शिक्षकहरुको राजनीति, जैविक तथा पेशागत चरित्र

अनन्त राज पन्त

अध्यक्ष,सामुदायिक बिद्यालय शिक्षा सुधार समाज , कर्णाली प्रदेश


मानिस पृथ्वीमै सबैभन्दा चेतनशील प्राणी हो। जन्मकै क्रममा बाबुको शुक्रकिटका लाखौं कोषका अनगिन्ती क्रोमोजोमहरु मध्ये २३ वटा आमाको डिम्बमा रहेका २३ क्रोमोजोमसँगको मिलनका लागी तछाड मछाड गर्दै तिब्र गतिमा मिलन भै इम्ब्रीयोको रुपमा गर्भधारण हुने गर्दछ। जन्मनु पूर्व नै मानिसले नेतृत्व गर्ने र सबै भन्दा अगाडी बढ्ने प्राकृतिक भनौं या जीविय गुण प्राप्त गरिसकेको हुन्छ।


भनिन्छ, आमाले बच्चालाई स्तनपान गराउनमा पनि राजनीति लुकेको हुन्छ । जन्म पश्चात् शिशु अवस्थामा भोक लाग्दा होस् या शरीरमा पिडा हुँदा उसले रुदै चिचाउदै आमाको ध्यानकर्षण गर्दै आफ्ना मागहरू पुर्ती गर्दै आफुलाई सन्तुष्ट बनाउने प्रयत्न गर्दछ। आमा पनि बच्चाको स्तनपानबाट मातृ बात्सल्यता प्रदान गर्दै अतृप्ति चाहानाहरु पुरा गर्दछिन् । शिशु अवस्थामा बिस्तारै आमाबुवा र घर परिवारमा आफू चाहेको क्रियाकलाप गर्न होस् या मिठो खान र राम्रो लाउन होस् धेरै रुने र कराउने गर्दछ। विद्यालयमा प्रवेश गरे सँगै कक्षाकोठा नियन्त्रण तथा व्यवस्थापनको नेतृत्व बन्न वा सदनको नेतृत्व लिनका साथै विभिन्न क्रियाकलापमा भाग लिन आफ्ना साथीहरु बीच कडा प्रतिस्पर्धा गर्ने गरेको देखिन्छ। कक्षामा साना साना बालबालिकाको झै- झगडा र लडाइँ भएको हामीले देखिरहेका हुन्छौं। अध्ययनको क्रममा पनि कक्षामा आफू उत्कृष्ट बन्न साथीहरू भन्दा कडा परिश्रम गरेको कुरा विद्यालयले लिने आन्तरिक परीक्षामा विद्यार्थीहरुको परिणामको उतारचढावले प्रमाणित गर्दछ।


शिक्षकहरुका साथै आफ्ना साथिहरुसँग नजिक बन्न धेरै प्रयास गरेको देखिन्छ। किशोर किशोरी अवस्थामा पनि आफूले चाहेको विपरित लिङ्ग साथी सँग आकर्षित हुँदै नजिकका केटा साथी वा केटी साथी बनाउने गरेको पाइन्छ।
माथिका सबै कुरा हेर्दा र बुझ्दा मानिसले आमाको गर्भमा इम्ब्रीयो बन्ने प्रक्रिया अघि नै नेतृत्व गर्ने गुण बाबुको २३ क्रोमोजोमबाटै लिँदै आफ्ना चाहाना पूरा गर्न राजनैतिक क्रियाकलापमा सङ्लग्न हुँदै नजानिदो तवरमा अगाडी बढी रहेको हुन्छ। यसरी नै ऊ जीवन प्रयन्तसम्म आफ्ना क्रियाकलाप राजनैतिक रुपमा अगाडी बढाइरहेको हुन्छ।


शिक्षण पेशा अङ्गाल्ने मानिस पनि जन्म पूर्वदेखी नै आफूलाई राजनैतिक रुपमा विकास गरिरहेको हुन्छ।
शिक्षकलाई समाजमा सबै कुराको विज्ञको रुपमा आम मानिसहरुले लिने गर्दछन् । नेपालका ग्रामिण क्षेत्रमा शिक्षकहरुले डाक्टर, वकिल लेखापाल, वैद्य, लेखनदास, इन्जिनियर, कृषक, सामाजिक अभियान्ता, लगाएत सर्बज्ञाताको भूमिका निर्वाह गर्नुपर्दछ। समाजमा रहेका हरेक पेशा र क्रियाकलापमा शिक्षकहरुको उपस्थिती र सुझावको अपेक्षा गरेको पाइन्छ। घरायसी व्यवहार तथा सम्बन्ध विस्तार जस्तै छोराछोरीको बिहेको लागी बुहारी र जुवाइको खोजी, निर्वाचनमा भोट कसलाई हाल्दा उपयुक्त हुन्छरु भन्ने कुरामा पनि शिक्षकहरुकै सल्लाहमा हुने गरेको पाइन्छ।


