विश्वविद्यालयको रुपान्तरणका लागि कार्यशैलीमा परिवर्तन


डा. हरिप्रसाद लम्साल
सहसचिव,
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवार,काठमाडौ

नेपालका विश्वविद्यालयहरु यतिबेला चर्चाको शिखरमा छन् । बहसको केन्द्रमा विश्वविद्यालय भित्रका बेथितिदेखि पदाधिकारी नियुक्ति सम्मका विषय समेटिएका देखिन्छन् । विश्वविद्यालयले काम गर्न सकेनन् भन्ने बुझाइ सर्बसाधारणको छ । अनौपचारिक कुराकानीको क्रममा पाइए अनुसार पदाधिकारीहरु आफूले काम गरेको तर सरकारबाट सहयोग नपाएको भन्नेमा दृढ देखिनुहुन्छ । त्यहाँ केहि राम्रा काम पनि भएका होलान, जसलाई बाहिर ल्याउन नसकिएको होला । तर यहिनेर अर्को वास्तविकता पनि छ, हाम्रा विश्वविद्यालयहरुले नाम अनुसारको काम गर्न नसकेकै हुन । जे काम गर्न यीनको स्थापना गरियो, सो काम हुन सकेनन् । कतिपयले त “गर्नुपर्ने” भन्दा “गर्नु नपर्ने” काम गरेर बढि चर्चा कमाएका छन् । सम्बन्धनसँग गहिरो मित्रता कायम गर्नमै धेरैको समय बित्यो ।


अहिले मुलुकका हरेक विश्वविद्यालय कुनै न कुनै खालका विशिष्ट समस्याबाट गुज्रिएका छन् । यस्ता समस्यामध्ये धेरै समस्या विश्वविद्यालयको आफ्नै कार्यशैलीका कारण सृजना भएका छन् । कतिपय समस्या अन्य कारणबाट पनि सृजना भएका होलान । जे होस समस्या छन्, र त्यसका पछाडि धेरै पक्ष जिम्मेवार हुनसक्छन् । तर छुट्टै कानूनद्धारा स्थापित निकायले आफ्ना समस्या आफै पहिचान गरी आफै समाधान गर्ने हुनुपथ्र्यो । काम गर्ने स्वायत्व वातावरण बनोस भनेर नै छुट्टै ऐनबाट व्यवस्थापन गरिएको हुनपर्छ । विश्वविद्यालयलाई अन्य पक्षको सहयोग चाहिए पनि समयमै सहयोग माग गर्न ऐनले अधिकार दिएको छ । तर कुनै पनि विश्वविद्यालयले आफ्ना समस्या महसुस गरेर समाधानका लागि सहयोग माग गर्ने संस्कार बस्नै सकेन् । आफ्ना भन्दा पनि अरुका कारण समस्या आएको भन्ने बुझाइमा विश्वविद्यालयहरु रहे । अहिले सतहमा देखिएका समस्या मुख्यत चार कारणबाट सृजना भएका हुन भन्न सकिन्छ ।


विश्वविद्यालयमध्ये कतिपयले “गर्नै नपर्ने काम गरेर” समस्या सृजना गरेका छन् भने कतिपयले “गर्नै पर्ने काम नगरेर”बेथितीलाई स्वागत गरे । अझ कतिपय विश्वविद्यालयत “गर्नै नहुने काम” मा संलग्न भएको पनि देखियो । अधिक विश्वविद्यालयको नेतृत्व “जसोतसो केहि गर्न खोज्ने तर जति चाहिने हो सो नगर्ने”खालको देखियो । यसो हुनुमा विश्वविद्यालयको मात्र नभएर समग्र सामाजिक आर्थिक परिवेश पनि जिम्मेवार होला, राजनीति पनि जिम्मेवार होला । तर बेथिती तथा अव्यवस्था राजनीतिका कारण मात्र आएका होलान त ?कि पदमा पुगेको पदाधिकारीका कारण सृजना भएका होलान ?आखिर व्यक्ति जुन बाटोबाट पदमा पुगे पनि प्राज्ञिक व्यक्ति नै विश्वविद्यालयको नेतृत्वमा पुगेको देखिन्छ । विगतदेखि भइ आएको पनि यहि हो । प्रश्न को पुग्यो भन्दा पनि पुगेको व्यक्तिको “पेशाधर्मिता”, “जवाफदेहीता” र “निष्ठा”ले किन काम गरेनन् भन्ने हो ?साथै समस्या आउनुमा विधि पद्धति कमजोर भएर हो वा भएका विधि पद्धतिको पालना नभएर हो ?पद्धति नभएको भए बनाउन पनि सकिन्थ्यो होला, तर किन बनाइएन ? यदि भएको पद्धति पालना नगरेको हो भने व्यक्तिको इन्ट्रिग्रिटीमाथि प्रश्न उठने भयो । किनकी “गर्नै नपर्ने काम गर्नु” भनेको खराब “मनोवृत्ति”हो भने “गर्नै पर्ने काम नगर्नु” चाँहि इमान्दारिताको अभाव हो । व्यक्तिको “मनोवृत्ति” र “इमान्दारिता”को अगाडि अन्य कारण जे भए पनि ती गौण नै हुन्छन् ।


