काठमाडौ /२४ पुस – ललितपुर महानगरपालिकाले स्कूल लगायत विभिन संघसंस्थाबाट ‘ट्राफिक सचेतना अभियान’ को सुरुवात गरेको छ ।
सडक दुर्घटना न्यूनिकरण र सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन भनी महानगरले ललितपुर नगर प्रहरीको समन्वयमा सो अभियान सुरु गरेको हो ।
यसैबीच बुधबारदेखि नगर प्रहरीले दैनिक एक घण्टा महानगर भित्र रहेका स्कूलमा गएर बालबालिका तथा विद्यार्थीलाई ट्राफिक सचेतना अभियानबारे जानकारीमूलक कक्षा सुरू गरिसकेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।
प्रहरीले विद्यार्थीलाई ट्राफिक सचेतनासम्बन्धी वृतचित्र ‘ट्राफिक अङ्कल’ देखाउनुका साथै सवारी चलाउँदा तथा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सचेत समेत गरिने भएको छ ।
हाल जोर विजोर हटेसँगै ट्राफिक समस्या दिन प्रतिदिन बढिरहेको छ । ‘ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र नभई सडक तथा यातायात व्यवस्था विभाग र स्थानीय सरकारको पनि हो ।’ त्यसैले आफ्नो नगर भित्र बढेको सवारी चाप र दुर्घटना न्यूनिकरण गर्न पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुलाई सो अभियानको नेतृत्व सुम्पिएको ललितपुर महानगरका मेयर चिरिबावु महर्जनले बताए ।
ललितपुर महानगरलाई मुलुककै नमूना नगर बनाउने भन्दै उनले आफ्नो नगर भित्र बढेको सवारी चाप र दुर्घटना न्यूनिकरण गर्न आफ्ना प्रहरीलाई तालिम समेत दिएको जानकारी दिए ।
सचेतनाको अभावले गर्दा ट्राफिक दुर्घटना बढेको निष्कर्ष निकाल्दै महानगरले नगरका सबै स्कूल र संघ–संस्थामा पनि सचेतना कक्षा संचालन गर्ने तयारी गरेको छ ।



