काठमाडौ /३१ भदौ – लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षाको ढाँचा तयार भएको छ । यस अगाडि कुन तरिकाबाट परिक्षा गर्ने भनेर अन्योल रहेको अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले ढाँचा तयार पारेको हो । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्ष सहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरका लागि अनलाइन प्रणालीबाट प्रश्न पत्र पठाइने र विद्यार्थीले सहज हुने स्थानबाट परिक्षा दिने व्याास्था गर्न लागिएको परिक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले खबर एजुकेशनलाई जानकारी दिए । त्यसको लागि विद्यार्थीको सम्पुर्ण विवरण संकलन भइरहेको र विद्यार्थी ट्रयाकिङ गरेर प्रश्न पठाइने छ त्यसपछि विद्यार्थीलाइ पायक पर्ने स्कुल,कलेज,वा गाउपालिकाको कार्यलयमा आएर भएपनि परिक्षा दिने व्यावस्था गरिने जानकारी दिए । २० नम्बर कक्षा शिक्षक वा विद्यालयले पठाउनु पर्ने छ भने कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न मन्त्रालयलाई सिफारिस गरिएको नियन्त्रक शर्माले बताए ।
विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ ।