काठमाडौं /१२ मंसिर- नेपाल शिक्षक महासङ्घले १५ सदस्यीय वार्ता टोलीको नामावली शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पठाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षा मन्त्रीको नेतृत्वमा वार्ता गरी शिक्षकहरुका समस्या समाधान गर्न ९ सदस्यीय वार्ता टोलि पठाउन पत्राचार गरेपनि महासङ्घले १५ सदस्यीय वार्ता टोलीको नामावली पठाएको हो ।
महासङ्घले अध्यक्ष कमलादेवी तुलाधरको संयोजकत्वमा मंसिर ९ गते नामावली शिक्षा मन्त्रालय पठाएको जनाएको छ । नामावली मन्त्रालयमा पठाइसकिएको र बुँदा गत रुपमा छलफल गरी मंसिर मसान्त भित्र नै वार्तालाई टुंग्याउनु पर्ने निर्णय महासङ्ले गरेको महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।
सुवेदीले सरकारबाट वार्तालाई वेवास्ता गर्ने, विगत जस्तै ढिलासुस्ती गर्ने र टालटुले व्यावहार प्रदर्शित गर्ने जस्ता कार्य भए वार्ता छोडेर पुनः आन्दोलनमा जाने चेतावनि दिएका छन् ।
उनले भने “लामो कुराकानि भन्दा पनि छिटो भन्दा छिटो वार्ता प्रक्रियालाई टुंग्याउनु पर्छ । यसका लागि नेपाल शिक्षक महासङघले विगतमा भएको ३० बुँदे सहमती एवम् २०७८ बैशाख २० गते अघि सारिएको ३४ सुत्रीय मागपत्रमा उठाइएका मागमुद्दा सम्बोधनको लागि मन्त्रालय वार्ताको टेबलमा प्रष्ट खाका र योजना सहित आउनु पर्छ ।”
महासङ्घले ३४ बुँदे माग राख्दै २०७८ बैशाख २० गते देखि निरन्तर आन्दोलन गर्दे आइरहेको थियो । गत कार्तिक १७ गते विज्ञप्ति जारी गर्दे पाँचौ चरणको आन्दोलन अन्तर्गत कार्तिक २८ गतेबाट काठमाडौं केन्द्रित निर्णयक आन्दोलनको तयारी गर्न सबै शिक्षक कर्मचारीहरुलाई निर्देशन दिएको थियो । तर, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षा मन्त्रीको नेतृत्वमा वार्ता गरी समस्या समाधान गर्न ९ सदस्यीय वार्ता टोलि पठाउन पत्र पठाए पछि वार्ताका लागि आन्दोलन स्थगन गरिएको छ ।
नेपाल शिक्षक महासङ्घले पठाएको वार्ता टोलीको नामावली यसप्रकार छन् :
१. कमलादेवी तुलाधर – अध्यक्षा, नेपाल शिक्षक महासङ्घ ।
२. पूर्ण प्रसाद दवाडी – सहअध्यक्ष, नेपाल शिक्षक महासङ्घ ।
३. लक्ष्मीकिशोर सुवेदी – महासचिव, नेपाल शिक्षक महासङ्घ ।
४.मोहन राज जोशी – कोषाध्यक्ष, नेपाल शिक्षक महासङ्घ ।
५. राजेन्द्र राज पौडेल – अध्यक्ष, नेपाल शिक्षक सङ्घ ।
६. लक्ष्मण शर्मा – अध्यक्षा, नेपाल राष्ट्रिय शिक्षक संगठन ।
७. शंकर अधिकारी – अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन ।
८. घनश्याम पाठक – अध्यक्ष, अखिल नेपाल शिक्षक संगठन ।
९. सानुभई कार्की – अध्यक्ष अखिल नेपाल शिक्षक संघ ।
१०.दोला राज शर्मा – अध्यक्ष, नेपाल विद्यालय कर्मचारी परिषद् ।
११. होमकुमार थापा – अध्यक्ष, संस्थागत विद्यालय शिक्षक युनियन ।
१२. टिका देवी राई – उपाध्यक्ष, नेपाल शिक्षक महासङ्घ ।
१३. तिलक कुँवर – उपाध्यक्ष, नेपाल शिक्षक महासङ्घ ।
१४. हेमचन्द्र महतो – उपाध्यक्ष, नेपाल शिक्षक महासङ्घ ।
१५. लालबाबु यादव – उपाध्यक्ष, नेपाल शिक्षक महासङ्घ ।



