अदालतको फैसला वेवास्ता गर्दे शिक्षक माथि महानगर प्रमुखको अत्याचार


मोरङ /१४ मंसिर-गुणस्तरीय शिक्षा राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ । गुणस्तरीय शिक्षाविना सम्वृद्ध राष्ट्रको परिकल्पना गर्न सकिदैन । गुणस्तरीय शिक्षा निर्माणमा राज्य लगायत सम्वन्धित सबै पक्षको भूमिका सकरात्मक हुनु पर्दछ । उपयुक्त र प्रभावकारी शिक्षा नीतिको निर्माण, कुशल विद्यालय नेतृत्व तथा शिक्षकको उच्च सक्रियता, विद्यालय व्यवस्थापन समितिको समन्वयकारी र नेतृत्वदायी भूमिका, अभिभावकहरुको सहयोग, राज्य र राज्यका नियमनकारी निकायको सकारात्मक भूमिकाको साथै भौतिक पूर्वाधारको विकास र सबै विद्यालयलाई सूचना र प्रविधिसँग जोड्न सकेमा मात्र शैक्षिक गुणस्तरको निर्माणमा सहयोग पुग्दछ ।


साथै विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेर शिक्षाक्षेत्र राजनीतिक हस्तक्षेपबाट मुक्त गरिनु पर्दछ । तर हाम्रो मुलुकमा शिक्षाक्षेत्र राजनीतिक हस्तक्षेपबाट अझैपनि मुक्त हुन सकेको छैन । अझ शिक्षा क्षेत्र थप राजनीतिक क्रिडास्थल बन्दैछ । खासगरी प्रधानाध्यापक नियुक्ति, व्यवस्थापन समितिको पदाधिकारी छनौट, शिक्षक सरुवा जस्ता विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप हुने गरेको कुरा हाम्रो सामु ऐना जस्तै छर्लङ्गै छ ।


व्यक्तिगत पूर्वाग्रह तथा राजनीतिक आस्थाको आधारमा शिक्षा ऐन तथा शिक्षा नियमावली विपरित शिक्षक सरुवा गरेर अनावश्यक दुःख दिइन्छ । विभिन्न राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताले विद्यालयलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्दै आइरहेको उदाहरणहरू प्रशस्त छन् । त्यसैगरी प्रत्येक राजनीतिक दलका विचार र सिद्धान्तका आधारमा स्थापित भिन्ना भिन्नै शिक्षकका पेशागत संगठनका कारण पनि शिक्षा क्षेत्रमा झन राजनीतिक प्रभाव बढ्दै गएको देखिन्छ ।


मुलुकमा संघीय शासन प्रणाली लागू भएसँगै माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहमा आए पनि स्थानीय तहले शिक्षा क्षेत्रको विकासमा उल्लेख्य भूमिका खेल्न सकेको छैन । स्थानीय तहले गरेका कतिपय निर्णयहरु विवादित हुने गरेका छन् ।


केही स्थानीय तहका प्रमुखले कानुन उल्लङ्घन गरी आफूलाई मनपर्ने शिक्षकलाई प्रधानाध्यापक बनाउन अन्य शिक्षकको सरुवा गर्न खोज्दा विवाद उत्पन्न भएको देखिन्छ । ति विवादित निर्णय अदालतसम्म पुग्ने गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले कानुनलाई पञ्छाएर स्थानीय सरकारको नाताले हामीले जे गर्दापनि हुन्छ । भन्ने दम्भ प्रदर्शन गर्दा शिक्षाक्षेत्र झन विवादस्पद बन्दै गएको देखिन्छ । जसको प्रत्यक्ष प्रभाव बालबालिकाको पठनपाठनमा समेत पर्ने गरेको छ ।


