काठमाडौं/१३ मंसिर-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले प्राविधिक धारको कक्षा सञ्चालनका लागि अनुमति दिन आग्रह गरेको छ । पूर्वाधार पुगेका निजी विद्यालयलाई कक्षा ९–१२ को प्राविधिक धार तर्फको कक्षा सञ्चालनका लागि अनुमति दिन आग्रह गरेको हो ।
प्याब्सनका अध्यक्ष टीका राम पुरी सहितको कार्य समितिले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई भेटी निजी लगानिमा सञ्चालित विद्यालयहरुले आवेदन दिई सम्पूर्ण पूर्वाधार पुगेका विद्यालयहरुलाई पनि कार्यक्रम सञ्चालन गर्न पाउने अनुमति दिने व्यावस्था मिलाउन आग्रह गरेको जनाएको छ ।
त्यसैगरी सिटिइभिटी द्धारा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षामा डिप्लोमा तहका कक्षाहरु सञ्चालन गर्न सामुदायिक विद्यालयहरुलाई मात्र अनुमति दिइएको भन्दै यस्तो विभेदको अन्त्य गर्न समेत आग्रह गरीएको छ ।
संघीय शिक्षा ऐन निर्माणमा पहिलो प्राथमिकता राखिनु पर्ने आवश्यकता रहेको भन्दै शिक्षा ऐनको मस्यौदा सम्बन्धमा पूर्ववत सरकारले शिक्षा ऐन मस्यौदा समितिमा प्याब्सनको सहभागिता गराएको जानकारी गराउँदै उक्त मस्यौदा परिमार्जन गर्ने अवस्था भए वा पुनः समिति निर्माण हुँने भए प्याब्सनको अनिवार्य सहभागिता रहने व्यावस्था मिलाउन भनिएको छ ।
पत्रमा भनिएको छ “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रद्धारा विद्यालय तहको पाठ्यक्रम परिवर्तन गर्ने क्रममा हालै परिवर्तित एकीकृत पाठ्यक्रम गुणस्तरीय तथा समय सापेक्ष हुन नसकेको हाम्रो ठहर छ । तसर्थ उक्त यथार्त अवस्थालाई मध्यनजर गर्दे यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारहरुको राय,सुझाव लिई परिमार्जन गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न आवश्यक व्यावस्था गर्नुहुन आग्रह गरीन्छ । ”
साथै प्याब्सनले अब बाँकी रहेका महिनाहरुलाई प्रभावकारी रुपमा कक्षा सञ्चालन गरी चैत्र अन्तसम्ममा वार्षिक परीक्षा सञ्चालन गरी बैशाख दास्रो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न र बैशाखमा एसइइ परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
सबै बालबालिकालाई कोभिड-१९ विरुद्धको हाल उपलब्ध फाइजर खोप स्थानिय तहको मार्फत सबै विद्यालयमा खोप केन्द्र निर्धारणगरी उपलब्ध गराउन शिक्षा मन्त्री समक्ष आग्रह गरेको छ ।



