चूडामणि रेग्मी
चौविसे गाउँपालिका , धनकुटा
मानिसमा भएको अज्ञानतालाई हटाएर ज्ञानको ज्योति छर्नु, शिक्षा हो । शिक्षा व्यक्तिको सोच्ने, बुझ्ने र अन्तत व्यवहार गर्ने सिपमा आउने सकारात्मक परिवर्तन हो । शिक्षा प्राप्त गर्नु भनेको कुनै सिद्धान्त, नियम अथवा सुत्र कन्ठस्त पार्नु होइन । नत शास्त्री, आचार्य वा विद्यावारिधिको उपाधि हासिल गर्नु नै हो । शिक्षा त व्यक्तिमा हुने आन्तरिक प्रक्रिया हो, जसको सम्बन्ध उसको व्यवहारको रुपान्तरणसँग रहन्छ । शिक्षाको व्यक्तिगत उदेश्य मानिसलाई आर्थिक समृद्धि र सामाजिक प्रतिष्ठाको माध्यमद्धारा सन्तुष्टि प्रदान गर्नु हो । व्यक्तिलाई सफल र असल बनाउनु शिक्षाको लक्ष्य हो । त्यसैले शिक्षा हासिल गर्नु भनेको व्यक्तिलाई सफल र असल बनाउन आवश्यक सिप प्राप्त गर्नु हो ।
शिक्षाविद् हर्वट स्पेनसर भन्छन् ,“पूर्ण जीवनको तयारी नै शिक्षा हो । ” उनका अनुसार , “शिक्षा भनेको व्यक्तिहरुका असल नैतिक चरित्रहरुको विकास गर्नु हो । ” ( Education is the development of good moral character) प्रसिद्ध दार्सनिक रुसोका शब्दमा , “ शिक्षा अरु केही होइन, बानीहरुको निर्माण मात्र हो । ” ( Education is nothing but formation of habit )
यी भनाइहरुबाट के बझिन्छ भने, शिक्षाको निकटतम् सम्बन्ध विद्यालय ,पुस्तक र शिक्षकसँग होइन जीवनसँग हुन्छ । जीवन भोगाइलाई सहज, सुखी र खुसी बनाउनका लागि चाहिने नैतिक गुण तथा व्यवहारिक सिपको आर्जन गर्नुु नै शिक्षा हासिल गर्नु हो ।
संसारमा धेरै असल र सफल भएका मानिसको इतिहास हेर्ने हो भने उनीहरु सबैभन्दा धेरै शैक्षिक उपाधि हासिल गरेका वा सबैभन्दा धेरै किताबी ज्ञान प्राप्त गरेका व्यक्ति कदापी होइनन् । माहात्मा गान्धी, बिल गेट्स, पारिजात, अल्वर्ट आइन्सटाइन, सेक्सपियर आदी परिचित नाम हुन् । यी व्यक्तिको नाम र ख्यातीको कारण उनीहरुले विद्यालय र विश्वविद्यालयवाट प्राप्त गरेको उपाधी कदापी होइन । यो त उनीहरुको वैयक्तिक प्रवृतिको उपहार हो । उनीहरुको आचरण, लगनशिलता, सिर्जनशीलता, दृढता र इमान्दारीतको परिणाम हो । अनि पुरस्कार हो ।
सामाजिक प्रतिष्ठा र पद , आर्थिक समृद्धि र सन्तुष्टिको चाहाना राख्नु मानवीय स्वभाव हो । यसको प्राप्ती व्यक्तिको लक्ष्य पनि हो । शिक्षाको उदेश्य व्यक्तिको लक्ष्य प्राप्तिमा सहयोग गर्नु हो । तर, कुनै व्यक्तिको प्रसिद्धि र समृद्धि उसले हासिल गरेको शैक्षिक उपाधिको उपज होइन भने के हो त उसको प्रसिद्धिको कारण ?
कुनै व्यक्तिले सामाजिक प्रतिष्ठा र पदसँगै आर्थिक समृद्धि पनि प्राप्त गरको छ भने हामी उसैलाई सफल व्यक्ति भन्छौ । तर, उसको सफलता उसले हासिल गरेको शैक्षिक उपाधिको परिणाम नभई उसको आचरण वा स्वभावको उपज हो । आचरण वा स्वभाव अन्तरगत व्यक्तिका धेरै नैतिक तथा वैयक्तिक गुणहरु र व्यवहारिक सिपहरु पर्दछन् । करुणा, प्रेम, सहानुभूति, आत्मानुभूति, मिलनसारिता, सहनशिलता, मधुभाषिता, ईमान्दारिता, दृढता, लगनशिलता, उत्सुकता, समयनिष्ठता र नेतृत्व सिप जस्ता आधारभूत वैयक्तिक गुणहरु (जसलाई हामी सफ्ट स्किल भन्छौ ) नै व्यक्तिका सफलताका कारण हुन्
यस्ता वैयक्तिक गुण तथा सफ्ट स्किलहरु अमूर्त र अभौतिक हुन्छन् । यिनीहरुलाई वस्तुनिष्ठ ढंगले मापन गर्न पनि सकिदैन । यद्यपि व्यक्तिको सफलतामा यीनकै प्रभाव हाबी रहन्छ भन्ने कुरा पुष्टि भई सकेको छ । अब प्रश्न उठ्छ, यस्ता सफ्ट स्किलहरु कहाँबाट हासिल गर्ने ? कसरी हासिल गर्ने ?
