त्रिविको उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा प्रहरीले प्रमाण लोप गरेको भन्दै एसएसपी श्याम ज्ञवाली विरुद्ध उजुरी

काठमाडौं /२४ असोज – महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीसहित प्रहरी विरुद्ध उजुरी दर्ता भएको छ । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका नष्ट गरेको प्रकरणमा अनुसन्धान नगरी तमेलीमा राखेपछि ज्ञवालीसहित अरु दुई प्रहरी विरुद्ध उजुरी दर्ता भएको हो ।

त्रिविको भौतिकशास्त्र अन्र्तगत क्वान्टर मेकानिक्सका पीडित विद्यार्थी आशिष पौडेलले एसएसपी ज्ञवाली, डिएसपी सोमेन्द्र सिंह राठोर, देवीप्रसाद पौडेलसहित प्रहरी उपर आइजीपी शैलेश थापासमक्ष कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् ।

उजुरीमा पौडेलले जाहेरीवालाले सो कार्यलयमा लिइ गएको प्रमाण लोप गरेको आरोप लगाएका छन् । उजुरीमा भनिएको छ, ‘अन्य आवश्यक प्रमाण समेत बुझाउँछु भन्दा समेत बुझ्नुपर्ने पक्ष म जाहेरवाला समेतलाई नबुझी दिनुपर्ने सूचना लुकाई, शक्तिशाली मानिसहरु अभियुक्त रहेकोले कारवाही गर्न नसक्ने, र गरे आफैले उल्टो अनावश्यक दुःख हैरानी व्यहोर्नु पर्ने भएकाले अनुसन्धान नगरी तामेलीमा राखिएको भनी कायरता तथा लाचारी देखाइएको छ ।’ साथै जिल्ला सरकारी वकील कार्यालयलाई तामेलीमा राख्ने राय सहितको गलत प्रतिवेदन बुझाई कसुरतालाई उम्काउने नियत राखेको समेत उजुरीमा उल्लेख गरेका छन् ।

‘महानगरीय प्रहरी परिसरका प्रहरि कर्मचारीद्वारा ‘प्रमाण लोप’ गरी अभियुक्तलाई जोगाउने उदेश्यले सरकारि वकिलको कार्यालयमा गलत प्रतिवेदन बुझाइएको देखिएकोले निजहरुलाई प्रहरि ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ बमोजिम हदैसम्मको कारवाहि गरि पाउँ भनि उजुरी दर्ता गरेका छन् ।

त्रिविले स्नातकोत्तर तथा भौतिकशास्त्रको प्रथम सेमेष्टरको पुरानो कार्षको आंशिक तर्फको क्वान्टर मेकानिक्स विषयको परीक्षामा पाठ्यपुस्तक भन्दा बाहिरको प्रश्नहरु सोधिएको भन्दै विवाद भएको थियो । यसबारे त्रिवि, अख्तियार, सतर्कता केन्द्र, शिक्षा मन्त्रालयलगायत निकायमा समेत उजुरी परि सकेको छ ।

साथै सर्वोच्च अदालतमा रिट दायर भएकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उत्तर पुस्तिकाहरु सुरक्षित राख्नु भनी ३० असार २०७७ मा आदेश जारी भएपनि सबै प्रमाण र उत्तर पुस्तिकाहरु विश्वविद्यालयले जलाए पछि विषय विवादमा परेको छ । परीक्षा २०७५ पौष २९ गते र २०७६ असोज ५ गते भएको थियो ।