सरकारले धरौटी राख्ने प्रक्रियालाई अगाडी बढाएको भन्दै नेकाको विरोध

काठमाडौं /२६ माघ-राष्ट्रिय शैक्षिक परामर्श संघ (नेकाले) शैक्षिक परामर्श तथा भाषा शिक्षण (सञ्चालन र नियमन) नियमावली २०७८ मा शिक्षा मन्त्रालयले धरौटी राख्ने प्रक्रियालाई अगाडी बढाएको भन्दै विरोध जनाएको छ । एक करोड सम्म धरौटी राख्नुपर्ने जस्ता कुरा तथा युके को अध्यागमन बाट केही नेपाली विद्यार्थी फर्कीनु परेको अवस्थाबारे बारे ध्यानाकर्षण भएको भन्दै धरौटीको सवालमा विरोध जनाएको हो ।


आज ध्यानाकर्षण पत्र जारी गर्दे शैक्षिक परामर्श क्षेत्रमा ठूला देखि साना व्यवसायीहरु समेतको आवद्धता रहेको जानकारी गराउँदै धरौटीको माध्यमबाट यस पेशामा देखिने विकृतिलाई हटाउने प्रयास गर्दा यसमा अवद्ध मर्यादित रुपमा कार्य गर्ने र उनिहरु संँग जोडिएका कयौंको रोजिरोटी पनि गुम्नसक्ने खतरालाई राज्यले ध्यान पुर्याउनुपर्ने जनाएको छ ।


व्यवसायमा देखिएको समस्या समाधान गर्न धरौटीलाईनै समाधानको उपाय बनाउनु भन्दापनि सम्वन्धित निकायले नियमनकारी भूमिकालाई जोड दिई यसमा आवद्ध व्यवसायी आफ्नो पेशाको मर्यादामा रहि कसरी काम गर्न सक्छन् भन्ने नियम प्रति लक्षित रहि गलत गर्नेको लागि हदै सम्मको सजायँ को व्यवस्था समेत राख्ने प्रबन्धन सहित अघि बढि दिनुहुन सम्बन्धित निकायलाई नेकाले आग्रह गरेको छ ।


साथै विभिन्न देशका कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयहरुमा विद्यार्थीहरूको आवेदन तथा कागजात सहजीकरणमा सहयोग एवं समन्वय गरिदिने, पूर्व तयारीका कक्षाहरू संचालन गर्ने, अभिमुखीकरण जस्ता क्रियाकलाप कलेज वा विश्वविद्यालयको प्रतिनिधिको रुपमा सामान्य कार्य गर्ने भएकाले शैक्षिक परामर्श संस्थाले सरकारलाई धरौटी रकम बुझाउनु पर्ने कुरा कतै तर्कसंगत नभएको पत्रमा उल्लेख गरेको छ ।


विश्वको कुनै पनि देशमा यस्तो अभ्यास नभएको र नेपाल मै प्राविधिक परामर्श, कानुनी परामर्श तथा अन्यखाले परामर्शमा नभएको जानकारी गराउँदै कोभिडले थला परेर उठ्दै गरेको व्यवसाय ऊपर निकै चिन्ताजनक वातावरण सिर्जना गरेको हुँदा नियमावलीमा धरौटीलाई समावेश नगर्न नेकाले आग्रह गरेको छ ।


बन्दै गरेको नियमावली निर्माणको नयाँ प्रक्रियामा अहिलेसम्म व्यवसायी संघको प्रतिनिधिको रूपमा नेकाको कुनैपनि प्रतिनिधि हालसम्म सामेल नरहेको जानकारी दिँदै धरौटीलाई नियमावलीमा समेट्न खोजिएको प्रति नेकाको विरोध रहेको संघका अध्यक्ष सन्तोष प्याकुरेलले बताएका छन् ।