घर हरेक मानिसको पहिलो शिक्षालय हो । हामीले घरबाट प्राप्त गर्ने व्यवहारिक शिक्षा विद्यालय वा विश्वविद्यालयवाट हासिल गर्ने शिक्षा भन्दा धेरै जीवन उपयोगी हुन्छ । व्यक्तिको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक आधारभूत ज्ञान, सिप र अभिवृत्ति घरबाटै सिकिन्छ । व्यक्तिलाई समाजमा समायोजन हुन सिकाउने मुख्य थलो पनि घर नै हो । मानिस जति सुकै उच्च उपाधि हासिल गरको भएतापनि यदि उसका व्यवहारहरु असामाजिक छन् भने उसले सामाजिक स्विकृति पाउदैन । सामाजिक रुपमा अस्विकृत व्यक्तिले न त पद र प्रतिष्ठा कमाउन सक्छ न त सन्तुष्टि नै । त्यसैले सामाजिक मूल्य मान्यता सहितको नैतिक आचरण सिक्ने सर्वोत्तम निकाय स्वयम् व्यक्तिको घर वाहेक अरु हुन सक्दैन ।
प्रेम, मिलनसारिता, सहानुभूति, आत्मानुभूति, शिष्टता, इमान्दारिता, समयनिष्ठता, लगनशिलता, उत्सुकता, सिर्जनशिलता जस्ता आधारभूत सिपहरु व्यक्तिले घरमै सिक्न सक्छ । यस्ता सिपको विकास गर्नु नै साचो अर्थमा शिक्षा हासिल गर्नु हो । अनि असल र सफल हुनु हो । सहज, सुखी र खुसी जीवनको तयारी गर्नु पनि हो ।
बालबालिकाहरुमा उल्लिखित नैतिक गुणहरु र व्यवहार कुशल सिपहरुको विकाससँगै अलिकति उत्सुकता र सिर्जनशिलता थपिदिन सक्यौ भने आफ्ना घर र समुदाय नै विद्यालय र विश्वविद्यालय बन्न सक्छन् । घरमा हुने दैनिक क्रियाकलाप नै उनीहरुका लागि खुला पुस्तक बन्न सक्छन् । परिवार र समुदायका सदस्यहरु नै उनीहरुका महान गुरु बन्न सक्छन् । आफ्नै समाजमा विद्यमान व्यक्तित्वहरुका प्रेरणादायी जीवनी र कथाहरु उनीहरुका जीवनका लागि मार्गदर्शक सिद्धान्त बन्न सक्छन् ।
घर र समुदायमा हुने हरेक क्रियाकलापहरुमा विद्यार्थीहरुको जिज्ञासा र सिर्जनात्मक सिपको उपयोग गराउने हो भने अंग्रेजी व्याकरण मात्र होइन, गणितका समिकरण र विज्ञानका नियमहरु पनि घरमै सिकाउन सकिन्छ । घर वा छरछिमेकमा हुने साना भन्दा साना क्रियाकलापहरुमा पनि बालबालिकाहरुलाई समालोचनात्मक ढंगले हेर्न लगाउनुपर्छ । त्यस्ता क्रियकलाप वा घटनाहरुका कारण र असर अनुमान गर्न र पहिचान गर्न प्रेरित गर्नुपर्छ । त्यसका फाइदा र बेफइदाका विषयमा छलफल वा वहस चलाउन सिकाउनुपर्छ । तुलना गर्न मिल्ने विषय छ भने तुलनात्मक विश्लेषण गर्न अभिप्रेरित गर्नुपर्छ । धारणा व्यक्त गर्न लायक विषयवस्तुमा अभिमत प्रस्तुत गर्न लगाउनुपर्छ । यस किसिमका क्रियाकलापले उनीहरुमा सिर्जनशिलता र चिन्तनशिलता सिपको विकास सहजै सम्भव हुन्छ । साथै यसले उनीहरुलाई आत्मानुशासित मात्र नभई आत्मविश्वासी पनि बनाउँछ ।
शिक्षा भनेको व्यक्तिलाई असल र सफल जीवनयापनका लागि चाहिने आवश्यक सिप, दक्षता, क्षमता र अभिवृत्तिको विकास गर्नु हो । कुनै शैक्षिक योग्यता वा उपाधि मात्र हासिल गर्नु शिक्षा होइन । यस्ता दुर्लभ नैतिक गुण र व्यवहारिक सिप प्राप्त गर्ने प्रमुख स्थल घर र समुदाय नै हो । हाल देशैभरका विद्यालयहरु नियमित रुपमा सञ्चालन हुन नसकिरहेको अवस्थामा हाम्रा घर र समुदायलाई नै मुख्य शिक्षालयको रुपमा उपयोग गर्न सिके बालबालिकाहरुलाई अन्याय हुन बाट जोगाउन सकिन्छ र सिकिन्छ पनि । यो आजको समयको आवश्यकता हो ।