काठमाडौं /३० साउन-एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुन सफल भएका आशिक झा अहिले चर्चामा छन् । सामुदायिक विद्यालयमा अध्ययन गरेकै कारण उनको चर्चा गरीएपनि कक्षा १० सम्म भने उनि जनकपुरको निजी विद्यालयमा अध्ययन गरेको विद्यालयको दाबि छ ।
एसईईको परीक्षा सामुदायिक विद्यालय श्री माध्यमिक विद्यालयबाट दिएपनि अध्ययन भने कक्षा १० सम्म निजीमै गरेका हुन । एसईईको परीक्षा निजीबाटै दिँदा सरकारी कोटा नपाइने डरले कक्षा ८ देखि सामुदायिक विद्यालयमा फारम भरेर न्यु भिजन सेकेण्डरी स्कुलमा कक्षा लिने गरेको विद्यालयले जनाएको छ । विद्यालयले दिएको जानकारी अनुसार परक्षिाको समयमा मात्रै श्री माध्यमिक विद्यालयमा गएर सामेल हुने गर्थे । उनले एसईईमा ३ दशमलव ७ जीपीए ल्याएका थिए ।
उनका बुबाकै आग्रहमा परीक्षा दिनका लागि फारम सामुदायिक विद्यालयमा भरेर कक्षा न्यु भिजन सेकेण्डरी स्कुलमा लिने व्यावस्था मिलाईएको न्यु भिजनका फाउण्डर प्रिन्सिपल विश्वलाल सिंहले बताए ।
तर आशिक झाका अनुसार दाईले न्यु भिजन स्कुलमा पढेको र आफुपनि कहिले काहि दाईसँग जाने गरेकोले सर म्यमाले माया गर्ने गरेको बताएका छन् । साथै शिक्षकहरुले माया गरेका कारणले कहिले काहि न्यु भिजनमा गएर ट्यिुसन पढ्ने गरेको बताए । उनका बुबाले पनि आशिक झाले ट्युसनमात्रै पढ्ने गरेको जानकारी दिए ।
त्यसैगरी झापाकी कल्पना विष्टले आफ्नी सानी छोरीलाई कक्षा १ देखि निजी विद्यालय र सामुदायिक विद्यालय दुबैमा भर्ना गरीन । परीक्षामा पनि दुबैमा सामेल हुने व्यावस्था मिलाइन । कक्षा ६ बाट बुढानिलबण्ठ विद्यालयमा सरकारले उपलब्ध गराउने छात्रवृत्ति कोटामा पढाउनको लागि यसो गर्नु परेको उनले खबर एजुकेशनलाई बताईन ।
सामुदायिक विद्यालयमा मात्रै पढाउँदा नाम निकाल्न नसक्ने र आफुले सोचेजस्तो सेवा सुविधा र पढाई नभएका कारण निजीमा पढाउन बाध्य भएको उनको तर्क छ । मुस्कुराउदै उनी भन्छिन “सामुदायिक विद्यालयमा अभिभावकले खोजेको जस्तो गुणस्तरीय शिक्षा छैन । साथै बालबालिकाको रेखदेख राम्रोसँग भएको जस्तो पनि लाग्दैन । मैले पनि सामुदायिक विद्यालयमा पढेको हो तर म पढाईमा अब्बल नभएपनि छोराछोरीको भविष्य मेरो जस्तो नहोस भनेर अवसरका लागि मैले दुबै विद्यालयमा भर्ना गरेकी हुँ ।”

अधिकांश निजी विद्यालयमा अभिभावक द्धारा यस्तो अफर आउने गरेको एक जना विद्यालय सञ्चालकले हामिलाई बताए । उनका अनुसार सरकारी कोटा नपाईने डरले भर्ना मात्र सामुदायिक विद्यालयमा गर्ने कक्षा निजी विद्यालयमा व्यावस्था गरिदिन धेरै अभिभावकले आग्रह गर्ने गरेका छन् । तर उनले यस्तो कार्य नगर्न भन्दै अभिभावकलाई सम्झाएर पठाउने गरेको जानकारी दिए ।
केहि सामुदायिक विद्यालयका शिक्षकलाई हामिले प्रश्न गर्दा अभिभावकले अटेरी गर्ने , राजनितिक भनसुन लगाउने, सामुदायिक विद्यालयको पढाईमा विश्वास नगर्ने र सामाजिक प्रतिस्पर्धाका कारण यस्तो हुने गरेको बताए । विद्यालय तहको शिक्षालाई स्थानीयतहको मातहतमा राखिएपछि शिक्षक सरुवा, विद्यार्थी भर्ना लगायतका गतिविधिहरु मिलेमतोमा धेरै भएको उनीहरुको भनाई छ ।