स्थानीय तहका पदाधिकारीद्वारा गलत मनसायले गरिएका त्यस्ता निर्णयले कतिपय विद्यालय धरासायी बन्दै गएका छन् । यसरी स्थानीय तहका पदाधिकारीहरुले आफ्नो पद र अधिकारको दुरुपयोग गर्दै कानुन विपरीत आफू अनुकूल निर्णय गर्न खोज्दा विवाद उत्पन्न हुने गरेका छन् । स्थानीय तहले शिक्षकमाथि गरेको अन्यायपूर्ण व्यवहारका कारण शिक्षक न्यायका लागि अदालत जान बाध्य भएका छन् ।


शिक्षा क्षेत्रको आमुल परिवर्तनका लागि शिक्षकसँग हातेमालो गर्दै अगाडि बढ्नुको सट्टा आफ्नो राजनीतिक स्वार्थका कारण शिक्षकलाई अनावश्यक दुःख दिनु र असमान व्यवहार गर्नु कत्तिको न्यायोचित हुन्छ ? कुनैपनि राजनीतिक दलको निर्वाचन चिन्ह लिएर निर्वाचन लडेपनि निर्वाचित भइसकेपछि निर्वाचित प्रतिनिधि सम्वन्धित दलको नभइ आमजनताको प्रतिनिधि हो तर हाम्रो मुलुकका जनप्रतिनिधिहरुमा त्यस्तो प्रकारको राजनीतिक संस्कार कहिल्यै विकास हुन सकेन ।


राष्ट्रको सबैभन्दा उच्च ओहोदामा बस्ने सम्माननिय व्यक्तित्व राष्ट्रपति, उपराष्ट्रपति, समामुखले त निर्दलीय संस्कार देखाउन नसक्दा बेलाबेलामा बिवादमा तानिने गरेका छन् भने स्थानीय तहका जनप्रतिनिधिले त्यस्तो संस्कार देखाउन नसक्नु स्वभाविकै मान्न सकिन्छ । स्थानीय तहका जनप्रतिनिधिले पद र अधिकारको दम्भ देखाउँदै आफ्नो स्वार्थका लागि शिक्षकहरुलाई कसरी दुःख दिन्छन् र कसरी असमान, अपमानजनक र अन्यायपूर्ण व्यवहार गर्दछन् भन्ने कुरामा एक जना शिक्षकको पिडा यस्तो छ ।


यस्तो छ शिक्षकको पिडा :
म आफैले प्रत्यक्षरुपमा भोगेको अनुभवहरुलाई तपाईहरुसँग शेयर गर्न मात्र कोशिस गरेकोले अन्यथा ठान्नुहुने छैन भन्ने मलाई पूर्ण विश्वास छ । म एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्तै कयौ शिक्षक यस प्रकारको पिडाबाट प्रताडित होलान त्यो बाहिर आउन नसकेको पनि हुन सक्छ ।


कति शिक्षक बोल्न आँट गर्न सक्लान, कतिले आँट गर्न नसक्लान । कति शिक्षकले अन्यायको विरुद्ध प्रतिकार गर्न सक्लान कतिले नसक्लान । कति शिक्षक न्यायको लागि अदालतको ढोका ढक्ढकाउन जालान त कतिले त्यो हिम्मत नगर्लान । तर कयौं शिक्षक स्थानीय तहको अन्यायपूर्ण व्यवहारको शिकार भएका छन् । त्यसको एउटा उदाहरण हुन बिराटनगर महानगरपालिका प्रमुख । उनले बिराटनगर महानगरमा आफू निकट शिक्षकलाई प्रधानाध्यापक बनाउनैका लागि कानुन विपरीत मलाई सरुवा गरेर दुःख दिने कार्य गरे । महानगरले गरेको गैरकानुनी सरुवाको निर्णयले मलाई पटकपटक अदालत जान बाध्य बनाइयो । म पेशाले एउटा शिक्षक हुँ । मेरो शिक्षण यात्राले पच्चीस वर्ष पार गरिसकेको छ । मेरो शिक्षण यात्राको दौरानमा मैले पहाडदेखि तराईसम्मका विभिन्न विद्यालय अध्यापन गर्ने मौका पनि पाँए ।