शिक्षकहरुको भूमिका :
– कक्षाकोठामा विद्यार्थीहरुले आफ्नो पाठ्यक्रममा भएको आर्थिक, सामाजिक, राजनैतिक र भौगोलिक अवस्थाको बारेमा बुझ्न पाउने व्यवस्था गरिएको हुँदा यी कुरा कक्षाकोठामा शिक्षकहरुले बुझाउन जरुरी

– शिक्षकहरु कक्षाकोठामा गर्ने शिक्षण क्रियाकलापहरु सबै राजनीतिनै हुन्छन् । राज्यले लिएको आर्थिक, सामाजिक, भौगोलिक, शैक्षिक र राजनैतिक नीतिका सम्बन्धमा दुधको दुध, पानीको पानी यथार्थ कुरा विद्यार्थीहरुलाई प्रशिक्षण गर्नुपर्ने दायित्व शिक्षकको हुन जान्छ।


– समाजमा सबै भन्दा बढी बिश्वास शिक्षकहरुकै हुने गर्दछ। त्यसैले राज्यका विभिन्न पक्षमा बनाइएका नीतिहरुको अन्धभक्त रुपमा समर्थन गर्दा आजका विद्यार्थीहरु भविष्यमा गणतन्त्रको स्वाद नपाई निरंकुशतातिर अभ्यस्त हुने छन्


– शिक्षकहरुले प्रदान गर्ने व्यवहारिक नागरिक तथा राजनैतिक शिक्षाका कारण भविष्यमा एक योग्य मतदाता बन्न सहजता हुनेछ।


– राष्ट्रको स्वच्छ र दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य पुँजी नै शिक्षक हो।


– राष्टको इतिहास, वर्तमान र भविष्यको दिशा निर्देशन गर्ने जिम्मेवारी शिक्षककै हुने भएकोले इतिहासको परिणाम वर्तमानमा विश्लेषण गर्दै सुनौलो भविष्यको योजना निर्माण शिक्षकले नै गर्नुपर्दछ।


– कक्षाकोठामा प्रयोग गरिने शैक्षिक क्रियाकलाप र यसका सामाग्री छनौटले भविष्यमा प्रत्यक्ष प्रभाव पार्दछ । त्यसैले शिक्षक संवेदनशील हुन जरुरी देखिन्छ।


– शिक्षक एक प्रतिबद्ध व्यक्ती जो समाजमा विभिन्न पेशा, तह र तप्काका मानिसहरुका साथै उनीहरुका बालबालिकाको मार्ग निर्देशकको रुपमा रहेको हुन्छ। बालबालिकामा समाज तथा जीवनशैली परिवर्तनका लागी उत्प्रेरकको भूमिका निर्वाह गर्दै राष्ट्र निर्माणमा लागिरहेको हुन्छ।


माथिका क्रियाकलाप सञ्चालन शिक्षकहरुले गर्नै पर्ने र ती क्रियाकलाप गर्दा राजनैतिक विषयवस्तुले प्रवेश गर्दछ र असल राजनैतिक संस्कारको शिक्षण गर्दा शिक्षक स्वयम अप्रत्यक्ष रुपमा राजनीति गरिरहेका हुन्छन्। आफू जलि रहेर राष्ट्रलाई ठुलो योगदान गर्ने शिक्षण पेशा समाजमा मर्यादित र सम्मानित पेशा नै हो। तर, राज्य सञ्चालक र शिक्षामा सरोकार राख्नेहरुले शिक्षा क्षेत्रमा उदासिनता देखाउदै शिक्षकहरुलाई उपेक्षा गर्दै आलोचना गर्ने गरेको पाइन्छ।


शिक्षक एक नेतृत्व, जसले दैनिक कक्षाकोठा व्यवस्थापन गर्दै शिक्षण सिकाइको क्रियाकलापमा विद्यार्थीहरुको नेतृत्व गरिरहेको हुन्छ। शिक्षकहरु कम्तिमा दैनिक ५ घन्टी पढाउँदा प्रति कक्षा कम्तिमा ४० विद्यार्थीका दरले २०० जनाको नेतृत्व गर्दै सामाजिक सम्पर्कमा रहिरहेका हुन्छन्।


