काठमाडौं/३१ भदौ- विभिन्न १३ विद्यार्थी संगठनहरुले वैकल्पिक सिकाई प्रभावकारी नभएकाले विद्यार्थीहरुको शैक्षिकसत्र खेर जान नदिन विद्यालय, क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गरेका छन् ।
उनीहरुले कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै एकदुई वर्ष रहने प्रक्षेपण गरिएकाले आवश्यक स्वास्थ्य सतर्कता अपाउँदै विद्यालय, क्याम्पस र विश्वविद्यालय सञ्चालनको तयारी गर्नुपर्ने बताएका छन् । संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै १३ विद्यार्थी संगठनले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
उनीहरुले परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्नुपर्ने जनाएका छन् । यस्तै, निजी विद्यालय तथा क्याम्पसहरुले अनलाइन कक्षाको नाममा चर्को रकम असुलेको गुनासो गर्दै भौतिक कक्षा सञ्चालन नगरी शुल्क लिने शैक्षिक संस्थालाई कार्वाही गर्न माग गरेका छन् ।
यस्तै, पोखरा, कृषि तथा वन, संस्कृत लगायतका विश्वविद्यालयमा पदाधिकारी नहुँदा अस्तव्यस्त भएकाले खुला प्रतिस्पर्धाको आधारमा तत्काल पदाधिकारी नियुक्ति गर्नुपर्ने, कोरोनाका कारण अलपत्र परेका विद्यार्थीका लागि राहत प्याकेजको घोषणा गर्न र निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलबको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।