काठमाडौं /२९ पुस-मुलुक संघीयतामा परिणत भैसकेको पनि लामो समय भएको छ । तर शिक्षामा कुनै उल्लेख्य परिवर्तन भएको देखिदैन । जबसम्म राजनिति गर्ने व्याक्तिको दृष्टिकोणमा वा कुनै पनि दलको एजेण्डा शिक्षा बन्दैन तवसम्म शिक्षामा उल्लेख्य परीवर्तनको अपेक्षा गर्नु व्यार्थ जस्तै देखिएको छ ।
मुलुकलाई समृद्धि बनाउन योग्य जनशत्तिको खाँचो हुन्छ । योग्य जनशक्ति निर्माणका लागि विद्यालय तहबाटै सुरुवात गर्नुपर्ने अनिवार्य छ । यसका लागि सरकारले शिक्षामा लगानि बढाउनुपर्ने हुन्छ ।
यति मात्रै होइन शिक्षामा परिवर्तनको कुरा त परै जावस राज्यले शिक्षकलाई समेत व्यावस्थापन गर्न सकेको देखिदैन । शिक्षा प्रतिको राज्यको यो उदासिनताले विश्वस्तरमा प्रतिस्पर्धा गर्ने गुणस्तरीय शिक्षा दिन सक्छौ त ? कक्षा कोठामा भेटिनुपर्ने शिक्षक आफ्ना पेशागत हकहितका लागि राज्य विरुद्ध सडकमा भेटिनु ठुलो बिडम्बना हो । तसर्थ राज्यले शिक्षण पेशालाई सम्मानित पेशाका रुपमा स्थापित गर्नुपर्ने देखिन्छ ।
विद्यालय तहमा विभिन्न थरीका शिक्षक छन् । सबै शिक्षकहरुका आआफ्ना पेशागत समस्या रहेको र करीब सबै शिक्षकले आन्दोलन गरिरहेको अवस्था छ । अहिले नेपाल शिक्षक महासंघ ३४ बुँदे माग सहित सरकारसँग वार्ताको टेवलमा बसिरहेको छ । राहत शिक्षकहरु शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा उमेर हदबन्दी हटाउनु पर्ने माग गर्दे आन्दोलनको चेतावनि दिइरहेका छन् । सरकारले ईसिडी शिक्षकहरुलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेपनि केही स्थानीय तहले नदिएपछि आन्दोलनमा छन् । त्यस्तै मावि तह (११–१२)मा अहिले सम्म स्थायी दरबन्दी शुन्य रहेको छ भने शिक्षक व्यावस्थापनमा राज्यलाई कुनै चासो नै छैन् ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रको प्रतिवेदन २०७७ अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आधारभूत तह ( १–५) मा स्थायी शिक्षक ७५,४१२, अस्थायी ४,७६४ र राहत २१,८७१ त्यस्तै आधारभुत तह ( ६–८) मा स्थायी १६,६४५, अस्थायी १,५७९ र राहत ९,६०९ र मावि तह ( ९–१०)मा स्थायी १२,३०७, अस्थायी २,४२७ र राहत ६,७५८ त्यस्तै मावि तह (११–१२)मा स्थायी दरबन्दी शुन्य रहेको छ । अस्थायी २ हजार र अनुदान तर्फ साधारण र प्राविधिक धार गरि ४,८०४ संख्यामा नेपाल सरकारबाट तलब भत्ता उपलब्ध गराइएका शिक्षकहरु रहेका छन् ।
विशेष गरेर विगतको ३ दशक देखि यताको अवस्थालाई हेर्ने हो भने मुलुकमा कक्षा ११/१२ को अध्ययन अध्यापन कार्य भैरहँदा हाल सम्म राज्यले उक्त तहमा अध्यापन गराउने एकजना पनि स्थायी शिक्षक नियुक्ति गराउन नसक्नु २०४६ साल पछि सत्ताको बागडोर सम्हालेका राजनैतिक दल र प्रधानमन्त्री र शिक्षामन्त्री बनेका सबैको कमजोरी देखिन्छ ।
माध्यमिक विद्यालय व्यवस्थापनको दायित्व लिएको र शैक्षिक गुणस्तरका सवालमा विश्वविद्यालय भन्दा उच्च स्तरको नतिजा साविक उच्च माध्यामिक विद्यालयले दिइरहेको अवस्थामा कक्षा ११/१२ को शिक्षक व्यवस्थापनमा सरकारले तुरुन्त ध्यान दिन पर्ने आवश्यकता छ ।
२०४६ सालको तत्कालिन उच्च माध्यमिक शिक्षा ऐनमा शिक्षक व्यवस्थापन बारे कुनै विषय उल्लेख भएन । त्यसपछि २०५७ सालबाट साविक उमावि तहमा प्रति सामुदायिक विद्यालय एक शिक्षक बराबरको रकम दिन सुरु गरिएकोमा २०५८ सालबाट स्नातकोत्तर शैक्षिक उपाधी हासिल गरेका २ जना शिक्षक (मावि द्वितीय श्रेणी) उपप्राध्यापक वा सो सरह बराबर रकम दिदै आएको छ ।
