एसईई पछि विषय छनोटमा विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुरा

एसईईपछि विद्यार्थीहरूले विषय छनोट गरी अध्ययन गर्नुपर्ने हुन्छ । तर, विषय छनोट गर्नका लागि विद्यार्थीहरूलाई निकै गाहो हुने गर्दछ । कुन विषय अध्ययन गर्दा राम्रो होला भन्ने दुविधा धेरै विद्यार्थीलाई हुने गरेको छ । विद्यार्थीलाई मात्र होइन, अभिभावकहरू समेत सोही समस्याबाट ग्रसित हुन्छन् । छोराछोरीले परीक्षा उत्तीर्ण गर्छन् कि गर्दैनन्, राम्रो अंक ल्याउँछन् कि ल्याउँदैन, कुन विषय लिएर पढ्छन् लगायतका प्रश्नहरूले अभिभावकको मनमा डेरा जमाउँछ ।

भक्तपुरको दुवाकोट बस्ने नवराज ढुङ्गेलकी छोरी सन्ध्या ढुङ्गेलले यसवर्ष चाँगुनारायण नगरपालिकामा रहेको चाँगुनारायण माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएकीछन् । पढाईमा राम्रै भएकी उनले एसईईपछि के विषय लिएर पढ्ने भन्ने योजना भने बनाएकी छैनन् । अभिभावक ढुङ्गेलले छोरीलाई विषय छनोटका लागि स्वतन्त्रता दिएका छन् । उनले छोरीलाई आफूलाई उपयुक्त हुने विषय छनोट गरी पढ्न सुझाव समेत दिँदै आएका छन् । उनी भन्छन्, “अभिभावकले छोराछोरीलाई विषय छनोटका लागि धेरै प्रेसर दिनु हुँदैन ।” उनीहरु पढेलेखका छन् । कुन विषय पढ्दा राम्रो हुन्छ हामीलाई भन्दा उनीहरुलाई धेरै थाहा हुने हुँदा धेरै प्रेसर दिन नहुने उनको तर्क छ । कुन विषय पढ्दा राम्रो हुन्छन्, सजिलै जागिर पाईन्छ, त्यस्तो विषय छनोट गरी अध्ययन गर्दा भविष्यमा राम्रो हुने उनको बुझाइ छ ।

छोराछोरीको रुची एकातिर र अभिभावकको इच्छा अर्कोतिर हुँदा छोराछोरीले बीचमा पढाई छोड्ने समस्या आउने भन्दै उनले भने,“कुन विषय पढ्ने, त्यो विषय कस्तो छ, भविष्यमा कुन क्षेत्रमा जान सकिन्छ, कति खर्च लाग्छ भन्ने विषयमा अभिभावक र छोराछोरीबीच छलफल हुन आवश्यक छ ।” अहिले छोराछोरीहरु आफै जान्ने हुँदै अभिभावकसँग सल्लाह नगरी आफ्नो मन लागेको गर्छन् । यसले भविष्यमा समस्या आउन सक्छ । त्यसैले अभिभावकले सही मार्ग निर्देशन गर्नुका साथसाथै छोराछोरीको इच्छा र चाहानलाई पनि बुझ्न उनीहरूसंगै बसेर सल्लाह र सुझाव दिन आवश्यक रहेको उनको भनाइ छ । विषय छनोटका लागि मात्र नभई कलेज छनोटका लागि पनि अभिभावकसँग छलफल गर्न जरुरी रहेको उनले बताए । कलेज छान्दा कलेजले दिने सेवा सुविधा र छात्रवृत्तिलाई ध्यान दिनुपर्ने उनको तर्क छ । उनका अनुसार आफ्नो रुचीलाई ध्यानमा राखी अभिभावकको बजेटले धान्न सक्ने विषय र कलेज छनोट गर्नुपर्छ ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको श्री भानु मेमोरियल इंग्लिस बोर्डिङ स्कुलबाट एसईई दिएकी बबिता चापागाईले पनि एसईईपछि के विषय पढ्ने र कुन कलेजमा पढ्ने निधो गरेकी छैनन् । उनका दाई माधव चापागाई एसईईपछि विद्यार्थीहरू आफैले विषय छनोट गर्न पाउने भएकाले कुन विषय पढ्दा आफ्नो भविष्य राम्रो हुन्छ बुझेर गर्न सल्लाह दिन्छन् । अभिभावकले आफ्ना छोराछोरीलाई पढ्नका लागि प्रोत्साहित गर्नुपर्ने बताउँदै उनले भने, “विषय छनोट गर्दा आफ्नो प्रतिभा र रुचीलाई ख्याल गर्नुपर्छ ।” पढेको कुरा कहिले खेर जादैंन तर अभिभावकले आफ्ना बच्चाहरु के मा पोख्त छन्, उनीहरुमा कस्तो प्रतिभा छ, के कुरामा बढी राम्रा छन् भन्ने कुरालाई बुझेर सोही अनुसार विषय छनोटका लागि सहयोग गर्नुपर्ने उनको भनाई छ । उनी भन्छन्, “अभिभावकले बच्चाहरुलाई आफै निर्णय लिन दिनुपर्छ ।” यो गर, त्यो नगर भन्दा पनि यो कसरी गर्न सकिन्छ भन्ने कुरा अभिभावकले सिकाउन जरुरी उनको भनाइ छ ।

अहिले समय फेरी सकेको छ । त्यसैले अभिभावकले विषय छनोटका लागि बच्चाहरुलाई यो पढ, त्यो नपढ भन्नु भन्दा पनि यो विषय किन पढ्ने, त्यसमा भविष्य कस्तो छ भन्ने बारेमा उनीहरुलाई उत्प्रेरित गर्नुपर्ने उनले भने । समय परिर्वतन भइसकेकाले अभिभावकले आफूले चाहेको कुरा बालबालिकामा थुपार्ने भन्दा बच्चाहरु के चाहन्छन्, त्यसलाई बुझी निर्णय लिन उनको सुझाव छ ।

नाम चलेको कलेजमा पढ्दा प्रतिष्ठित हुने र इज्जत बढ्ने मानसिकताका कारण प्रतिष्ठित कलेजमा पढ्नका लागि होड नै चल्ने गर्दछ । उनका अनुसार सक्ने अभिभावकले राम्रो कलेजमा पढाउलान् तर नसक्ने अभिभावकले के गर्छन् ? आफ्नो मान र प्रतिष्ठितका लागि नाम चलेको ठूलो कलेजमा पढ्ने भन्दा पनि अभिभावकलाई आर्थिक भार नपर्ने गरी राम्रो पढाई हुने कलेजमा पढ्नु पर्ने उनले भने ।

अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले राम्रो विषय लिएर पढुन् र उनीहरुको भविष्य राम्रो होस् । अभिभावकले देखेको सपनालाई मलजल गर्ने काम छोराछोरीले प्राप्त गरेको नतिजाले गर्छ । परीक्षामा उनीहरुले प्राप्त गरेको ग्रेडकै आधारमा विषय छनोट गर्न पाउँछन् । तर, विषय छनोट गर्दा नतिजाका आधारमा मात्र नभई परिवारको आर्थिक अवस्था र आफ्नो रुचिलाई पनि ध्यानमा राख्नुपर्छ ।