काठमाण्डौं/१८ पुष– बुधबार ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बालबालिकाहरूलाई राजनीतिमा नलाग्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री के.पी ओलीले बालबालिकालाई पढाईमा केन्द्रित हुन सुझाव दिएका छन् । ज्ञानमन्दिर विद्यालयको कक्षा १० मा अध्ययनरत हुम्लाकी अश्मिता परियारले हामीजस्ता विद्यार्थी राजनीतिमा लाग्नु उपयुक्त छ कि छैन ? भन्ने प्रश्न सोधेकी थिइन् । परियारले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘अहिले राजनीतिमा होईन पढाईमा लाग्नुहोस् । आँखा खोलेर ज्ञान लिनुहोस्, पछि राम्ररी बुझेर मात्र राजनीतिमा लाग्नेगरी तयारी गर्नुहोस् ।’ उनले राजनीतिमा लाग्दा ठूलो संकल्प गर्नुपर्ने कुरासमेत बालबालिकालाई बताए ।
‘विद्यार्थी राजनीतिमा लाग्नु नै पर्छ म भन्दिन । तपाईंहरुले अहिले अध्ययन गर्नुपर्छ र अध्ययनमा नै बढी आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । यस सँगसँगै सामान्य ज्ञानको रूपमा देशमा के कस्तो भईराखेको छ, त्यो कुरा पनि थाहा पाउनुपर्छ ।’ सही र गलत राजनीतिबारे थाहा पाउनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीति देशका नीतिमध्ये मूल नीति हो । राजा र राणाको शासनकालमा देश विकासमा जान सकेन । राजनीति ठीक हुँदा मात्र देश अगाडि बढ्छ । अहिले देशमा शान्ति सुरक्षाका साथै राजनीतिक उद्देश्य सही छ । राजनीति गलत भए क्रान्तिका नाममा अनेक खालका विध्वंश मच्चाउने गर्छ । राजनीति देशको मूल नीति भएकाले नयाँ पुस्ताले यसको विषयमा पनि थाहा पाउनुपर्छ ।’ देशको विषय थाहा पाउन राजनीति बुझ्नु पनि जरूरी रहेको उनले प्रष्ट पारे ।
एक जिम्मेवार नागरीक भएपछि सही मान्छेलाई मत दिनुपर्ने जानकारी दिए । ओलीले विद्यार्थीबाटै नेता, डाक्टर, सेना, प्रहरी, इन्जिनियर, वकिल, पाइलट सबै बन्ने भएकाले सबै विषयमा चासो राख्नुपर्ने तर्क समेत दिए । राजनीति व्यवस्थामा राम्रा र नराम्रा दुवै विषय छन् । ‘विद्यार्थीले राम्रा विषयलाई मात्र पछ्याउनुपर्छ । लहलहैमा लागेर कुरै नबुझी राजनीतिमा लाग्नु हुंदैन, पहिले आफ्नो भविष्यप्रति सचेत रहनुपर्छ, पछि तपाईं एक जिम्मेवार नागरीक र मतदाता भएपछि ठीक दललाई मतदान दिने कुरामा ध्यान दिनुपर्छ । तर, विद्यार्थीले पढाइ छोडेर राजनीतिक गर्नुपर्छ म भन्दिन । विद्यार्थीले राजनीति गर्दै, मन्त्री, प्रधानमन्त्री राष्ट्रपति हुनुपर्छ’, ओलीले भने, ‘तपाईहरूबाट नै राष्ट्रको कोही सचिव, कोही सेना, कोही पुलिस, कोही डाक्टर र वकिल कोही र इन्जिनियर बन्नुहुन्छ । जसको रुचि जुन विषयमा छ त्यही क्षेत्रमा जानुपर्छ ।’
‘तपाईंहरुले अहिले पढाइ छोडेर राजनीति गर्नु हुँदैन । तपाईंहरू न त अहिले नगरपालिकामा उठ्न पाउनुहुन्छ न मेयरमा न त सांसदमा नै उठ्न पाउनुहुन्छ, त्यसैले तपाईं अहिले के राजनीति गर्नुहुन्छ र ? त्यसैले अहिले पढाइमा ध्यान केन्द्रित गर्नहोस् । राजनीतिबारे जानकारी लिई ज्ञान बढाउने हो’, प्रधानमन्त्री ओलीले भने ।
राजनीतिमा जान खोज्नेले धेरै कुरामा प्रतिवद्धता जनाउनुपर्ने उनले थप जानकारी दिंदै भने ‘म ईमान्दारीताका साथ देश र जनताका लागि राजनीति गर्छु । देश र जनता लागि काम गर्छु, देश विकासका लागि ईमान्दारीताका साथ लाग्छु भनेर मात्रै राजनीतिमा जानुहोस् । राजनीतिमा प्रवेश गरेपछि राज्यको ढुकुटीमा हात हालिसकेपछि त्यो हात पछि निकाल्दा तपाईंले चोखो हात निकाल्न सक्नु हुन्छ कि हुन्न भन्ने गम्भीर प्रश्न उठ्छ । त्यो इमान राख्न सक्नेगरी मात्र राजनीतिमा जाने संकल्प गर्नुपर्छ ।’ यसर्थ राजनीतिमा प्रवेश गर्नेले धेरै कुराको त्याग र संकल्प गर्नुपर्छ त्यसैले अहिले राजनीतिमा होईन पढाईमा लाग्नुहोस् भन्दै प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई सुझाव दिएका छन् ।