धरातलबाट विदेश अध्ययनमा जान बल गरीरहेका छन् भन्ने कुरा हाम्रो मुल समस्या भएको बताए । नेपालमा रोजगारको अवसरहरु नहुँने र आफ्नो भविष्य आफ्नै देशमा नदेखेपछि विद्यार्थीहरु विभिन्न वहानामा जसरी भएपनि विदेश अध्ययनमा जाने गरेको माहोल देखिएको छ ।
उनले भने “नेपालमै राम्रा शिक्षण संस्थाहरु हुँदाहुँदै पनि विदेश नै जानुपर्ने भित्रि कारण अर्के छ । अभिभावकले पनि पढ्नकै लागि भन्दा पनि कमाउने हिसाबले छोराछोरीलाई पठाउने गरेका छन् । विद्यार्थी पनि पढाईसँगै आयआर्जन गर्ने सोचमा गएको देखिन्छ । यसरी जानको लागि बाहाना चाहिएको छ र जसरी पनि भिषा लाग्नुपर्ने भएकोले के गर्दा भिषा लाग्छ भन्ने मात्रै हेरेको देखिन्छ ।”


खबर एजुकेसनको बहस पछि अभिभावक महासंघ , गृह मन्त्रालय र शिक्षा मन्त्रालयको ध्यानाकर्षण :-


बेलायतको विद्यार्थीको अवस्था बारे माघ २३ गते आइतबार साँझ ७ बजे खबर एजुकेसन बहस सञ्चालन पछि अभिभावक महासंघ र गृह मन्त्रालय र शिक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । माघ २३ गते आइतबार साँझको बहस पछि सोमबार गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले चासो राखे । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यार्थीको अवस्थाका बारेमा र अलपत्र पारीदीने शैक्षिक परामर्श संस्थाहरुलाई कारवाही गर्नुपर्ने माग गरे पछि यस बारे विस्तृत बुझन खबर एजुकेसनलाई अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीलाई गृह मन्त्रालयमा बोलाइयो ।


गृह मन्त्रालयमा केही समय मन्त्रालयका सचिव, अभिभावक महासंघका अध्यक्ष, खबर एजुकेसनको टिम र एक जना शैक्षिक परामर्श व्यावसायी सहितको बेलायतमा विद्यार्थीको अवस्था,विदेशी विश्वविद्यालयका नेपाल स्थित प्रतिनिधि र शैक्षिक परामर्श क्षेत्रलाई व्यावस्थापन बारे छलफल भयो ।


अन्तत गृह मन्त्रालयले बेलायतमा अलपत्र परेका नेपाली विद्यार्थीको चासो राख्दै इजाजतपत्र नलिई अनधिकृत रुपमा सञ्चालन भएका शैक्षिक परामर्शदातृ संस्थाहरु, अनधिकृत रुपमा इजाजत नलिई अनलाइन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु र अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिका रुपमा कार्य गर्ने व्याक्तिहरु उपर सरकारले निगरानी गरिरहेको भन्दै विज्ञप्ति जारी गर्यो । साथै गृह मन्त्रालयले विदेश अध्ययनमा जाने विद्यार्थीहरुलाई सम्बन्धित देश र उक्त देशका शैक्षिक प्रकृया पुरा गरेर मात्र अध्ययनका लागि जान आग्रह गरेको छ ।


योसँगै शिक्षा मन्त्रालयले विद्यार्थीलाई विदेश अध्ययनमा लगेर अलपत्र पार्ने, झूट विवरण पेस गर्ने, नक्कलि कागजपत्र बनाउने र लगायतका कार्य गर्ने शैक्षिक परामर्श संस्थाहरुलाई कारवाहीको दायरामा ल्याउनका लागि प्रक्रिया अगाडी बढाएको बताएको छ ।


अभिभावक महासंघको सक्रियता :-
खबर एजुकेसन बहस पछि बेलायतको बारे जानकारी भएको बताउँदै अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी विद्यार्थीलाई उद्धारको आवश्यकता रहेको भन्दै विभिन्न निकायलाई ध्यानाकर्षण गराएका छन् । उनले गृह मन्त्रालय, शिक्षा मन्त्रालयका सचिव, उप सचिव, प्रधानमन्त्री कार्यालय, अध्यागमन विभाग, प्रराष्ट्र मन्त्रालय लगायत सबैलाई विद्यार्थी अलपत्र परेको बारे गम्भिर हुन ध्यानाकर्षण गराएका छन् ।


भण्डारी समस्यामा परेका विद्यार्थीको उद्धार गर्न निरन्तर खटिरहेका छन् । यसरी विद्यार्थीलाई सहि जानकारी नदिने, गलत कार्यमा लाग्ने, अभिभावक विद्यार्थीलाई ठग्ने शैक्षिक परामर्श संस्थाहरुलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।


(बेलायतमा नेपाली विद्यार्थीको अवस्था बारे खबर एजुकेशनले निरन्तर फलोअप गरिरहेको छ । सरकारले गल्ती गर्ने शैक्षिक परामर्श संस्थालाई कारवाहीको दायरामा नल्याएसम्म हाम्रो फलोअप निरन्तर रहनेछ । योसँगै विभिन्न विज्ञ र सरोकारवालासँग खबर एजुकेसन बहस निरन्तर जारी रहने छ ।)