निमावि लाईसेन्स परीक्षाको थप दुई केन्द्रसहित कापी परीक्षण शुरु

काठमाण्डौं/९ पुष– शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक अध्यापन अनुमति पत्र परीक्षाको थप दुई केन्द्रसहितको कापी परीक्षण शुरु गरेको छ ।
टीका विद्याश्रम सानेपा र रत्नराज्य मावि बानेश्वर गरी थप दुई केन्द्रको निमाविको कापी परीक्षण शुरु गरेको हो । यस अघि गत पुौष २ गतेबाट माध्यमिकको कापी परीक्षण शुरु गरिएको थियो । यसका लागि काठमाडौंको कालिमाटि स्थित जनप्रभात मावि र ललितपुरको बालकुमारी स्थित गम्भिर समुन्द्र सेतु मावि गरी दुई वटा केन्द्र तोकिएको थियो । उक्त दुई केन्द्रमा ९० जना परीक्षकहरू कापी परीक्षणमा संलग्न छन् । सबै केन्द्रमा गरी १ सय ८० जना परीक्षक संलग्न रहेको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले बताए । गत असोजमा लिईएको लाईसेन्स अन्र्तगत प्राविको कापी कोडिङ्को चरणमा रहेकाले केही समय लाग्ने उनले बताए र प्राविको पनि जति सक्दो छिटो परीक्षण गर्ने गरी काम भईरहेको छ, ‘अहिले कोडिङ्को काम जारी छ, यो सकिन दुई दिन जती लाग्ने त्यस पछि ओरेन्टेशन गरेर परीक्षण शुरु हुनेछ’ उनले थप जानकारी दिए ।
शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा गत असोजमा लामो समयको अन्तराल पछि खुलेको थियो । पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो । लामो समय सम्म लाईसेन्सको परीक्षा नहुँदा शिक्षक हुन योग्यता पुगेका पाँच लाख भन्दा बढी शिक्षकले लाईसेन्स पाएका थिएनन् ।
आयोगले माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापनमा परीक्षा सञ्चालन गरेको थियो । लाईसेन्स परीक्षा अन्र्तगत प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।