बाल दिवस र बालसुलभ विद्यालय


पारसमणि दाहाल
उप महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति


भाद्र २९ गते बाल दिवस । यस बर्ष सरकारी अधिकारीहरुले मुखवस्त्रिका (माक्स) लगाएर बस्नु पर्ने अवस्था नभएको भए सायद धेरै अधिकारीहरुले परम्परागत शैलीमा बाल दिवसका बारेमा आप्mना भनाईहरु सार्बजनिक गर्ने थिए । मुलुकका लाखौ बालबालिकाहरु यस बर्ष सरकारी अधिकारीका ओजपूर्ण मन्तव्य सुन्नबाट विमुख हुनुपरेको छ । कोरोना महामारी कै कारणबाट यस बर्ष लाखौ अभिभावकहरुले पनि बाल दिवसका सन्दर्भमा सरकारी अधिकारीहरुका मुखबाट नयाँ र नौलो वाणी सुन्न पाउने अवसर गुमाउन बाध्य भएका छन् । गाउँ, जिल्ला तथा शहरहरुमा बनाईएका भब्य मञ्चहरुबाट साउनको उर्लँदो भेल झै बर्सने भाषण सुन्न र टेलिभिजनका पर्दाहरुमा नेता र शिक्षा अधिकारीहरुका मुहार देख्न पाईने छैन् पक्कै पनि । लाखौं विद्यार्थी र अभिभावकहरुको यो अवसरलाई कोरोना महाब्याधीले हरण गरेको भएता पनि सिंहदरवार, बालुवाटार दरवार वा अन्तकतैबाट मुखबस्त्रिका लगाएरै भए पनि केही बक्तव्य सुन्न, पढ्न र देख्न भने पाईने छ भन्ने आशा गर्न सकिन्छ । नेता र सरकारी अधिकारीहरु कोरोनाले कुजिएर आ–आफ्नै थातथलोमा बस्नु परिरहेको पिडाकै बिचमा आएको बाल दिवस अर्थात भदौ २९ को अवसरलाई लिएर डावाडोल भएको यस बर्षको पढाई, भत्किदै गएको शैक्षिक सत्रका बारेमा पनि सिंहदरवार वा बालुवाटार दरवारबाट बाचन हुने वक्तब्यमा चिन्ता र सरोकार दर्ज हुने नै छ । र फेरि पनि शैक्षिक सत्र भत्कन नदिने कर्कश आवाज विद्यार्थी र अभिभावकहरुका कानमा गुञ्जने छन् ।


बालबालिकाले जीवनको महत्वपूर्ण समय विद्यालयमा खर्चिन्छन् भन्ने सार्वभौम तथ्य कसैबाट छिपेको छैन । शैक्षिक सत्रको आधा समय त बालबालिकाले विद्यालय देख्न नपाएरै बितिसकेको छ । विद्यालय जान नपाउने तथा नचाहने वर्गका बालबालिकाहरुको सन्दर्भ भने बेग्लै हुनसक्छ । तर यथार्थमा विद्यालयमा पहुँच भएका मुलुकका झण्डै ९० लाख बालबालिकाहरु अहिले न घरको नघाटको भने झै भएका छन् । बालबालिकाहरुले विद्यालयहरु शिक्षा मात्र नभई जीवनसम्बन्धी विविध ज्ञान, सीप सेमत प्राप्त गर्ने गर्दछन् । यदि विद्यालय बालसुलभ वा बालमित्रवत् वा बालबालिकाको लागि सुहाउँदो भएन भने बालबालिकाको सिकाई कम हुने मात्रै नभई उनीहरुमा विभिन्न नकारात्मक प्रभाव समेत पर्न जान्छ । अहिलेको अवस्थामा मुलुकभरका बालबालिकामा देख्न थालिएको नकारात्मक प्रभाव पनि विद्यालय बन्द भएकै कारणले हो । बित्तै गएको ६ महिनाको शैक्षिक सत्रबाट बालबालिकामा देखिएको बिचलन तात्कालिक समस्या हुन सक्ला । तर, यसको दीर्घकालिन असर वा बिचलन देख्न र भोग्न बाँकी नै छ ।