एक जना शिक्षकको गलत क्रियाकलापका कारण २०० जनाको भविष्य बिग्रन सक्छ । २०० जनाको घरपरिवार हेर्दा एकै दिनमा ८०० जनालाई क्षती पुग्न सक्छ। अन्य पेशामा रहेका गलत प्रवृतिका व्यक्तिबाट केबल एउटा परिवारलाई मात्र क्षति पुग्छ। यी कारणले गर्दा समाजमा शिक्षकको भूमिका अहम् बन्न गएको अवस्थामा राज्यले बेवास्ता गरेको हुँदा समाज विकासको गति सोचे अनुसार हुन सकेको छैन।

“जस्ता तिम्रा ती हुन ताउन उस्तै हाम्रा सिउन साउनू” भने जस्तै राज्यले शिक्षण पेशालाई जुन सेवा सुविधा प्रदान गरेको छ त्यसै अनुरुपको क्रियाकलाप शिक्षकहरूबाट भइरहेको छ ।


शिक्षाको गुणस्तर माथी उकास्न शिक्षक मात्र नभएर अभिभावक र समाजको अहम् भूमिका हुने गर्दछ। त्यो भूमिकाको चेतना फैलाउन शिक्षकहरुले वर्तमान अवस्थामा राज्यले प्रदान गर्ने गरेको सेवा सुविधाबाट कसरी विद्यालय समय बाहिरको समय दिन सक्छन् ? यो कुरा राज्यले सोच पर्दैन ? समाजमा गरिने विभिन्न क्रियाकलापमा शिक्षकहरुकै अग्रणी भूमिका हुने भएको हुँदा शिक्षा ऎन , नीति, नियमावलीको निर्माणमा शिक्षकहरुलाई नै जिम्मा दिँदा राज्यमा ठुलै बज्रपात पर्ने नै हो ?
राज्यका स्थानिय तहदेखी उच्च तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु या राजनैतिक नियुक्ति वा निजामती कर्मचारीहरुका लागी बिलासिताका सवारी साधन र आवास सुविधन दिन सक्ने राज्यले शिक्षकहरुलाई अन्तरास्ट्रीय श्रम ऎन अनुसारको सेवा सुविधा दिन किन कन्जुस्याइँ गरिरहेको छ ? सामाज सुधार र रास्ट्र निर्माणका क्रममा भएका गलत क्रियाकलापहरुको बिरोध गरी समाजमा चेतना फैलाउदा शिक्षक बोल्नु हुँदैन भन्ने सोच आम जनताहरुमा किन ?
पेशाले नै शिक्षकहरुमा नेतृत्व क्षमता भएको हुँदा सानो वा ठुलो समूह वा पेशागत संस्थाहरुको नेतृत्व गरिरहदा राजनीति गरेकै देखिन्छ किन ?


माथिका समस्याहरू निम्त्याउन र शिक्षकहरुलाई अपहेलना गर्दै शिक्षकहरुलाई आफ्नो या अर्काको विचारमा विभाजन गरी राज्यका नीति निर्माता तहका जनप्रतिनिधिहरु, उच्च पदस्थ निजामती कर्मचारीहरु आफ्नो व्यक्तिगत तथा पारिवारिक निजी तथा राजनैतिक स्वार्थ पूर्ति गरिरहेकै छन् । पेशागत सुरक्षाको खातिर स्थापित संघ, संगठन, परिषद्, युनियन, मञ्च पनि पेशागत मुद्दा भन्दा बाहिर व्यक्तिगत स्वार्थमा लिप्त भएको देखिन्छ। तिनै राज्यका नीतिनिर्माता तहमा रहेका र पेशागत संघ ,संगठन र महासंघका स्वार्थी झुन्डहरुको विरुद्धमा शिक्षकहरुले राजनीति गर्न जरुरी देखिन्छ ।


जन्मपुर्व, जन्म पश्चात् , पेशागतरुपमा समेत शिक्षकहरुमा राजनैतिक चरित्र रहेको कारण शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोज्नु भनेकै समाज र विद्यार्थिहरुको भविष्यमा रास्ट्र निर्माण तथा नेतृत्व दायित्व क्षमता विकासको प्रक्रिया रोक्नु हो।