तर केहि निजी विद्यालयहरुले कोचिङको रुपमा कक्षा लिन दिने गरेको र परीक्षाको समयमा सामुदायिक विद्यालयमै सामेल हुने जनाएका छन् । “सामुदायिक र निजी विद्यालय दुबै इमान्दारी नहुँदा समस्या आएको हो” एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले भने । शुल्क आउने लोभमा विद्यालयले यस्तो बदमासी गर्न नहुने उनको भनाई छ ।
त्यसो त सामुदायिक विद्यालयमा कार्यरत केहि शिक्षकहरुले निजी विद्यालयमा लगानि गरेको र शुल्क तिर्न सक्ने अभिभावलाई आफुले लगानि गरेको विद्यालयमा पठाउने गरेको अभिभावकको गुनासो छ । त्यास्ता विद्यालयहरुमा कक्षा ८ पछि फाराम भर्न सामुदायिक विद्यालयमा दिने र शुल्क तिरेर निजी विद्यालयमा कक्षाको व्यावस्था गर्ने गरेका छन् । त्यसैगरी स्थानीयतहका प्रतिनिधि वा प्रमुखहरुको निजीमा लगानि भएको कारण समस्या समाधान हुन नसकेको भनाई छ ।
विद्यालय शिक्षामा यस्तो समस्या विकृतिका रुपमा रहेको र यसमा सरकारले नीतिगत त्रुटी गरेको नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले बताए । निजीबाट पढेका विद्यालर्थीले छात्रवृत्ति नपाउने सामुदायिकबाट पढेको खण्डमा पाउने व्यवस्थाले यस्तो समस्या आएको र यस्तो त्रुटी सरकारलेनै गरेको उनको भनाई छ ।
प्याव्सनका अध्यक्ष टिकाराम पुरीले सरकारले बनाएको विभेदकारी नीतिले गर्दा निजी विद्यालयमा पढेका विद्यार्थीले छात्रावृत्ति नपाउने कारणले यो समस्या आएकोे र निजीमा अध्ययन गरे पनि ढाट्न बाध्य बनाएको बताए । पुरीले भने “सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नभएका कारण विद्यार्थीको फाउण्डेशन निजी विद्यालय हुने गरेको छ ।” यसो हुनुको कारणमा सरकारको कमजोरी रहेको उनको भनाई छ । सरकारकै कारणले निजी विद्यालयमा पढेर पनि अभिभावक र विद्यार्थीलाई ढाट्नु पर्ने बाध्यता बनाईएको छ । सरकारले यसलाई सच्याउनु पर्छ ।
अहिलेका विद्यार्थी र अभिभावक चलाख रहेको र कुनमा पढ्दा राम्रो हुन्छ बुझेको कारण यो कुनै नौलो नभएको शिक्षाविद् विद्यानाथ कोइराला बताउछन् । “सामुदायिक विद्यालय राम्रो नभएको कारणले निजी विद्यालयमा पढाई राम्रो पाईने हुँदा यो प्रवृति रहेको देखिन्छ” उनले भने । सानो कक्षामा शुल्क थोरै लाग्ने र बालबालिका जति कक्षा चढ्दै गयो शुल्कपनि बढ्दै जाने हुँदा आर्थिक अवसरको खोजिमा अभिभावकले यस्तो गर्ने गरेको बताए । साथै यसमा निजी विद्यालयको कुनै दोष नरहेको र सरकारले नियमन गर्न नसक्नुका कारण समस्या आएको बताए ।
अहिलेको अवस्थालाई हेर्ने हो भने केहि सामुदायिक विद्यालय बाहेक अरु विद्यालयलाई अभिभावकले विश्वास गरेको देखिदैन । अभिभावकले विश्वास नगर्नुको मुख्य कारण गुणस्तरीय शिक्षा नपाउनु हो । सरकारको त्रुटीपुर्ण नीतिकै कारण अभिभावक तथा विद्यार्थी अवसर नपाइने डरले निजीमा कक्षा लिएर सामुदायिक विद्यालयबाट परीक्षा दिन बाध्य बनाईएको छ । यतिमात्रै नभई सामुदायिक विद्यालयमा कक्षा नलिएपनि परीक्षामा सामेल भएकै कारण निजी विद्यालयको शैक्षिक गुणस्तर सामुदायिक विद्यालयले बेचेको देखिन्छ ।
निजी विद्यालय र सामुदायिक विद्यालय अध्ययन गर्ने बालबालिका विचमा गरीने यस्ताखालका विभेद हटाउन नितान्त आवश्यक छ । यसले एकातिर बालबालिकाको मनोविज्ञानमा समेत असर पारेको छ भने अर्कोतर्फ अवसर नपाएकै कारण विदेश पलायन हुन बाध्य भएका छन् ।



