काठमाण्डौ /१ आश्विन – कोभिड १९ को तत्काल नियन्तत्रण नहुने भएकोले नागरिक आफै सचेत हुनु पर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ ।
आठौं विज्ञान दिवसको अवसरमा बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले स्वस्थ गुणस्तरका लागि विज्ञान आवश्यक रहेको भन्दै कोभिडको भ्याक्सिन तत्काल नआउने र नागरिक आफै सचेत हुन भन्नु भएको हो ।
सरकारले अमृत साइन्स क्याम्पस स्थापना भएको दिन असोज १ गतेलाई विज्ञान दिवसको रुपमा मनाउँदै आएको छ । त्यसै अवसरमा पोखरेलले सरकारले विज्ञानसँगै वैज्ञानिकलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । अब नेपालका वैज्ञानिकलाई कोभिड केन्द्रित अनुसन्धानमा खटाउनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
“अब नेपालका वैज्ञानिकलाई कोभिड केन्द्रित कार्यक्रममा आकर्षित गराउनुपर्छ, यसले गर्दा नेपालको नाम विश्वसामु परिचित गराउन सकिन्छ।” –मन्त्री पोखरेलको धारणा थियो । विद्यालय तहका विद्यार्थीलाई विज्ञान विषयमा आकर्षित गर्न सरकारले नयाँ योजना ल्याउने तयार गरेको उहाँको भनाइ थियो ।
उहाँले देशका विज्ञान विषय र वैज्ञानिकलाई काममा लगाउन ६ सय ३७ पालिकामा प्राविधिक विद्यालयको पहुँच पुगेको र थपमा विस्तार गर्ने काम भइरहेको बताउनुभयो । उहाँले गएको वर्षमा भएको कामको प्रगतिको समीक्षा गर्ने र यो वर्ष नयाँ योजना तय गर्न विज्ञान दिवस मनाउन लागिएको उल्लेख गर्नुभयो ।
अहिले नेपालभर ९० हजारको संख्यामा वैज्ञानिक रहेका र उनीहरुलाई विभिन्न आविष्कारसहित विभिन्न कार्यक्षेत्रमा खटाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।



