आइओएमले ल्यायो अनलाइन काउन्सिलिङ, सफ्टवेयरबाटै कलेज छनोट

काठमाण्डौं/१८ पुष– चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले चिकित्साशिक्षाका विभिन्न विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन काउन्सिलिङ प्रणाली सुरु गरेको छ ।
यसै शैक्षिक वर्षबाट लागू हुने गरी आइओएमको बैठकले चिकित्साका विद्यार्थी भर्नामा अनलाइन काउन्सिलिङ प्रणाली सुरु गर्ने निर्णय गरेको हो । यससँगै यो भन्दा अघि अभ्यासमा रहेको ओपनहाउस काउन्सिलिङ विस्थापित भएको छ । अनलाइन काउन्सिलिङले मेरिट प्रणालीलाई शतप्रतिशत कायम गर्ने आइओएमको विश्वास रहेको छ ।
अनलाइन काउन्सिलिङ सुरु भएसँगै आइओएमको प्रवेश परीक्षामा भर्नाका लागि योग्य नतिजा निकालेर बसेका हजारौँ विद्यार्थीले ठूलो राहत महसुस गरेका छन् । अब आइओएमअन्तर्गत सञ्चालित कलेजहरूमा एमबिबिएसलगायत चिकित्साशिक्षाका विभिन्न विषय अध्ययन गर्न चाहने विद्यार्थीले एकातिर शक्ति, श्रम र पैसाका हिसाबले बोझिलो र झन्झटिलो ओपनहाउस काउन्सिलिङबाट मुक्ति पाएका छन् भने अर्को महत्वपूर्ण पक्ष उनीहरू आफूले हासिल गरेको योग्यताअनुसार रोजेको विषय र कलेजमा पढ्ने अवसर सुनिश्चित भएको छ ।