पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियुको माग

काठमाडौं/१३ कार्तिक-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि तत्काल फिर्ता लिन माग गरेको हो ।


अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा भनिएको छ “नेपाल आयल निगमले पेट्रोलियम पदार्थ, एल.पी ग्यासको मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको वेवास्ता गर्दे परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरु जनतालाई पीर र मर्काको बोझ बोकाउन घुँडा धसेर लागेको सर्वविदितै छ ।”


“जनताको आधारभूत आवश्वयकतासँग प्रत्यक्ष रुपमा गाँसिएका बस्तुहरु प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्याक्त गर्न चाहान्छ” विज्ञप्तिमा उल्लेख छ ।


पेट्रोलियम पदार्थको मुल्य वृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकोले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । साथै मागलाई अविलम्ब सम्बोधन नगरिए कडा संघर्षका कार्यक्रम अघि सार्ने समेत चेतावनि दिएको छ ।


निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको छ । जसअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि गरी प्रतिसिलिण्डर १५ सय पुगेको निगमले जनाएको छ ।