बाल्यकाललाई मानव जीवनको सबैभन्दा महत्वपूर्ण, संवेदनशील र नाजुक अवस्थाको अवधिको रुपमा लिइन्छ । बाल्यकालमा भोगेका, देखेका कुराहरुले मानिसको सम्पूर्ण जीवनलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले विद्यालय भित्र होस् वा घरपरिवार, समुदायमा बालबालिकाको निम्ति र बालबालिकाका साथमा गरिने सबै गतिविधिहरु उमेर, क्षमता र अवस्था अनुरुप सुहाउँदो र सरल हुनु पर्दछ । वयस्कहरुको दृष्टिमा सामान्य र सानै लाग्ने कुराहरुपनि बालबालिकाहरुकालागि अत्यन्त महत्वपूर्ण हुन सक्दछन् । बालबालिकाका सिकाईका लािग विद्यालयहरु बालसुलभ हुन जरुरी हुन्छ । विद्यालयहरुको भौतिक सम्पन्नता मात्रैले पर्याप्त हुँदैन । यो उनीहरुका लािग प्रारम्भिक आवश्यकता भने हो । विद्यालयहरुमा उनीहरुप्रति गरिने वयवहार र हरेक गतिविधिहरुलाई बालबालिकाको पक्षबाट पनि हेर्न र महसुस गर्न आवश्यक हुन्छ । यस तर्फ सम्बन्धित सरोकारवालाहरुले ध्यान दिएका छन् त ? यो अहिलेको ज्वलन्त प्रश्न हो । प्रत्येक बालबालिकाले पढ्न पाउनु उनीहरुको एक आधारभूत अधिकार हो भने अभिभावक, समाज र राज्यले यस कार्यमा सघाउनु उनीहरुको दायित्व हो । समाजका हरेक पक्षले बालबालिकाको आधारभूत अधिकारको संरक्षण गर्नुपर्दछ । बालबालिकाका लागि गरिने हरेक क्रियाकलापहरु बालअधिकारका मुलभूत सिद्धान्तका विपरित हुनु हुँदैन ।

यहाँ नेपाल लगायत संसारका १९२ भन्दा बढी राष्ट्र्हरुद्वारा अनुमोदन गरिएको संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धि–१९८९ को पनि स्मरण गर्न आवस्यक छ । बर्तमान संविधानको भाग – ३ मौलिक हक र कर्तब्य, दफा ३९ मा बालबालिकाको हकको व्यवस्था १० वटा उपदफाहरुमा गर्दै उपदफा ८ मा प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ भनि स्पष्ट व्यवस्था गरिएको छ । संविधानले परिकल्पना गरे अनुसार बालबालिकाका सम्बन्धमा कुनैपनि दुब्यवहार वा अन्याय गरिनु हुँदैन । चाहे अभिभावक, समाज, राज्य वा उनीहरु अध्ययन गर्ने विद्यालयहरु नै किन नहोउन ।
विद्यालय जाने उमेर समुहका विद्यार्थीहरुका बारेमा अझ सम्बन्धित पक्ष जिम्मेवार बन्नु आवस्यक छ । विद्यालयमा कुनै पनि ढङ्गले बालबालिकालाई भेदभाव गरिनु हुँदैन । सामान्यतया जातीयताका आधारमा, आर्थिक स्तरका आधारमा, लिङ्गका आधारमा, उनीहरुको पृष्ठभूमिको आधारमा शिक्षक तथा विद्यार्थीहरु स्वयमद्वारा जानी वा नजानीकनै पनि भेदभावपूर्ण व्यवहारहरु भैरहेका हुनसक्छन् । कक्षा भित्र पढाईमा राम्रो भएका र कमजोर भएकाहरुको बीच पनि भेदभाव भैरहेका हुनसक्छन् ।


