एसईई परीक्षा : तीन विकल्प बारे छलफल

काठमाडौं /८ माघ-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई बैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ । चेत्रसम्म पठनपाठन सञ्चालन गरेर बैशाखमा परीक्षा लिने तयारीमा रहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।


उनले वैकल्पिक माध्यमबाट भएपनि चैत्रसम्म पठनपाठन निरन्तर हुने बताउँदै बैशाखमा परीक्षा लिने तयारी भएको जानकारी दिए । उनले भने “कोभिड-१९ संक्रमणका कारण सिसिएमसीसी र सरकारले कुनै निर्णय गरेको अवस्थामा पनि सहकार्य गरेर विभिन्न विकल्पमा भएपनि समयमा नै परीक्षा सञ्चालन गर्ने तयारी गरेका छौं ।”


विद्यार्थीहरुको भविष्यलाई असर नपर्ने गरी विभिन्न विकल्पमा भएपनि समयमा नै परीक्षा सञ्चालन गर्नुपर्ने भएकोले यसमा सबैले सहयोग गर्ने अपेक्षा गरेको बताए । कक्षा ११ मा नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन हुनु भन्दा अगाडी नै नतिजा प्रकाशित गर्ने गरी परीक्षा लिने तयारी भईरहेको खबर एजुकेसनलाई जानकारी दिए ।


त्यसैगरी परीक्षा लिने विषयमा बोर्ड भित्र विभिन्न धेरै विकल्पको बारेमा छलफल भइरहेको बताए । तर कुन विकल्पमा परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय अहिलेसम्म नभएको उनले जानकरी दिए । उनले भने “त्यति बेलाको अवस्था कस्तो रहन्छ त्यो हेरेर मात्र निर्णय लिन्छौ, अहिले नै याही विकल्प हुन्छ भन्ने छैन ।”


परिस्थिति केही सहज भएको अवस्थामा परीक्षा केन्द्र निर्धारण गरेर विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिने पहिलो प्राथमिकता बोर्डको रहेको छ । दोस्रो विकल्पमा स्थानीय तहले केन्द्र निर्धारण गर्ने भएको हुँदा विद्यार्थीहरुको दुरी कायम गरी नजिक नजिकका विद्यालयहरुमा एक अर्कामा केन्द्र निर्धारण गरी विद्यार्थीको उपस्थितिमा परीक्षा सञ्चालन गर्न सकिने र उत्तरपुस्तिका पनि त्यसैगरी परीक्षण गर्न सकिने बताए । यदि दुबै विकल्पमा परीक्षा सञ्चालन गर्न नसक्ने अवस्था भए अन्तिम विकल्पका रुपमा विद्यालयनै केन्द्र हुन सक्ने जनाए । “तर अघिल्लो वर्षको भन्दा केही परीवर्तन अवश्य हुन्छ” उनले भने ।


विद्यालयले मुल्याङकन गरेर पठाउँदा विगतमा कही कतै तलमाथी भएको देखिएकाले शिक्षकलाई जिम्मेवार बनाउन आवश्यक रहेको उनको भनाइ छ । विगतमा विद्यार्थीको मुल्याङकनमा शिक्षक केही गैर जिम्मेवार भएको देखिएकाले यो वर्ष त्यस्ता खालका गल्ती नदोहोरीने बोर्डको अपेक्षा रहेको बताए ।


शिक्षा ऐनमा भएको व्यावस्था भन्दा बाहीर जान नमिल्ने भएकोले परीक्षाको सबै तयारी प्रदेश सरकारले गरे पनि उत्तरपुस्तिका परीक्षण गर्ने, प्रमाणिकरण गर्ने र नतिजा प्रकाशित गर्ने काम राष्ट्रिय परीक्षा बोर्डबाटै हुनेछ ।