काठमाडौं /१८ कार्तिक-सप्तरीको छिन्नमस्त गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई अझै पनि पाठ्यपुस्तक उपलब्ध गराएको छैन् । जनप्रतिनिधिविच सहमति नहुँदा विगत दुई वर्ष देखि गाउँसभा हुन नसकेको कारण विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नगराएको पाइएको हो ।
जनप्रतिनिधिविच सहमति नहुँदा गाउँपालिकामा पटक पटक समस्या आउनुका साथै शैक्षिक सत्र सकिनै लाग्दा पनि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नगराएको नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष दिनेशप्रसाद यादवले बताए । उनले भने “पालिकाले विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध नगराउँदा विना पुस्तक पढ्न बाध्य भएका छन् । त्यस्तै शिक्षक तथा कर्मचारीलाई आठ, दश महिनाको अन्तरमा तलब उपलब्ध गराएको छ ।”
२०७६ सालमा गाउँसभा हुनुभन्दा पहिले दशै आएकोले शिक्षक र कर्मचारीको दबाब पूर्ण आन्दोलनका कारण तलब भत्ता पाउन सफल भएपनि २०७७ सालमा जति प्रयास गरेपनि गाउँसभा हुन नसकेको शिक्षकहरुले बताएका छन् ।
गाउँसभा दुइवर्ष यता हुन सकेको छैन । कोभिड १९ को कारण देखाउदै गाउँसभा नगर्ने, जनप्रतिनिधिबिच तालमेल नहुने तथा वडा सदस्यहरु अध्यक्ष र उपाध्यक्षको गुटमा विभाजन भई पार्टिगत झगडा गर्नेे, प्रशासकीय अधिकृत हाजिर भएपनि टिक्न नसकि अन्यत्र सरुवाहुने, लेखापालले प्रमुख अधिकृतको कुरा नमान्ने, वजेट बाडफाडमा जनप्रतिनिधि बिच झगडा हुने जस्ता कारणले गाउँपालिकामा समस्या आएको शिक्षकहरुको भनाई छ ।
गाउँसभा हुन नसक्दा पालिकाभित्रका सामुदायिक विद्यालयले पाउनु पर्ने शशर्त अनुदान पाठ्यपुस्तक,दिवाखाजा,सामाजिक लेखापरीक्षण खर्च,तलब भत्ता,भौतिक सामाग्री व्यावस्थापनको रकम आदी हाल सम्म पनि उपलब्ध हुन सकेको छैन ।
त्यसैगरी पालिकाले पाठ्यपुस्तक जस्तो अति संवेदनशील सामाग्री समेत हालसम्म विद्यार्थीलाई उपलब्ध नगराउँदा विद्यार्थी पुस्तक विना पढ्न बाध्य भएका छन् । पालिकाको लापरवाहीले हजारौ विद्यार्थीहरुको भविष्य निर्माणमा असर परेको भन्दै गैरजिम्मेवर, असक्षमता तथा चरम लापरवाही गरेको अभिभावकको गुनासो छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश कुमार शर्माले अघिल्लो वर्षको वजेट फिर्ता गएको बताउदै सामाजिक सुरक्षा भत्ता र तलब भत्ता सुविधाको लागि दुईवटा शिर्षक मात्र तोकेर गाउँसभाले निर्णय गरेपनि अन्य कुनैपनि विषयमा गाउँसभा नभएको बताए । यो शैक्षिक सत्रको पाठ्यपुस्तक कार्तिक मसान्त सम्ममा विद्यार्थीलाई वितरण गरिएन भने त्यो पनि फिर्ता हुने र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकिने शर्माले बताए ।
गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलले प्रदेश सरकारले कर्मचारी राम्रो नपठाएका कारण काम गर्न गाह्रो भएको बताउदै गाउँपालिकामा समस्या आएको बताए । उनले कार्तिक २६ गते बैठक बसेर समस्या समाधान गरीने जानकारी दिए ।
गाउँपालिकाभित्र ३ वटा मावि, एउटा आधारभुत विद्यालय र १५ वटा प्राथमिक विद्यालय गरी १९ वटा विद्यालय रहेका छन् भने करिब ५ हजार विद्यार्थी संख्या रहेको छ ।