विद्यालयहरुको भौतिक पक्षभन्दा अझ महत्वपूर्ण कुरा बालबालिकाहरुले विद्यालय भित्र पस्दा मनोबैज्ञानिक रुपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गरिनु पर्दछ । डर, त्रास वा हिनताबोधको भावना आउन दिनु हुँदैन । विद्यालयमा कसैलाई हेला, र्दुव्यवहार, यातना, भेदभाव तथा होच्याउने गरिनु हुँदैन । साथै विशेषतः बालिकाहरुलाई जिस्क्याउने, नराम्रो बोल्ने लगायत कुनै पनि ढङ्गले यौन दुव्र्यवहार हुने स्थिति आउन नदिन आवश्यक उपायहरु अपनाउनु पर्दछ । यस्ता कार्य विद्यार्थी माझैबाट, शिक्षक तथा कर्मचारीबाट, विद्यालय वरिपरिका मानिसहरु जो सुकैबाट हुन सक्छ भन्ने कुरामा सम्बन्धित पक्षले हेक्का राख्नुपर्ने हुन्छ । बालबालिकाको विकासको स्तर, क्षमता र सिक्ने बुझ्ने शैली अनुसार क्रमबद्ध पाठ्यक्रम र सिक्ने सिकाउने तरिकाको विकास गरिनुपर्दछ । शिक्षकले भनेको एकोहोरो कुरा मात्रै सुनेर भन्दा आफैं सहभागी भएर धेरै कुराहरु राम्रोसँग सिक्दछन्, जान्दछन् ।

तयसैले हालको परिमार्जित पाठ्यक्रममा सानैदेखि प्रोजेक्ट वर्कलाई धेरै महत्व दिईएको पनि छ । र यसलाई सही ढङ्गले कार्यान्वयन गर्न जोड दिनु पर्दछ । बालबालिकालाई निश्चित एक–दुई कुरामा मात्रै वा परीक्षामुखी मात्रै भएर सिकाउनेमा सीमित नभै सबै पक्षमा गुणस्तरीय सिकाई हुने कुरामा जोड दिइनुपर्दछ । लेख्ने, पढ्ने, बोल्ने, सुन्ने एवम् भाषा तथा गणित लगायतको क्षमता बढाउँदै जीवन सम्बन्धी विभिन्न सामान्य ज्ञान प्राप्त हुने खालको सिकाई उपलब्ध गराउँनु पर्दछ । बालबालिकालाई विश्लेषणात्मक तरिकाले सोच्न सक्ने, प्रश्न गर्न सक्ने तथा आफ्ना भावनाहरु निसंकोच व्यक्त गर्न सक्ने क्षमता अभिबृद्धि गर्ने प्रकारको सिकाई हुनु पर्दछ । विद्यालय बालबालिकाका लागि धेरै कुराहरु सिक्ने ठाउँ हो । जहाँ बालबालिकाले जीवनको एक महत्वपूर्ण पक्ष अनुशासन को बारेमा पनि सिक्नुपर्दछ । तर, अनुशासन सजायको डरले नभई यो जीवनको एक अभिन्न अङ्ग हो भन्ने रुपमा स्वभाविक ढङ्गले लिन, बुझ्न सक्ने वातावरण र्सिजना गरिनु पर्दछ ।

के–केलाई अनुशासन भित्र राख्ने–नराख्ने भन्ने कुरा बालबालिकाको आधारभूत अधिकार र वयस्कहरुको दायित्व लगायतका विषयका आधारमा तय गरिनु पर्दछ । अनुशासन विहीन पनि हुन हुँदैन र कडा, कठोर अनुशासनले पनि बालबालिककको स्वभाविक विकासमा बाधा पु¥याउँछ भन्ने हेक्का राख्न जरुरी हुन्छ । अनुशासन कायम गर्ने नाममा बालबालिकाहरुलाई धेरै र कतिपय अमानवीय सजायहरु प्नि दिईएको पाईन्छ । सजायले तत्काल एक छिनलाई समस्या समाधान भएको जस्तो देखिएता पनि यसको दीर्घकालीन परिणाम भने राम्रो हुँदैन । अनुशासन कायम गराउन डर र करबलले होईन समझदारी र सहभागितालाई प्राथमिकता दिनुपर्दछ । अनुशासन किन चाहिन्छ भन्ने बारेमा बालबालिकालाई स्पष्ट गरिनु पर्दछ । यस सन्दर्भमा, अनुशासनमा बसेको देख्न चाहनेले आपूm पनि अनुशासनमा रहनु अत्यावश्यक हुन्छ भन्ने कुरालाई बिर्सन हुँदैन ।


