साकार न्यौपाने
कोभिड कहरको संक्रमणले विश्वका विकसित र ठूला राष्ट्रमा ठूलो धनजनको क्षति भयो र क्षति हुने क्रम पनि रोकिएको छैन । तत्कालको लागि प्रत्यक्ष रुपमा धनजनको क्षति परेको देखिए पनि यसको दीर्घकालीन नकारात्मक असर चाहिँ विद्यार्थीलाई परेको छ । विकसित ठूला मुलुकमा पहिलेदेखि नै अनलाइन भर्चुअल क्लास हुने गरेको, अनलाइन परीक्षा हुने गरेकोले खासै असर नगरेको पनि हुनसक्छ । तर, हाम्रो जस्तो अविकसित मुलुक जहाँ नेटको राम्रो व्यवस्था छैन, विद्युतको राम्रो व्यवस्था छैन, लागत पनि महंगो छ, सबै ठाउँ अनलाइन क्लासको पहुँच पुगेको पनि छैन, निकै ठूलो समस्या आइपरेको छ । तरपनि, विश्वविद्यालयहरुले समयमै विविध प्रक्रिया बनाएर भर्चुअल क्लासको व्यवस्थापन गरिदिएको कारण नवीनतम अभ्यास गर्न पाएका छौं । अब भौतिक उपस्थिति नभई नहुने क्लास बाहेकका क्लासहरु भर्चुअलमा जानुपर्ने गरी कोभिड कहरले पाठ सिकाएको पनि छ र एक किसिमले बाध्य पनि बनाएको छ ।
यसै सिलसिलामा अहिले लकडाउन खुल्ला भएसँगै पूर्वाञ्चल विश्वविद्यालय समेतले भदौको पहिलो हप्तादेखि रोकिएका परीक्षाहरु गराउने सूचना प्रकाशित गरेको सन्दर्भलाई लिएर अधिकांश विद्यार्थीले अब जाँच हुने भयो भनेर खुसी व्यक्त गरेका छन् भने केही विद्यार्थीहरुले भौतिक दूरी कायम गरेर जाँच दिन /लिन नसकिने प्रतिक्रिया दिएको अवस्था छ । पूर्वाञ्चल विश्वविद्यालयसँग सरोकार राख्ने विद्यार्थी युनियनका प्रतिनिधिहरुले समेत मिश्रित प्रतिक्रिया सहितको विज्ञप्ति प्रकाशित गरेको अवस्था छ ।
शिक्षा मन्त्रालयले केही दिन अघि निर्देशन दिदैँ परीक्षा लिँदा परम्परागत हिसाबले वा अनलाइन वा असाइन्मेण्ट मार्फत वा अघिल्लो सेमिस्टर सँगै परीक्षा लिन सकिने गरी वैकल्पिक तरिका समेत अवलम्बन गरेर परीक्षा लिन निर्देशन दिएको छ । तर, विश्वविद्यालयहरुले भने पहिलो प्रयास स्वरुप परम्परागत प्रणाली बाटै परीक्षा लिने प्रयत्न गरेका छन् ।
परीक्षा केन्द्रको सुरक्षा व्यवस्थापन अर्को चुनौतिपूर्ण कुरा हो । मास्क, स्यानिटाइजर, सरसफाइ, तातोपानी, प्राथमिक औषधी व्यवस्थापन, आइसोलेसन रुम, ज्वरो नाप्ने थर्मल गन सहितको न्यूनतम पूर्वाधार हुनुपर्ने भएकोले सो को व्यवस्थापन गर्दै परीक्षा लिन खटिने कर्मचारी, शिक्षक र विद्यार्थीहरुको कोभिड बिमा समेत गराउने व्यवस्था विश्वबिद्यालयले मिलाउनु पर्ने हुन्छ । अति नै संवेदनशिल भई एकैदिन बिहान र बेलुकी गरेर दुई सिफ्ट परीक्षा लिन पनि सकिन्छ, भौतिक दूरी अत्यन्त महत्त्वपूर्ण कुरो हो ।
सरकारले कोभिड कहरको कारण गरेको लकडाउन खोलेर सुक्ष्म अध्ययन गरिरहेको छ । यदि कोभिड संक्रमितको संख्या घट्दै गएर स्थिती सामान्य अवस्थामा फर्किदै गएमा अलिकदिन ढिलो भएपनि परम्परागत परीक्षा प्रणाली नै उपयुक्त हुन्छ। यदि त्यसो नभएर संक्रमितको संख्या बढ्दै गयो भने वा सरकारले फेरि लकडाउन गर्यो भने वैकल्पिक परीक्षाको माध्यमबाट भएपनि तोकिएको समयमै परीक्षा सम्पन्न गर्न सकेमा मात्र सेमेस्टर क्षति रोक्न सकिएला । वैकल्पिक उपायमध्ये अहिले जाँच हुने अन्तिम वर्षको सातौं सेमिस्टरको चाहिँ भौतिक उपस्थिति गराएर परीक्षा गराउने र बाँकी पहिलो, तेश्रो र पाँचौ सेमिस्टरको चै असाइन्मेण्ट सिस्टमबाट परीक्षा लिई निकास दिन सक्दा उपयुक्त हुन्छ होला ।
