दोलखा/ ३१ अश्विन – असोज ७ गतेदेखि दोलखाका सार्वननिक र संस्थागत विद्यालयहरु खुल्ने भएका छन् । कोभिड- १९को महामारी रोकथामको लागि सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनका कारणले यति बेला सम्पुर्ण विद्यालय बन्दछन् । तर यसै बिचमा पनि दोलखाका निजी तथा सामुदायिक विद्यालयहरुमा असोज ७ गतेबाट नियमित पढाई सुरु हुने भएको छ ।
जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र जिल्ला संकट व्यवस्थापन समिति सम्मिलित मंगलबार बसेको बैठकले असोज ७ गतेबाट जिल्लाका सम्पूर्ण विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए ।
दोलखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना भाईरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभूत तथा माध्यमिक तहहरुमा नियमित पठनपाठन क्रियाकलाप संचालन गर्ने निर्णय गरेको संयोजक पाण्डेको भनाई छ।
दोलखाका निजी करिब १५ र सामुदायिक करिब ३२५ विद्यालयहरु बन्द हुदा निजी र सामुदायिकका गरी जिल्लाका करिब ५० हजार विद्यार्थीहरुको विद्यालयमा गएर गरिने पठनपाठन बन्द भएको थियो ।



