केही क्याम्पस प्रमुख र प्रध्यापकको उक्सावटमा विद्यार्थीले उदण्ड मच्चाए : उपकुलपति सिंह


सुर्खेत /२७ पुस – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सुर्खेतस्थित केन्द्रीय कार्यालयमा आईतबार साँझ ज्ञापनपत्र बुझाउन गएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई परिक्षाको विषयलाई लिएर ज्ञापनपत्र बुझाउने क्रममा विवाद पैदा भएपछि इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच साँझ करिब सात बजे झडप भएको हो ।

विद्यार्थीहरुको सामान्य मागहरुको ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि उपकुलपतिको निर्देशनमा प्रहरीले कुटपिट गर्नुका साथै अश्रुग्यास प्रहार गरेको स्ववियुको आरोप छ । इन्जिनियरिङ संकायका विद्यार्थीहरू मौका परीक्षा दिन पाउनुपर्ने र नियमित कक्षा सञ्चालन गर्नुपर्ने लगायतका मागसहितको ज्ञापनपत्र बुझाउन गएका थिए । ज्ञापनपत्र बुझ्न नमानेपछि गेटमै धर्नामा बसेका विद्यार्थीहरू हटाउन क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको थियो ।

झडपमा तीनजना विद्यार्थीहरु घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत र विद्यार्थी तर्कबहादुर शाही र लक्ष्मण वोगटी घाइते भएका छन् । घाइतेहरुको स्थानीय माया नरसिङ होममा उपचार भईरहेकोे छ ।

विद्यार्थीहरुले मौका परिक्षा दिन नपाएका कारण मौका परिक्षा दिनका लागि ध्यानाकर्षण पत्र बुझाउन आइतबार बिहान ११ बजे भिसी कार्यालय पुगेको तर साढे ६ बजेसम्म पनि भित्र पस्न नदिएको र अन्त्यमा सामान्य नारा लगाउँदै गर्दा आफूहरुमाथि अश्रुग्याँस प्रहार गरी प्रहरीले दमन गरेको विद्यार्थीहरुको भनाई छ । विद्यार्थीहरुले रिटे र हाइड्रो पावरको परिक्षा स्थगित गरिएपछि आफ्नो अधिकार खोसिएको भन्दै आवाज उठाउँदै आईरहेका छन् ।

विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रु ग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए । उनले उपकुलपतिसहित कर्मचारीहरूलाई विद्यार्थीले केन्द्रीय भवनमै थुनेपछि भिड नियन्त्रण गर्नका लागि सामान्य बल प्रयोग गरेको बताएको छ ।


मप विश्वविद्यालय भिसी कार्यालयका प्रा.डा. नन्दबहादुर सिंहले भने विश्वविद्यालयकै केही क्याम्पस प्रमुख र प्रध्यापकको उक्सावटमा विद्यार्थीहरुले अनावश्यक उदण्ड मच्चाएको र केही विश्वविद्यालयकै क्याम्पस चिफ र प्रध्यापकहरुले आफू कुनामा बसेर उनीहरुलाई प्रयोग गरी आन्दोलन गर्न लगाएको आरोप लगाएका छन् । उनले मप विश्वविद्यालयको सम्पत्ति देशकै सम्पत्ति रहेको र केही आक्रोश विद्यार्थी पक्षले विश्वविद्यालयको सम्पत्ति तोडफोड गरि सम्पत्ति मान हानी गरिएको भन्दै विद्यार्थीहरुको माग पूरा नहुने कुरालाई अघि सार्दै उदण्ड विद्यार्थीलाई निस्कासन गरी सम्बन्धित पक्षविरुद्ध सार्वजनिक मुद्दा हाल्ने चेतावनी समेत दिए ।