केही विद्यार्थी घरगाउँमा भए त्यतै नजिकको सेन्टरबाट परीक्षा दिन सक्ने सुविधा प्रदान गर्न पनि सकिन्छ । अबको कक्षा पनि कोभिड कहरको अवस्था हेरी भर्चुअल र भौतिक उपस्थिति दुबैको हाइब्रीड किसिमको क्लास मिलाउन आवश्यक छ । अब पढाइ हुने सेमिस्टरको पाठ्यक्रम मध्ये पाठ्यभार घटाइ अघिल्ला सेमिष्टरहरुमा मिलान गर्दै जान सकिन्छ । यो कोभिड कहरले उब्जाएको परिस्थिति हो, यस्तो परिस्थितिमा विश्वविद्यालयको निर्देशन मान्नु प्रत्येक विद्यार्थीको कर्तव्य हुन्छ ।
विश्वविद्यालयले पनि परम्परागत प्रणाली भन्दा माथि उठेर आम विद्यार्थीको हितको लागि काम गर्नुपर्दछ । यो बीचमा २०१२ ब्याच भन्दा अघिका विद्यार्थीको लागि एउटा चान्स एक्जाम गराउन पनि सकिन्छ । यो वर्षको यो सेमिस्टरको लागि बन्ने प्रश्नपत्रको मोडल र जाँच गरिने कापीको मोडालिटीमा समेत थोरै सफ्ट कर्नरबाट हेरेर अघि बढ्ने गरी नीतिगत निर्णय गर्न सकिन्छ । तर, होम सेन्टर दिनु हुन्न । यसले नराम्रो विकृति ल्याउन सक्छ, नजिक पर्ने कलेजमा सेन्टर राख्दा केही फरक पर्दैन ।
एकथरी विद्यार्थी विरोधका लागि विरोध गरिरहेछन्, जाँचै नलिई पास हुइन्छ, वकिल हुइन्छ, इन्जिनियर बनिन्छ, डाक्टर बनिन्छ वा बन्न पाउनुपर्छ भनेर दिवास्वप्न देखिरहेका छन् । यो चाहिँ कुनै हालतमा गर्नुहुन्न, यसले कोभिड ब्याचको ठूलो दाग लाग्नेछ । भदौको पहिलो हप्ता अलिक छिटो हुन्छ भने अन्तिम हप्तादेखि परीक्षा लिन पनि सकिन्छ । जाँच लिने कुरामा विद्यार्थी संगठनहरुको पनि पक्कै विरोध हुने छैन र गर्नुपनि हुन्न जस्तो लाग्छ ।
छिटो जाँच होस्, छिटो अघिल्लो सेमिस्टरको क्लास होस् भन्ने विद्यार्थीको जमात ठूलो छ । तर, फेसबुकमा नपढ्ने विद्यार्थीहरुले जाँचको विरोध मात्रै होइन खिल्ली नै उडाइरहेका छन्, जो विश्वविद्यालयका विद्यार्थी नै होइनन् । उनले हाम्रो विश्वविद्यालयको नराम्रोगरी खिल्ली उडाइरहेका छन् । यसमा हामी पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको चित्त दुखाई छ र त्यसो नगरिदिन मित्रहरुमा अनुरोध पनि छ ।
विश्वविद्यालयले परीक्षा लिन लागेको अवस्थामा हामी सबैले सहयोग गर्नु हामी विद्यार्थीको कर्तव्य हो । कोभिड कहरको समयमा समेत हामीलाई भर्चुअल क्लास मार्फत निरन्तर जोडिरहनु भएका आदरणीय फ्याकल्टीज्यूहरु, कलेज व्यवस्थापनप्रति आभारी पनि छौं। यो बेला कलेजहरुको खर्च व्यवस्थापन पनि कठिन कुरो हो, यो बेला हामी तिर्न सक्नेले आ-आफ्नो शुल्क तिरी सर म्यामहरुको तलव दिने व्यवस्थापन पनि हुनैपर्छ । यथार्थ र वास्तविक कुराबाट भागेर कुरो बदल्दा त्यसबाट अन्ततोगत्वा हामी विद्यार्थीलाई नै नोक्सान पुग्न जान्छ ।
विश्वविद्यालय व्यवाहारिक बनोस्, अभिभावकज्यूहरु संवेदनशील हुनुहोस्, हामी विद्यार्थी जिम्मेवारी बनौं र मात्रै यो बेला कोभिड कहरसंगै शैक्षिक गतिविधिहरु अघि बढ्न सक्ने अपेक्षा गर्न सकिन्छ ।
न्यौपाने काठमाडौं स्कूल अफ ल, बिए एलएलबी दोश्रो वर्षका विद्यार्थी हुनु ।