नवलपरासी/२६ माघ-शिक्षा मन्त्री देवेन्द्र पौडेल पनि पुरानै शिक्षा मन्त्रीको लयमा पदमा बिराजमान भएर आफ्नो समय गुजार्दै छन् । शिक्षा क्षेत्रका नियमित कामहरु जस्तो किः तलब बाड्यौं, आयोगका पदाधिकारी नियुक्ती गर्यौं, किताब छाप्यौं, बिज्ञापन गर्यौ लगायतका सैद्धान्तिक कामलाई उपलब्धी देखाएर तलब पचाउने र सुविधा उपभोग गर्ने काम बाहेक अब कुनै माखो मारेका छैनन् ।
शिक्षा ऐनको रटान दिएका मन्त्री पौडेलले स्थानीय चुनावको मिति घोषणा भए संगै शिक्षकलाई आगामी आर्थिक वर्ष देखी सेवा सुबिधा दिने भनेर बेवकुफ बनाउँदै छन् । यस्तो ललिपप अब उनैलाई घात गर्ने भन्दा कुनै उपलब्धि मुलक छैन । तिसौं बर्ष शिक्षक बढुवा भएका छैनन् । साविक उच्च माविका शिक्षकको समस्या ज्युँका त्युँ छ । राहत , अस्थायी , करार, बालबिकासका शिक्षकहरुको समस्या ज्युँका त्यूँ छ । संबिधान बनेको ६ बर्ष नाघ्यो, शिक्षा ऐन नियमको अत्तो पत्तो छैन । तर शिक्षा मन्त्री अब स्थानीय चुनाव सँग शिक्षकका समस्याको सौदा गर्दै छन् । हामिलाई देखिने काम बिनाको कुनै ललिपप स्वीकार्य छैन ।
कांग्रेस, एमाले, माओवादी बनेर होइन, हामी पेशागत मुद्धामा कुनै स्वार्थी दलको फन्दामा नपरी निर्णायक आन्दोलन गर्ने तयारीमा रहनु अनिवार्य छ । कहिले एमाले, कहिले कांग्रेस र कहिले माओवादी पटकपटक सत्ताको स्वादमा रमाए । शिक्षा मन्त्रीहरु फेरिए तर नियत फेरिएन । राज्यको शिक्षालाई हेर्ने दृष्टिकोण नै गलत सावित भएको छ । हाल शिक्षा मन्त्रीले आगामी बर्षको बजेट बाट शिक्षकका सेवा सुबिधा कार्यान्वयन गर्ने भनेर सामान्य नागरिकले समेत बुझ्ने गरि झुक्याउन दिएको अभिब्यक्ती खारेज गर्दछौं ।
शिक्षकका पेशागत मागहरु तुरुन्तै, आजै मन्त्री परिषद्को निर्णयले गर्न के ले छेक्यो ? शिक्षक बढुवाको निर्णय मन्त्री परिषद्ले गरे बमोजिम हुन्छ । निजामती सेवाका कर्मचारीको बढुवा सरकारले गर्दछ । शिक्षकको बढुवा किन गर्दैन ? अब पनि शिक्षक दलका हली बनेर बिश्वास गर्दै दलको चाकरी गर्ने र नेताका झुट कुरा पत्याउदै हिड्ने हो भने हामिलाई दलका झुण्डहरुले अझै हेप्ने छन् । राजनिती दलको हली बनेकै कारण शिक्षक हेपिएका छन् । शिक्षा मन्त्रीको बकम्फुसे ललिपपको पछि होइन तुरुन्तै निर्णय गर्न मिल्ने कामहरू गरेर शिक्षकहरुका माग सम्बोधन गरून् । तुरुन्तै संघीय शिक्षा ऐनको मस्यौदा छलफलका लागि सार्वजनिक गरून् । अन्यथा यी शिक्षा क्षेत्रका बैरीहरुको जति निन्दा गरे पनि कम नै हुनेछ ।

आदरणीय शिक्षक साथीहरु ! हामी कसैको ललिपपको लोभमा नपरी हाम्रा पेशागत मुद्धामा एकजुट भइ आन्दोलन गर्नुको बिकल्प छैन । हिजो केपि ओली प्रधानमन्त्री हँंदा एमाले संगठन चुप लाग्यो, माओवादी शिक्षा मन्त्री हुदा माओवादी शिक्षक संगठन चुप लाग्यो, शेरबहादुर प्रधानमन्त्री भएको र माओवादी शिक्षा मन्त्री भएको वर्तमान समयमा कांग्रेस र माओवादिका संघ संगठन कुन दुलोमा लुकेर बसेका छन् ?
त्यसैले कुनै संघ संगठनको सदस्यता नविकरण गर्नु वा सदस्यता लिनु भन्दा अगाडि के का लागि भनेर प्रश्न गरौँ र पेशागत बनौं । दलको आस्थालाई निर्वाचनमा विवेकी बनेर प्रयोग गरौं । शिक्षा मन्त्री ज्यु, शिक्षकका माग सम्बोधन हुने गरि तुरुन्तै संघीय शिक्षा ऐन जारी गर्नेहोस् । ललिपप शिक्षकलाई स्वीकार्य छैन ।
– कुसुम न्यौपाने
(संयोजक) स्थायी शिक्षक हकहित मञ्च नवलपरासी ,(पुर्व)



