“म जिम्मेवार शिक्षक“ कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ /११ असार – स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले “म जिम्मेवार शिक्षक“, शैक्षिक उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । १९ औँ अधिवेशनमा आर्थिक वर्ष २०८३ ०८४ को बजेट सार्वजनिक गर्दै सो घोषणा गरेको हो ।


पालिकाले शिक्षक क्षमता विकास, उत्प्रेरणा तथा विद्यालय शिक्षा सुधार अभियान, विद्यालय पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रु २ करोड ९० लाख विनियोजन गरको छ ।


यसैगरी विद्यालय मनोपरामर्श सेवा तथा विद्यालय स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिँदै सङ्घीय सरकारबाट प्रदान गरिरहेको दिवा खाजा व्यवस्थापन कार्यक्रममा गाउँपालिकाबाट प्रति विद्यार्थी रु ५ थप गर्ने गरि आवश्यक बजेटको प्रबन्ध मिलाएको जनाएको छ ।


विद्यालय र समुदायस्तरमा चेन्ज मेकर्स क्लबमार्फत समुदायमा आधारित सिकाइ कार्यक्रम, नेतृत्व तथा सिप विकास, विद्यालयहरुमा ट्यालेन्ट मेन्टर, स्पोट्र्स को –अर्डिनेटर व्यवस्थापनको लागि रु १५ लाख विनियोजन गरेको छ ।


बदलिँदो विद्यालय स्तरमा एआई आधारित सिकाइलाई आयआर्जनसँग जोडी कार्यक्रमलाई निरन्तरता दिन प्रविधिमैत्री शिक्षाका लागि रु ५० लाख को बजेट प्रस्ताव गरिएको समेत पालिकाले जनाएको छ ।