काठमाडौँ /११ कार्तिक-जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षामा समावेश गर्ने विषयमा परामर्श भएको छ । मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा विश्वविद्यालय शिक्षाको पाठ्यक्रममा समावेश गर्ने विषयमा विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श भएको हो ।
बुधवार आयोजनामा गरिएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग, आमसञ्चार तथा पत्रकारिता विभाग, जल तथा मौसम विभाग, अर्थशास्त्र, समाजशास्त्र, भूगोल, इतिहास, श्रम अध्ययन लगायत विभागका प्रमुख तथा प्राध्यापकको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले जबज विश्व कम्युनिष्ट आन्दोलनका लागि एक फरक सिद्धान्त भएकाले यसलाई विश्वविद्यालयमा अध्ययन, अनुसन्धान गर्न गराउन आवश्यक रहेको बताए । साथै एमालेले पार्टीको मार्गदर्शन सिद्धान्त बनाए पनि एक मौलिक सिद्धान्त भएकाले यसलाई केन्द्रमा राखेर विश्वविद्यालयमा अध्ययन गर्नु पर्ने बताए ।
फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले जबजलाई विश्वविद्यालय शिक्षामा लागू गराउन विश्वविद्यालयका केन्द्रीय बिभागहरुसँग सम्झौता गरी काम सुरु भएको जानकारी दिइन् ।