विगत दश वर्षदेखि हालसम्म म जनता नमुना माध्यमिक विद्यालय विराटनगरमा माध्यमिक शिक्षकको रुपमा कार्यरत छु । मेरो विद्यालयमा तत्कालीन उच्च माध्यमिक शिक्षकका तिनवटा दरबन्दी सहित माध्यमिक तहमा जम्मा आठ ओटा शिक्षक दरबन्दी कायम रहेको छ । मैंले शिक्षण पेशामा प्रवेश गरेदेखि नै पेशागत मर्यादालाई ख्यालमा राख्दै इमान्दारितापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्दै आई रहेको छु ।


विद्यालयको एउटा जिम्मेवार सदस्यको नाताले अध्यापनको साथै विद्यालयको समग्र पक्षको विकासमा पनि चासो राख्नु मेरो दायित्व हो भन्ने मैले ठानेको थिएँ । यहीं सोच र मानसिकताका साथ म अगाडि बढ्दै थिएँ । बेलाबेलामा विद्यालयभित्र हुने गरेका विकृति विसङ्गति र आर्थिक अनियमिताको बिषयमा प्रश्न भने उठाउने गर्दथे । तर त्यही विषय मेरालागि अभिषाप बन्यो र मैले इमान्दारिपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै पनि मलाई विराटनगर महानगरपालिले एक पटक होइन दुई÷दुई पटक सरुवा गरेर दुःख दिने कार्य गर्यो ।


शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को मर्म विपरीत विराटनगर महानगरपालिकाले नगर शिक्षा समितिको २०७५÷११÷०१ को निर्णय बमोजिम मलाई अर्को विद्यालयमा काज सरुवा पठाउने र मेरो दरबन्दीमा पदस्थापन गर्ने गरी नजिकैको अर्को विद्यालयबाट अर्को शिक्षकलाई कार्यवाहक प्रधानाध्यापकको जिम्मेवारी सहित सरुवा गरी ल्याउने निर्णय गर्यो । सुविधाका दृष्टिकोणले मलाई पठाइएको विद्यालयमा म जाँदा कुनै प्रकारको असजिलो थिएन तर मलाई बिना कारण बेइज्जतिपूर्ण तबरले सरुवा गरेकाले सरुवा गरिएको विद्यालयमा जान मेरो स्वाभिमानले दिएन ।


यो म माथि गरिएको एउटा अन्यायपूर्ण व्यवहार थियो । त्यसैले यो गैरकानुनी रुपमा गरिएको सरुवाप्रति मैंले चित्त बुझाउन सकिन र मिति २०७६ साल बैशाख २२ गते महानगरले गरेको सरुवाको विरुद्ध सम्मानित उच्च अदालत विराटनगरमा रिट दायर गरे । उक्त रिट निवेदनमाथि सुनुवाई गर्दै मिति २०७६÷०१÷२३ मा सम्मानित उच्च अदालतले निवेदनको अन्तिम किनारा नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गर्यो ।


समयमा समयमा पेशी सर्दै नौ महिना पछि मिति २०७६/०९/१४ मा सम्मानित उच्च अदालतले रिट जारी गर्दै महानगरको सो निर्णयलाई गैर कानुनी भन्दै बद्दर गरिदियो । तर महानगरले अदालतको आदेशलाई वेवास्ता गर्दै काजमा रहेको शिक्षकलाई नत फिर्ता गर्यो नत मलाई नै पुनः दरवन्दी कायम रहेको पत्र दियो ।