बालबालिकासँग कुराकानी गर्दा सुहाउँदो हाँसो, ठट्टा गर्नाले उनीहरुलाई तनाव मुक्त बनाउन र कुराकानी गर्ने व्यक्तिसँग सम्बन्ध र विश्वास बढाउन मद्धत पुग्दछ । तर कहिलेकाही हाँसो ठट्टामा गरिने केही विषय या प्रसङ्गहुरुले बालबालिकालाई असजिलो पनि बनाउन सक्ने वा खिल्ली उडाए जस्तो हुन सक्ने हुँदा त्यसतर्फ पनि ध्यान दिईनुपर्दछ । कतिपय बालबालिकाहरु विद्यालयमा हुने असमान व्यवहार, हेला होच्याउने, गालीगलौज, तिरस्कार तथा उनीहरुलाई हेरिने हेयपूर्ण दृष्टिका कारण पढाइमा ध्यान दिन नसक्ने वा विद्यालयनै छाड्ने अवस्थामा पनि पुग्दछन् । जात, लिङ्ग, धर्म शारीरिक तथा सामाजिक आर्थिक हैसियत, बालबालिकाको पृष्ठभूमि लगायतका आधारमा भेदभाव गरिनु हुँदैन । बालबालिकाले गरेका गलत व्यवहारहरु कालागि पनि तिरस्कारपूर्ण व्यवहार नगरी उनीहरुको अवस्थानुसार सुधारमूलक व्यवहार गर्नुपर्दछ र ठाडै उनीहरुलाई अवसरबाट बञ्चित गरिनु हुँदैन ।

कतिपय अवस्थामा त्यस्ता अवसरहरुलाई उनीहरुको सुधारका निम्ति उपयोग गर्न सकिन्छ । विद्यालयलाई बालसुलभ बनाउन विद्यालयमा पढाइने कुराहरु, विद्यालयमा सिकाईने कुराहरु वास्तविक जीवनमा आधारित हुनुपर्दछ । ती सबै जीवन उपयोगी हुनु पर्दछ । पाठ्यक्रममा पनि सोही अनुरुप परिमार्जन गर्नु आवश्यक हुन्छ । कतिपय अवस्थामा पाठ्यक्रमलाई तत्काल परिवर्तन गर्न नसकिने हुन सक्दछ । तर अतिरिक्त रुपमा भए पनि जीवन उपयोगी कुराहरु भने सिकाउन सकिन्छ । विद्यालयमा सिकाइने कुराहरु बाबालिकाको आधारभूत मानवअधिकार सम्मान गर्ने खालको हुनुपर्दछ । यस अतिरिक्त कतिपय किताबमा सीमित रहेका कुराहरुलाई कसरी व्यवहारपयोगी बनाउन सकिन्छ भन्ने सन्दर्भमा पनि ध्यान पु¥याउनु आवश्यक हुन्छ । विद्यार्थीलाई किताबी किरोका रुपमा मात्रै सीमित रहन नदिइ उनीहरुको क्षितिजलाई फराकिलो पार्न, उनीहरुको दृष्टिकोण र सोचाइलाई व्यापक बनाउन हरसम्भव प्रयत्न जारी राख्नृुपर्दछ ।


यस वर्षको बालदिवसको सन्दर्भमा मुलुकका बालबालिकाहरुले आधा शैक्षिक सत्र विद्यालयको मुख देख्न नपाई विताई रहेको सन्दर्भमा उनीहरुले घर, गाउँ, खेतखलियान वा शहर बजारमा देखेका–सुनेका वा भोगेका ब्यवहारिक ज्ञान पनि उनीहरुको सिङ्गो जीवनको सारथी बन्ने छ भन्ने कुरामा भने दुईमत रहँदैन ।