गृहकार्य नगरेको भन्दै कुटिए विद्यार्थी, प्रहरीले लिएन उजुरी

काठमाडाैं/२० पुष– सम्मरीमाई गाउपालिका–६, रूपन्देही अवस्थित ज्ञानदीप बोर्डिङ्ग स्कुलका शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् ।
कक्षा ५ मा अध्ययरत तौफिक धुनियालाई गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरइले निर्घात कुटिएका हुन् । कुटपिटबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्समा थप उपचार गरिरहेको पिडित विद्यार्थीका हजुरबुवा मोहम्मद हुसेनले जानकारी दिए ।
स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरेका छन् । ‘धुनियाले शिक्षकको कुरा नमानेको र अटेर गरी गृहकार्य नगरेको कारण उनलाई सामान्य तर्साउन मात्र खोजेको हो । कुट्नु भएको छैन’, प्राचार्य बरईले भने । धुनियालाई कुटपिट गरेकै दिनदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । बुधबार भएको उक्त घटना शनिबारमात्र सार्वजनिक भएको हो ।
शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पछि प्रहरीले उजुरी लिन नमानेको भन्दै परिवारको सदस्यले गुनासो गरेका छन् । शिक्षकमाथि कारवाहीको माग गर्दै उजुरी गर्न इलाका प्रहरी कार्यालय मर्चवारमासम्म पुगे पनि दर्ता नगरेको विद्यार्थीको अभिभावकको भनाई छ । तर, मर्चवारका कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले प्रक्रिया नपु¥याई उजुरी आएकाले दर्ता नगरिएको जानकारी दिएका छन् । प्रक्रिया पु¥याएर मात्र उजुरी दिन आफूले आग्रह गरेको उनले बताए ।
विद्यालय जस्तो शैक्षिक संस्थामा विद्यार्थीलाई सम्झाई बुझाई गरी पढाउनुको साटो उल्टै मरणाशन्न हुनेगरी कुटपिट गरिएको घटनाप्रति स्थानीय र पिडित परिवारले घाेर आपत्ती जनाएका छन् ।