यस्तो अवस्थामा सुधार कसरी ल्याउने त ?हाम्रा विश्वविद्यालय सुधार हुनै नसक्ने गरी बिग्रीसकेका छ्र्रैनन् । अलिकती मेहनत गर्ने हो भने अवस्थामा क्रमश सुधार ल्याउन सकिन्छ । तर राम्रा र उत्कृष्ट विश्वविद्यालय बनाउनका लागि धेरै काम गर्नुपर्छ । विश्वस्तरका कतिपय शैक्षिक संस्थाहरु बाह्रौं शताब्दिदेखि शुरु भए । यीनले अहिले आफूलाई अब्बल साबित गरेका छन् । निरन्तरको अभ्यासबाट उनीहरुले धेरै सिके, आफूलाई सुधार्दै लगे, समयअनुरुप काम गर्ने शैलीमा परिवर्तन पनि ल्याए । यीनीहरुसँग विगतको इतिहास छ, सुखदुखको अनुभव छ, काम गर्दै जाँदा हासिल गरिएको सिकाइ छ, र अनुसन्धानबाट निखारिएको संस्थागत अनुभव पनि छ । तर अर्कोतिर छोटो समयमा अब्बल साबित भएका विश्वविद्यालयको तस्वीर पनि हाम्रा सामु छन् । यीनीहरुसँग लामो संस्थागत अनुभव त छैन तर आजको दिनमा जे गर्नुपर्ने हो सो गरिरहेका देखिन्छन् । यीनले अन्यबाट सिके, अध्ययनबाट सिके, असल व्यवहार अवलम्बन गर्दै सिके । अहिले हामीले पनि अरुबाट सिकेर सुधार गर्दै जाने हो । हाम्रै आफ्ना अनुभवका आधारमा हासिल गरिएका सिकाइलाई कार्यान्वयन गर्दै जाने हो, “गर्नै पर्ने काम”हरुका आधारमा काम गर्दै आफू र संस्थालाई परिमार्जन गर्दै जाने हो ।


हाम्रा विश्वविद्यालयहरुलाई उत्कृष्ट बनाउने हो भने हाम्रा उत्पादन अब्बल बनाउन सक्नुपर्छ । अरु विश्वविद्यालयका उत्पादनभन्दा फरक बन्न र बनाउन सक्नुपर्छ । उत्पादकमा असल संस्कार बसाल्न सक्नुपर्छ । विश्वविद्यालयसँग सम्बन्धित हरेक व्यक्तिले आफूलाई अब्बल प्रमाणित गर्न सक्नुपर्छ । विज्ञ Salmi ले २००९ मा प्रकाशित गरेको द च्यालेन्जेज अझ इस्टाब्लिसिङ् बल्र्ड क्लास यूनिभर्सिटीज् (The Challenges of Establishing World Class Universities) नामक प्रतिवेदनमा उल्लेख भएझैं उत्कृष्ट विश्वविद्यालय बनाउनका लागि अब्बल प्राध्यापक, गुणस्तरीय शिक्षण सिकाई क्रियाकलाप, आवश्यक मात्रामा स्रोत र साधनको व्यवस्था, योग्यतम विद्यार्थी (राष्ट्रिय अन्तरराष्ट्रिय दुवै), प्राज्ञिक स्वतन्त्रता, सन्चालन र व्यवस्थापनमा स्वतन्त्रता, पर्याप्त शैक्षिक सामग्रीको उपलब्धता, अनुसन्धानमा मनग्यै ध्यान पुगेको र सक्षम प्रशासन संयन्त्र भएको जस्ता आधारभूत विशेषताको सुनिश्चितता हुनुपर्छ । यसैगरी टाइम्स हाइअर एजुकेशन सप्लिमेन्ट (Times Higher Education Supplement – THES) र सांघाइ जियोतुङ् यूनिभर्सिटी (Shanghai Jiao Tong University- SJTU) दुवैले उच्चक्षमता र दक्षता भएका प्रध्यापक, प्रविधिको प्रयोग, दीर्घकालिन सोच, अन्तर्राष्ट्रिय विद्यार्थी, संस्थाको अन्तर्राष्ट्रिय पहिचान, शिक्षण क्रियाकलाप, पिअर रिभ्यू, इमप्लोएर रिक्रुट्मेन्ट सर्वे, प्राज्ञिक स्वतन्त्रता, अनुसन्धानात्मक कार्यमा जोड, प्राज्ञिक कार्यको प्रकाशन आदिजस्ता विषयको सुनिश्चितता हुनुपर्छ भनेका छन् । सारमा भन्नुपर्दा राम्रा र अब्बल विश्वविद्यालय बनाउनका लागि यी तीनओटा प्रतिवेदनले दिएका आधार बनाउने तर्फ लाग्नुपनै देखिन्छ । हाम्रा प्रयास त्यसमा केन्द्रित गर्नुपर्ने देखिन्छ ।


