धनुषा/१२ कार्तिक-धनुषाको सवैला नगरपालिकास्थित फकिर चन्द्र गामी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक वैजु साहा माथि दुर्व्यवहार गरिएको छ । विभिन्न माग राखेर आन्दोलन गर्दे आएका विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै प्रधानाध्यापकलाई कुटपिट गर्नुका साथै कालोमोसो दलेका हुन् ।
कुटपिट गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता रहेको र उनिहरुले प्रधानाध्यापकलाई शुक्रबार विद्यालय जाने क्रममा मोटरसाइकल रोक्न लगाएर चप्पलले पिट्नुका साथै कालोमोसो दलेका हुन् ।
चार दिनदेखि आन्दोलन गर्दे आएका विद्यार्थीहरुको मागमा नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका छन् ।



