प्रधानाध्यापकले तोकिएको काम गर्न नसके पाँच हजार जरिमाना

काठमाडौं / २२ भदौ – रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले परीक्षामार्फत प्रधानाध्यापक छनोट गरेको छ।
नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रअ छनोट गरिएको हो ।


नगरपालिकाका अनुसार विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रअ छनोट गरिएको हो । नगर प्रमुख विशाल शर्माले नगर शिक्षा ऐनअनुसार प्रअ छनोट गरिएको र सङ्घीय शिक्षा ऐनअनुसार मापदण्डका आधारमा प्रअको परीक्षा लिइएको जानकारी दिए। छनोट भएका प्रअलाई भदौ २६ गते नियुक्ति दिन लागिएको छ।
नगरपालिकाले छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा पाँच हजार रूपैयाँ जरिमाना समेत तिनुपर्ने नियम बनाइएको छ।


नगरपालिकाले सबै प्रअसँग पाँच वर्षका लागि करार सम्झौता गर्नुका साथै न्यूनतम काम नगरे बर्खास्ती समेत गर्ने व्यवस्था गरेको छ । प्रअ छनोट हुनेमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त भएकासमेत छन्। प्रअले नगरपालिकासित पहिलो चरणमा एक वर्षको करार सम्झौता गर्नेछन्।

नगरपालिकाले विभिन्न मापदण्डका आधारमा प्रअको कामको मूल्याङ्कन गर्ने छ। प्रअले नगरपालिकाले गरेको मूल्याङ्कनमा कम्तीमा ५० अङ्क ल्याउनुपर्ने छ। मूल्याङ्कनका आधारमा ८० प्रतिशत बढी नतिजा ल्याउने प्रअलाई ५० प्रतिशत भत्ता थप हुने नगरपालिकाले जनाएको छ ।