हाम्रा विश्वविद्यालय त्यहिका पदाधिकारीले नै सुधार गर्ने हो, प्रध्यापक, विद्यार्थी, अभिभावक र सरकार सबै मिलेर सुधार गर्ने हो । फेरी यस्तो सुधार बाहिरबाट आएर हुने पनि होइन । विग्रेको पनि हाम्रै कारणले हो र सुधार पनि हाम्रा प्रयासबाट नै हुने हो । स्थान विशेषरुपमा व्यक्ति र निकायको भूमिका फरक फरक हुनसक्छ तर दायित्व सबैको हुन्छ । कुनै एउटालाई देखाएर अरु उम्कने अवस्था अहिले छैन् । उच्च इन्टेग्रिटी, बढ्दो क्षमता र विधि तथा पद्धतिको पालन नै सुधारका प्रमुख आधारस्तम्भ हुन । विश्वका अन्य मुलुकका अनुभवले पनि यहि देखाएका छन् । पदाधिकारीमा पेशाधर्मिताको पालना अनिवार्य शर्तको रुपमा रहन्छ । पदाधिकारी कुन राजनैतिक “दर्शन” र “विचार”बाट प्रभावित छ भन्दा पनि उसमा “पेशाधर्मिता” कति छ भनेर नागरिक समाजले प्रश्न गर्नसक्नुपर्छ । पदाधिकारीमा पदअनुसारको “क्षमता”, “इन्टेग्रीटी” र “पेशाधर्मिता” हुने हो भने निज जुनसुकै “दर्शन” र “विचार”बाट प्रभावित भए पनि केहि फरक पर्दैन् । किनकी गीडेन (२००४) को भाषामा परिवर्तन वा सुधारका लागि “व्यक्ति” र “संरचना” दुवै उत्तिकै महत्वपूर्ण हुन्छन् जसले “परिवर्तन” र यसको “प्रक्रिया” निर्धारण गर्ने हैसियत राख्दछन् ।


मुलुकका विश्वविद्यालयहरुलाई उत्कृष्ट बनाउनका लागि “सम्बन्धन दिने”जस्ता “गर्नै नहुने काम” तत्काल बन्द गर्नुपर्छ । आन्तरिक र बा्ह्य पक्षको विश्लेषण गरेर “गर्नै पर्ने काम”मात्र विधि र पद्धति बमोजिम गर्दै जाने हो भने सुधारको नतिजा छिटै हासिल हुनसक्छ । योग्य शिक्षक, अनुसन्धानकर्ता र उच्च प्रतिवद्धता भएका योग्य विद्यार्थी भर्ना गर्ने वातावरण बनाउनुपर्छ । यसैगरी बजेट, व्यवस्थापकिय स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता, प्रविधिको प्रयोग, छरितो संरचना र चुस्त प्रशासन आदिको प्रबन्ध पनि पदाधिकारीबाट बन्ने संरचना हुन । तसर्थ सुधारको शुरुवात पदाधिकारीको आचरण र कार्यशैलीबाट हुनुपर्छ ।


र अन्तमा, सबैभन्दा महत्वपूर्ण पक्ष त नेतृत्वको सोच, काम गर्ने शैली तथा तौरतरिका, प्रतिवद्धता, उत्प्रेरणा, एवम् जवाफदेहीता आदि विषय नै हुन । धेरै कुरा नगरे पनि नेतृत्वले विश्वका अब्बल भनिएका विश्वविद्यालय र आफ्ना उत्पादन केमा फरक छन ? किन फरक भयो ? यीनै प्रश्नमा आत्म समिक्षा गरेर त्यसमा सुधारको खोजी गरे पुग्छ । कमजोरी अरुमा होइन, कसैलाई अनावश्यक दोष होइन कि सुधार आफूमा खोज्ने हो भने यात्रा सकारात्मक दिशामा रहेको मान्न सकिन्छ । अरुको भन्दा आफ्नो भूमिका र जवाफदेहीता खोज्ने संस्कार यहाँ चाहिएको छ । यसबाट नै सुधारको सुखद यात्रा शुरु हुनसक्छ ।

यस लेखमा प्रस्तुत विचार लेखकका निजि विचार हुन यसले संस्थाको प्रतितिधित्व गर्दैन ।