अत्यावश्य बाहेक सबै काम बन्द : त्रिवि

काठमाडौं/२६ साउन – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने भएको छ ।


आईतबार एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित गर्ने उद्देश्यले त्रिवि मातहतका अस्पतालहरुमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिम गर्ने र अन्य क्याम्पसहरुमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।


त्रिविले अत्यावश्यक काम र कर्मचारीको व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवारी दिने सूचनामा उल्लेख छ । यस्तै, त्रिविले सम्बन्धित स्थानीय प्रशासनले लकडाउन तथा निशेधाज्ञा जारी गरेमा सो अवधिसम्म सो क्षेत्रका क्याम्पस र कार्यालयका सम्पूर्ण सेवाहरु बन्द गर्ने जनाएको छ ।


विश्वविद्यालयका सबै कार्यालय, पदाधिकारी, शिक्षक र कर्मचारीलाई कार्यालयहरुमा पत्राचारको लागि विश्वविद्यालयले उपलब्ध गराएको इमेल प्रयोग गर्न आग्रह गरेको छ । त्रिविका सबै मिटिड भर्चुअल हुने, फेस रिडिङ डिभाइसबाट हाजिरी गर्ने व्यवस्था मिलाउने, सोको व्यवस्था नहुञ्जेलसम्म हाजिरी खातामा हाजिरी गराउने जारी सूचनामा उल्लेख छ ।


त्रिविका सम्बन्धित क्याम्पस, विभाग र स्कुलले तोके अनुसारको अनलाइन कक्षा लिने शिक्षकहरुको सोही रेकर्डलाई आधार मानी हाजिरी गणना गर्ने भएको छ भने अनलाइन कक्षा नलिने शिक्षकले क्याम्पसमा उपस्थित भई हाजिरी गर्नुपर्ने छ । यसैगरी, कार्यालयमा आएका कर्मचारीले कम्तीमा ६ फिटको दुरी कायम गर्नुका साथै अति आवश्यक काम बाहेक अन्य कामका लागि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

त्रिविले कुनै पनि पदाधिकारीहरुले समूहमा भेटघाट नदिने, एकपटकमा बढीमा तीनजनालाई मात्रै भेट्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।