प्रदेश २ का शिक्षकलाई कोरोना खोप

काठमाण्डौं / २७ माघ– प्रदेश २ मा पहिलो चरणको खोप अभियानमा २५ हजार ६ सय भन्दा बढी व्यक्तिहरुले कोरोनाविरूद्धको खोप लगाएका छन् ।


भारतले उपलब्ध गराएको कोरोनाविरूद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई खोप लगाउने निर्देशिका जारी गरे अनुरुप प्रदेशमा खोप अभियान सञ्चालन गरेको हो ।


प्रदेश २ मा शिक्षक तथा पत्रकारहरुलाई प्राथमिकताको सूचीमा राखी खोप लगाइएको छ ।
कतिपय स्वास्थ्यकर्मीहरू कोरोनाविरूद्धको खोप लगाउन नसके पनि निर्देशिकाविपरीत फ्रन्टलाइनमा नरहेका व्यक्ति तथा व्यापारीलगायत व्यक्तिहरूले खोप लगाएको देखिएको छ ।


पहिलो चरणमा विभिन्न स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिएका स्वयंसेवक तथा सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका व्यक्ति, फोहोरमैला व्यवस्थापनमा खटिने सफाइकर्मी, बृद्धाश्रममा रहेका व्यक्ति हेरचाह गर्ने व्यक्ति, कर्मचारी, जेलमा खटिएका सुरक्षाकर्मी तथा कैदी लगायतलाई खोप लगाउने निर्देशिका बनाइएको थियो । तर, सो मापदण्डविपरीत प्रदेश २ मा खोप लगाइएको पाइएको छ ।


निर्देशिका अनुसार नै खोप लगाइयोस् भन्नेमा आफूहरू विश्वस्त रहे पनि कतिपय स्थानहरुमा मापदण्डबाहिर गएर खोप लगाइएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले बताए । उनले भने, ‘फिल्डमा खटिने कर्मचारीहरूको सबै विवरण लिएर मात्रै खोप लगाउन भने पनि भिँडभाँडको कारणले व्यवस्थित गर्न नसकेकाले पनि यस्तो त्रुटि हुन भएको देखिन्छ ।’


यसअघि पहिलो खोप कार्यक्रमको सुरुवात्मा भने प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले निर्देशिकाविपरीत खोप लगाएका थिए । प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले प्रदेशमा लक्ष्य लिइएकोमध्ये ७४ प्रतिशतले मात्रै खोप लगाएको जानकारी दिए ।