अदालतले निर्णय गरेको वर्ष दिन पुग्दा नपुग्दै दरबन्दी मिलानको हवाला दिएर मलाई पुन अपायक सरुवा गर्यो । विद्यालयमा दरबन्दी नकाटिने अवस्था हुँदा हुँदै पनि दरबन्दी कार्यविधि २०७६ विपरित मिति २०७७/१०/२३ को निर्णय भन्दै मलाई हटाएर काजमा रहेको व्यक्तिलाई मेरो दरवन्दीमा पदस्थापन गर्यो । स्मरण रहोस , दरबन्दी आठमा आठै कायम गरिएको थियो । दरबन्दी काटिने अवस्था हुँदा पनि रिक्त दरबन्दी एउटा र म भन्दा कनिष्ठ शिक्षक पनि थियो ।


म माथि एक पछि अर्को गर्दै महानगरले अत्याचार गर्दै गयो । म पुन अदालतको शरणमा पुगे । मिति २०७७/१२/०९ गते सम्मानित उच्च अदालत विराटनगरमा महानगरले गरेको सरुवाको बदरको माग गर्दै महानगर विरुद्ध पुन रिट दायर गरे । उक्त रिट निवेदन उपर मिति २०७७/१२/१० मा सुनवाइ गर्दै सम्मानित उच्च अदालत, विराटनगरले पुन अन्तरिम आदेश जारी गर्यो । अदालतको आदेशले महानगरको निर्णयलाई यथास्थितिमा राखेपनि तिनै काजमा रहेका व्यक्तिलाई जवरजस्ती निमित्त प्रधानाध्यापकको जिम्मेवारी थमाइयो ।


मुद्दाको पेशी सर्दै जाँदा मिति २०७८/०८/०६ मा तोकिएको पेशीमा दुवै तर्फका कानुनविदहरुको बहस छलफल पश्चात सम्मानित अदालतले फेरीपनि रिट जारी गरी मलाई न्याय दिने काम गरेको छ । गैर कानुनी सरुवा गरेर मलाई दुख दिने महानगर र महानगर प्रमुखलाई न्यायलयले कति सवक सिकायो या सिकाएन त्यो त भविष्यले नै बताउने छ । साथै दुई वर्षदेखि राजनीतिक संरक्षणमा कानुन विपरीत काजमा रहेका शिक्षकलाई फिर्ता पठाएर महानगरले सम्मानित अदालतको सम्मान गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकि छ ।


स्थानीय तहका पदाधिकारीको गैरकानुनी हर्कतले कक्षाकोठामा हुनुपर्ने शिक्षक न्यायालयको ढोका कहिलेसम्म ढकढक्याउनुपर्ने हो ? शिक्षक न्यायका लागि कतिपटक न्यायलय जाने ? यसको जवाफ कसले दिने ? यसवाट विद्यार्थीमा पर्न गएको क्षेति कस्ले व्यहोर्ने ? शिक्षकलाई पटकपटक गैरकानुनी सरुवा गरेर दुःख दिने शिक्षा साखाका कर्मचारी र जनप्रतिनिधिलाई चाहिँ कानुनी कारबाही हुने कि नहुने ? उनीहरुले चाहिँ पटकपटक कानुनको उलंघन गर्दा उन्मुक्ति पाइरहने यो कस्तो कानुनी राज्य हो ? जसले कानुन उलंघन गरेपनि त्यो अपराध होइन र ? यसतर्फ सम्वन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।


कयौ शिक्षक आज स्थानीय तहको दादागिरीको कारण पिडामा होलान, अन्यायमा परेका होलान । कति बोल्न सक्लान, कति बोल्न नसक्ने होलान, कति न्यायलय जान सक्लान त कति डरले जान सक्दैनन् र पिडा भोग्दै बसेका होलान तर शिक्षकको हक र अधिकारको जिम्मा लिएर बसेका ठेकेदारहरु राजनीतिक फाइदा लिनै मा ब्यस्त छन् । यस्तो पिडा शिक्षकले कहिलेसम्म भोग्नुपर्ने हो ? निरुत्तर छु । मूल्याङ्कन तपाइहरुकै जिम्मामा छ ।