आईबीओ एउटा गैरनाफामूलक शैक्षिक प्रतिष्ठान हो । जसको स्थापना सन् १९६८ मा स्विट्जरल्यान्डको जेनेभामा भएको थियो । आईबीओले पूर्व प्राथमिक तहदेखि माध्यमिक तहसम्मका भिन्नभिन्न चारवटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ ।
आईबीले ३ देखि १२ वर्ष उमेर समूहको लागि आई.बी.पी.वाइ.पि कार्यक्रम सञ्चालन गरेको छ भने ११ देखि १६ वर्ष उमेर समूहका लागि आई.बी.एम.वाइ.पी र १६ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीका लागि दुई वर्षे आईबी डिप्लोमा र आइ.बी करिअर रिलेटेट कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपालमा पनि आईबी डिप्लोमा कार्यक्रम सञ्चालनमा रहेको छ ।
एसईई पछि आईबी डिप्लोमा कार्यक्रम अध्ययन गर्न सकिन्छ । आईबी डिप्लोमा विश्वविद्यालय अध्ययनको पूर्वतयारी गर्ने सबैभन्दा उत्तम कार्य हो । नेपालमा आईबी कार्यक्रमलाई कक्षा ११ र १२ को समकक्षताको रुपमा लिइएको छ । इन्टरनेशनल ब्याकलरेट अर्गनाइजेसन (आईबीओ) मार्फत् यो कार्यक्रम सञ्चालन भईरहेको छ ।
ललितपुरकोमा रहेको युलेन्स स्कुलमा मात्र यो कार्यक्रम पढाइ हुँदै आईरहेको छ । युलेन्स स्कुलले सन् २००९ देखि आईबी डिप्लोमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । आईबी डिप्लोमा अध्ययन गर्नका लागि विद्यार्थीहरूले एसईई परीक्षामा न्युनतम डी प्लस प्राप्त गर्नुपर्छ । दुई वर्षको यो कोर्ष अध्ययन गर्नका लागि १६ लाख खर्च लाग्छ । आईबी डिप्लोमा कार्यक्रमको भर्ना प्रक्रिया हरेक वर्ष अप्रिल–मे महिनादेखि सुरु हुन्छ भने अगस्तदेखि कक्षा सञ्चालन हुन्छ । यो कोर्ष अध्ययन गर्नका लागि विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ ।
आईबी डिप्लोमा कार्यक्रम अन्तर्गत ६ वटा विषय समूह हुन्छ । यसका अतिरिक्त तीन वटा मुख्य कोर विषयहरू पनि अध्ययन गर्नुपर्छ । समूह ‘क’ मा भाषा र साहित्यका विषयहरू, ‘ख’ मा मातृ भाषाका विषयहरू, समूह ‘ग’ मा व्यक्ति र समाजसम्बन्धि विषयहरू, समूह ‘घ’ मा विज्ञान विषय, समूह ‘ङ’ मा गणित विषय र समूह ‘च’ मा कलासम्बन्धि विषयहरू अध्ययन गर्न पाइन्छ । विद्यार्थीहरूले समूह ‘क’ देखि ‘ङ’ सम्म एक विषय छान्न पाउँछन् भने समूह ‘च’ ऐच्छिक समूहमा पर्दछ । कला विषय अध्ययन गर्न नचाहने विद्यार्थीले समूह ‘क’ देखि ‘ङ’ सम्मबाट एक विषय थप पढ्नुपर्छ ।
त्यस्तै, कोर विषयअन्तर्गत तीन मुख्य विषयहरू विस्तुत निबन्ध, ज्ञानको सिद्धान्त र रचनात्मक क्रियाकलाप, खेल र सेवा सिकाई अनिवार्यरूपमा अध्ययन र कार्य गर्नुपर्ने हुन्छ । विस्तृत निबन्ध लेखनमा विद्यार्थीहरूले अनुसन्धान गर्न र अनुसन्धानमूलक लेख लेख्न सक्छन् भने ज्ञानको सिद्धान्तको अध्ययनले हामीले के जानेका छौं, कसरी जान्दछौं ? भन्ने कुराको अध्ययन गराउँदछ । ज्ञानको सिद्धान्तले जिज्ञासा, प्रश्न सोध्ने क्षमता र महत्वपूर्ण सोच तथा रचनात्मक चिन्तन जस्ता आवश्यक प्राज्ञिक सीप तथा कौशल सिकाउँछ ।
रचनात्मक क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूले पत्रकारिता, पाकशिक्षा, नाटक, संगीत, नृत्य, फिल्म जस्ता रचनात्मक क्रियाकलापका अनुभव हासिल गर्छ भने क्षमताको विकासका लागि विद्यार्थीहरूलाई ¥याफ्टिङ, क्लाइबिङ, टे«किङ, रक क्लाइम्बिङ आदि क्रियाकलाप गराइन्छ । यसैगरी खेलकुद र सामाजिक सेवा पनि पाठ्यक्रममा समावेश गरिएको छ । कोर विषय अन्तर्गत तीनवटै विषय आईबी डिप्लोमा कार्यक्रममा अनिवार्य गरिएको छ ।
आईबीओको अनुमति विना कुनै पनि विद्यालयले यसको कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउँदैन । यो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले जीवनमा बाँच्न, सिक्न र काम गर्न आवश्यक ज्ञान निर्माण गर्नसक्ने वातावरण प्राप्त गर्छन् । आइबीले विद्यार्थीको ज्ञान निर्माण क्षमताको अभिवृद्धि गरी उनीहरूलाई आवश्यक सीप सिकाउँछ । आईबी कार्यक्रमलाई विश्वभरका विश्वविद्यालय र देशहरूले मान्यता प्रदान गरेको छ ।