आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्ने दिन

काठमाडौं /९ साउन-आज गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने दिन । आफुहरुलाई शिक्षा लिने गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज देशभर गुरु पूर्णिमा मनाउने गरिन्छ ।


साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक–शिक्षिकाहरू, विश्वविद्यालयमा पढाउने देखि हरेक तरीकाबाट शिक्षा दिने सबै सबैमा आज सम्मान प्रकट गरिन्छ ।


गुरुमार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैँ अघि बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो ।


कोभिड १९ महामारीका कारण विद्यालय, विश्वविद्यलाय तगायत ज्ञान प्राप्त गर्ने संस्थाहरु बन्द रहेपनि आज सम्पुर्ण विद्यार्थीहरुले आफ्नो जिवनमा सत्कर्मको बाटो देखाउने सम्पूर्ण शिक्षकहरुप्रति श्रद्धा र सम्मान गर्दे मनाउन सकिन्छ ।


‘गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’
अर्थात्,
‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्म । यस्ता गुरुलाई म नमस्कार गर्दछु ।’

गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरु तत्वले आवाज निकाल्छ, नाई ! त्यसो नगर । त्यो गलत हो भन्ने आवाज सुनेपछि हामी कतिले पाइला रोक्छौँ, त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरु तत्व रहेको छ ।


सत्यलाई आत्मसात् गर्नसके गुरु तत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केही न केही सिकाएरै जान्छ । तसर्थ, हरेक पाठलाई आत्मसात् गर्न सके गुरु पूर्णिमाको र गुरु तत्वको सही उपयोग हुनेछ ।आफूलाई पढाउने सर, मिस, दाई, दिदी लगायत आफुलाई हरेक समयमा विभिन्न तरीकाबाट शिक्षा दिने सबैलाई एकफेर नमन गरौँ । सम्झना गरौँ । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरु पूर्णिमाको शुभकामना !