काठमाडौँ/१० असार – नेपाल विश्वविद्यालयले पाठ्यक्रम र सञ्चालन गरिएका कार्यक्रमको जानकारी दिने उदेश्यले ओपेन हाउस कार्यक्रम सञ्चालन गरेको छ । नेपालका अन्य विश्वविद्यालयले भन्दा फरक तरिकाले विश्वविद्यालय सञ्चालन गरिएको र विद्यार्थी केन्द्रीत पाठ्यक्रम निर्माण गरिएकोले जानकारी दिने उदेश्यले यो कार्यक्रम सञ्चालन गरेको हो ।
विद्यार्थीले कक्षा ११ र १२ मा साइन्स, व्यवस्थापन वा अन्य जुनसुकै विषय लिएर पढेपनि स्नातक तह अध्ययनका लागि आफ्नो रुचिका आधारमा विषय छनोट गर्न सकिने बहुविधात्मक अवधारणामा आधारित विश्वविद्यालय रहेको जनाएको छ ।
“११ र १२ मा जुन विषय लिए पनि विद्यार्थीहरूले अफर गरिएको जुनसुकै विषयमा मेजर गर्न सक्छन । उदाहरणका लागि, ११ र १२ मा जे विषय लिएको भए पनि इन्टिग्रेटेड साइन्समा ब्याचलर डिग्री गर्न सक्छन । मेजर छान्ने कुरा पहिलो दुई सेमेस्टर (पहिलो वर्ष) मा कमनकोर भनिने युनिभर्सिटी अनिवार्य कोर्सहरू पढेपछि मात्र हुन्छ । यसको फाइदा एक वर्षको अध्ययन र मन्थन पछि मात्र विद्यार्थी आफैँले आफूलाई मन पर्ने कुरामा अध्ययन गरुन भन्ने हो । आफैँले आफूलाई र आफ्नो भित्री सवल पक्ष र वास्तविक इच्छा राम्ररी नबुझी अरू कसैको सल्लाह र सुझावका लहडमा नपरी आफ्नो जीवनभर असर पर्ने विषय क्षेत्र छानुन भन्ने हो ” नेपाल विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजेन्द्र पोखरेलले भने ।

यसैगरी विश्वविद्यालयले भर्नाका लागि कक्षा ११ र १२ का आधारमा परीक्षा सञ्चालन गर्ने भन्दा पनि विद्यार्थीको रुची, क्षमता, सञ्चार कौशल, कगनेटिभ लेबल र परिमाणात्मक सिप मापनका लागि प्रवेश परीक्षाबाट विद्यार्थी छनोट गरिने उनको भनाई छ ।
सुरुमा लिइने प्रवेश परीक्षा भनेको कुनै व्यक्ति विश्वविद्यालय जाने सामान्य खुबी राख्छ कि राख्दैन भनेर जाँच्ने हो । सञ्चार कौशल, कगनेटिभ लेबल र परिमाणात्मक सिपमा एउटा निश्चित खुबी भएका जो सुकै पनि उपयुक्त वातावरणमा विश्वविद्यालयमा सफल हुने ल्याकत राख्ने पोखरेल बताउछन् ।
उनले नेपालमा ११ र १२ को विषयगत सुत्रहरू घोकेर पढेर लेखेका उत्तरले विश्वविद्यालयबाट विद्यार्थी सफल भएर निस्कन्छ भन्ने ग्यारेन्टी नभएको उल्लेख गर्दै नेपाल विश्वविद्यालयको प्रवेश परीक्षा विश्वव्यापी सामान्य सिद्धान्तमा आधारित हुने र विद्यार्थी छनोटमा आवश्यक र सम्बन्धित व्यक्तिगत खुबीलाई हेरिने बताए ।
कसरी गरिन्छ विद्यार्थीको मूल्याङ्कन ?
विद्यार्थीहरूको सिकाई मापनका लागि रचनात्मक तथा निरन्तर मूल्याङ्कनका आधारमा गरिने विश्वविद्यालयको भनाई छ । योसँगै हरेक सेमेस्टरको अन्तिम परीक्षामा बढीमा ३० प्रतिशतको मात्रै भार हुने जनाएको छ ।
विद्यार्थीका लागि परीक्षा अनावश्यक रूपमा भय र सन्त्रासपूर्ण हुँदै नहोस भनेर केवल योगात्मक मात्र नभई विद्यार्थीको इभालुएसन र एसेस्मेन्ट पहिलो दिनबाटै सुरु गरिने छ । केही घन्टाको फाइनल परीक्षाले विद्यार्थीको खुबी नाप्न नसकिने विश्वविद्यालयको मान्यता रहेकोले विद्यार्थीले ट्रायल एण्ड एरर र गल्तिहरूबाट सिक्दछ भन्ने विश्वव्यापी मान्यताका आधारमा पढाई भएको दिन देखिनै विद्यार्थीको मूल्याङ्कन गरिने छ ।
विश्वविद्यालयले लिबरल आर्टस् र साइन्सेस अवधारणामा आधारित रहेर अनुसन्धानमुखी केन्द्रका रूपमा विकसित भई बहुआयामिक, रोजगारमूलक र समयसापेक्ष शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।





