शिक्षक सेवा आयोेगका पदाधिकारी नियुक्ति

काठमाडौं/१९ साउन-सरकारले शिक्षक सेवा आयोगका रिक्त रहेका पदाधिकारी नियुक्ति गरेको छ । लामो समयदेखि रिक्त रहेका पदाधिकारी नियुक्ति आज नियुक्त गरेको हो ।


सरकारले शिक्षक सेवा आयोगको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मीलाई र सदस्यमा नन्दकुमारी महर्जन र डा.डिल्लिराम रिमाललाई नियुक्ति गरेको छ ।


तत्कालीन लोक सेवा आयोका प्रमुख उमेशप्रसाद मैनाली अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनाली सदस्य रहेको सिफारिस समितिले गत कार्तिक २२ गते तीनै जनालाई नियुक्तिकालागि सिफारिस गरेको थियो ।


अध्यक्ष पूर्व सचिव हुन् भने महर्जन जनसेवा मावि कीर्तिपुरकी सेवा निवृत्त प्रधानाध्यापक हुन । त्यसैगरी रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव थिए ।


सिफारिस समितिले गत कार्तिक २२ गते तीनै जनालाई नियुक्तिकालागि सिफारिस गरे पनि पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफले चाहेको जस्तो मान्छे सिफारिसमा नपरेको भन्दै परीवर्तन गर्न खोजेका थिए भने पदाधिकारी नियुक्ति रोक्नु भएको थियो ।


शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिसँगै रिक्त शिक्षक पदमा खुला विज्ञापन प्रकृया, अध्ययन अनुमतिपत्र र शिक्षक बढुवा प्रक्रिया अगाडि बढ्ने भएको छ ।


यस विषयमा रमेशबबु भट्टराई लगायत शिक्षकहरुको समुहले छिटो पदाधिकारी नियुक्ति गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिदै आएका थिए । त्यसैगरी भदौ ४ गतेसम्म नियुक्ति नगरे आमरण अनशन बस्ने चेतवनि दिदै आएका थिए ।