काठमाडौं/९ साउन- राष्ट्रिय परीक्षा बाेर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ ।
कक्षा ११ काे परीक्षा लिने सम्पूर्ण अधिकार विद्यालयलाई नै दिने गरी कार्यविधि तयार गरिएकाे छ । कार्यविधिमा कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र र उत्तरकुञ्जिका पनि विद्यालय आफैले तयार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, त्यसका लागि बोर्डले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ । कक्षा ११ को मूल्याङ्कन अक्षराङ्कन पद्धतिबाट नै हुने र कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो विद्यार्थीलाई सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था कार्यविधिमा गरिएको छ ।
कार्यविधिमा कक्षा ११ काे परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिनुका साथै कक्षा ११ काे प्रयाेगात्मक परीक्षा समेत विद्यालयले नै लिने व्यवस्था गरेकाे छ भने परीक्षाकाे अनुगमन गर्ने अधिकार बाेर्ड मातहत राखेकाे छ ।
https://drive.google.com/file/d/1M0e5sxGcaI1df_2jaav-Hk0q8ZOYvsVG/view