धनुषा /१८ माघ – लगातार अत्याधिक चिसो बढेपछि धनुषा जिल्लाको मिथिला नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बाक्लो हुस्सु र शीतलहरको बढेका कारण बालबालिकाको स्वास्थयलाई ध्यानमा राख्दै मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।
साथै सामुदायिक विद्यालयको अर्धवार्षिक परीक्षा सकिएको हुँदा सो बिदा अवधिभरि उत्तरपुस्तिका परीक्षण गराई बिदापछि नतीजाको विवरणसहित शिक्षा, युवा तथा खेलकूद शाखामा जानकारी दिनसमेत प्रमुख प्रशासकीय अधिकृत डङ्गोलले आग्रह गर्नु भएको छ ।



