काठमाडौ /२१ फागुन – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई अझ प्रभावकारी ढंगबाट सञ्चालन गर्न आज छलफल भएको छ । साथै विद्यार्थीहरुलाई उपलब्ध गराउने विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम कार्यान्वयन बारे हालसम्म भएका उपलब्धी प्रगति बारे पनि छलफल भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थितिमा हालसम्म भएका उपलब्धी प्रगति र आगामि दिनमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।
छलफलको क्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि यस वर्ष आवेदन माग गरेका विद्यालयहरुको विवरण एकिकृत गर्ने, दोहोरो नपर्ने गरी आवश्यकताका आधारमा प्राथमिकीकरण गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन निर्देशिका २०७६ को व्यवस्था अनुसार उक्त स्रोतलाई बालविकास केन्द्रको सुधार, शिक्षणमा प्रविधिको प्रयोग र प्रवर्तनात्मक एवं सिर्जनात्मक खोजमा समेत परिचालन गर्न सकिने गरी उपयुक्त विकल्पको पहिचान गर्ने तथा निश्चित मापदण्डका आधारमा रहेर विद्यालयको छनौट गर्ने तर्फ यथाशक्य छिटो गृहकार्य गरेर निर्देशक समितिको बैठकमा पेश गर्ने निर्णय भएको छ ।
साथै छात्रवृत्ति कार्यक्रमलाई दोहोरो नहुने गरी कार्यान्वयन गर्ने, लक्षित एवं तोकिएको वर्गलाई नै छात्रवृत्ति प्रदान गर्ने व्यवस्थाको लागि लाभान्वित विद्यार्थीहरको अभिलेख सत्यापन गर्ने र तत्काल छात्रवृत्तिको रकम उपलब्ध गराउने र जुन प्रयोजनका लागि छात्रवृत्ति उपलब्ध गराइएको हो सोही प्रयोजनमा उपयोग गरे नगरेको सम्बन्धमा र छात्रवृत्ति प्राप्त गरेको विद्यार्थीको पढाइ निरन्तरता भए नभएको सम्बन्धमा सम्बन्धित विद्यालय तथा शिक्षण संस्थाहरुलाई जिम्मेवार बनाउने गरी सम्बन्धित सबै विद्यालयहरुमा निर्देशन गर्ने निर्णय भएको छ ।
सत्यापन भएका विद्यार्थीहरुको छात्रवृत्ति रकम तत्काल वितरण गर्ने तथा छात्रवृत्ति वितरणलाई आगामी दिनमा सहज, पारदर्शी र थप प्रभावकारी बनाउनेतर्फ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ ।
उक्त छलफलमा उल्लेखित विषयका अतिरिक्त विद्यालयमा हुने लैङ्गिक हिंसा न्युनिकरण, स्वयम सेवक शिक्षक परिचालन, विद्यालय एकीकरण तथा समायोजन, शिक्षक दरबन्दी मिलानका विषयमा पनि हालको प्रगति र अबको कार्य योजना बारेमा पनि समिक्षा गरिएको थियो ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, उपमहानिर्देशक समेतको सहभागिता रहेको थियो ।