२०६६/०६७ सालको वजेट्बाट अनुदान कोटा ४ हजार पुर्याइयो । आर्थिक वर्ष २०७१/०७२ को वजेट भाषणबाट थप दुई हजार अस्थायी दरबन्दी सिर्जना गरियो । २०७२ माघ २९ गते तत्कालीन मन्त्री स्तरिय निर्णयबाट सामुदायिक उच्च माध्यमिक शिक्षक निर्देशिका जारी भयो र त्यसैको आधारमा विद्यालयले नै शिक्षक नियुक्ति र व्यवस्थापन गर्दै आइरहेको छ ।
अझैपनि यो तहको व्यवस्थापनका लागि आवश्यक ७ हजार ८ सय ५ थप दरबन्दी सिर्जना गरिनु पर्ने उच्च स्तरिय दरबन्दी मिलान आयोगले सिफारिस गरेको छ । तर यति लामो समय वितिसक्दा पनि हालसम्म नेपाल सरकार मातहत एक जना पनि स्थायी शिक्षक व्यवस्थापन नहुनु भनेको शिक्षा प्रति राज्यको वेवास्ता रहेको देखिन्छ ।
हिस्टुनका केन्द्रिय उपमहासचिव अनन्तराज पन्त भन्छन् “ बिगतमा खुल्ने गरेका शिक्षा आयोगहरुमा हामी साविक उमावि तहमा कार्यरत शिक्षकहरुले प्रतिस्पर्धा गर्दा उमेरको हद र अनुभव वापत अन्य तहका अस्थायी तथा राहत शिक्षकहरुले अनुभव वापत पाउने गरेका सुविधाबाट बञ्चित भयौ । राज्य पक्षबाट कक्षा ११/१२ मा अध्यापनरत शिक्षकहरुलाई सौतेनी व्यवहार भै रहेको छ ।
उनले अन्य तहका शिक्षक सरह सेवा सुबिधा प्राप्तिका लागी बारम्बार विभिन्न किसिमका आन्दोलन तथा विभिन्न राजनैतिक दलका विभिन्न तहका नेतृत्व तथा शिक्षक महासंघका विभिन्न घटकका पदाधिकारीहरु तथा शिक्षक महासङ्घका पदाधिकारीहरुसँग औपचारिक तथा अनौपचारिक भेटमा साविक उमावि तहको चुनौती र समाधानका विषयमा कुरा राख्दा हुदैन कसैले नभनेको तर कसैले पनि यसबारे नबोलेको गुनासो व्याक्त गरे ।
नेपाल संघीय गणतन्त्रात्मक मुलुक घोषणा भएको दशक बित्दा पनि पन्चायत्कालिन शिक्षा ऐन २०२८ को आठौं संसोधनबाट कक्षा ११/१२ लाई मावि तहमा गाभेता पनि त्यस तहमा नियुक्ति भै अध्यापनरत शिक्षकहरुको स्थायित्व सम्बन्धमा कुनै चासो दिएको छैन । साविक उमावि तहका अनुदान कोटाका शिक्षकहरुलाइ दरबन्दीमा लैजादा राज्यलाई बार्षिक रुपमा करीब १२ करोड मात्र आर्थिक भार हुने देखिन्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले २ हजार शिक्षकको दरबन्दी रहेको र ४ हजार राहत शिक्षक रहेको बताए । उनले कक्षा ११/१२ लाई दरबन्दी अपुग रहेको बताउदै क्रमश थप्दै लैजाने प्रक्रियामा मन्त्रालय रहेको जानकारी दिए । उनले भने “ माध्यामिक शिक्षक पदका लागि एक पटक मात्र उमेर हद नलाग्ने गरी शिक्षकलाई विज्ञापनमा भाग लिन दिने ऐनमा व्यावस्था गरीएको छ ।”
यता हिस्टुनले ४ हजार अनुदान कोटालाइ दरबन्दीमा परिणत गरि हुन आउने कुल ६ हजार दरबन्दीमा भएका शिक्षकहरुका लागि कम्तिमा १ पटक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनु पर्ने माग राख्दै आएको छ । साथै अपुग शिक्षकको प्रतियोगिताबाट स्थायित्व सुनिश्चित गरिनुपर्ने माग रहेको छ । त्यसैगरी अस्थायी शिक्षण लाइसेन्स लिएका साविक उमाविका शिक्षकहरुलाइ स्थायी लाइसेन्सको व्यवस्थापन गर्न माग गरेको छ ।
शिक्षा ऐन (आठौं संशोधन) २०७३ को दफा ३९ अनुसार उच्च माध्यमिक शिक्षा ऐन २०४६ बमोजिमको उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई आयोगको दफा प्रारम्भ भएको मितिले छ महिनाभित्र अस्थायी अध्यापन अनमतिपत्र दिने र अस्थायी अध्यापन अनमतिपत्र पाएका शिक्षकले पाँच वर्षभित्र आयोगबाट स्थायी अध्यापन अनुमतिपत्र लिनु पर्ने व्यावस्था गरको छ ।
त्यसैगरी उच्च माध्यमिक शिक्षा ऐन, २०४६ बमोजिमको उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकलाई प्रचललि नेपाल कानूनमा जनुसकुै कुरा लेखिएको भएता पनि माध्यमिक शिक्षक पदको लागि आयोगबाट हुने तोकिए बमोजिमको पहिलो विज्ञापनमा उम्मेदवार हुन उमेरको हद नलाग्ने व्यावस्था गरीएको छ ।



