शैक्षिक परामर्श व्यवसायीलाई घरभाडामा छुट दिन घरधनिसंग फेकनको आग्रह


काठमाडौं/२९ असार- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले घरधनिसँग घरभाडा छुट मागेका छन् । फेकनले विज्ञप्ति जारी गरी कोरोना माहामारीका कारण दुई दशक देखि संचालनमा रहेको शैक्षिक परामर्श व्यवसाय विस्थापित हुने अवस्थामा पुगेकाले घरभाडामा छुट गरी सहयोग गर्न आग्रह गरेको छ ।


फेकनले लकडाउन सुरु भएको चैत्र देखि यो असार मसान्त सम्मको घरभाडा पूर्ण छुट र यहि श्रावण २०७७ देखि आगामी असार २०७८ सम्मको भाडामा ५०% छुटको लागि घरधनिलाई आग्रह गरेका हो ।


विज्ञप्तिमा , अधिकांश घरधनिहरुको मुख्य आम्दानीको श्रोत घरभाडा नै रहेको यथार्थबाट हामी पनि अनभिज्ञ छैनौं तथापी यस्तो विषम परिस्थितिमा व्यवसायीहरुलाई आत्माविश्वासका साथ व्यवसायमा टिकिरहन घरभाडामा अधिक छुट दिएर मात्र सम्भव देखिन्छ। अन्यथा यस क्षेत्रका अधिकांश व्यवसायीहरु विस्थापित भई घरहरु लामो समय सम्म खाली भई आम्दानीको बाटो नै बन्द हुने अवस्था आउन लामो समय लाग्ने देखिदैन ।शैक्षिक परामर्श व्यवसाय धरयाशायी हुँदा यस व्यवसाय कारणले यी क्षेत्रमा चलेका रेस्टुरेन्ट, होटल, चिया खाजा पसल, प्रिन्टिंग व्यवसाय, फोटोकपी पसल लगायतका अन्य धेरै व्यवसायमा पनि गम्भीर असर पर्ने फेकनको ठम्माई छ ।


फेकनले यसबाट पर्ने दुरगामी प्रभावबाट सबैलाई जोगाउन शैक्षिक परामर्श व्यवसायमा आवद्ध व्यवसायीहरुलाई घरभाडामा छुट दिनुपर्ने विकल्प बताएको छ । काठमाडौँ उपत्यकाका विशेष गरेर डिल्लीबजार, बागबजार, पुतलीसडक, बानेश्वर लगायतका ठाउँहरु शैक्षिक परामर्शको केन्द्रको रुपमा रहेका छन् र यस क्षेत्रका ५०% भन्दा बढी घरहरु शैक्षिक परामर्श व्यवसाय संचालनमा रहेका छन्। कोभिड-१९ को महामारी सँगै सरकारले जारी गरेका लकडाउनका कारण शैक्षिक परामर्श क्षेत्रको व्यापार पूर्णतस् बन्द भएको र यो क्षेत्र पुनस् सुचारु हुन अझै लामो समय लाग्ने भएकाले यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी सक्दो राहत उपलब्ध गराउन सरकारसँग फेकनले आग्रह गर्दै आएको छ ।


२०७२ सालको महा भुकम्पवाट भर्खरै उस्किंदै गरेको यो व्यवसाय कोभिड-१९ को महामारीले झनै थला परेको र नेपाल लगायत विश्वव्यापी लकडाउन तथा बन्द रहेको अन्तर्राष्ट्रिय हवाई उडानले शैक्षिक परामर्श व्यवसाय पूर्णरुपमा प्रभावित हुन छ। व्यवसाय यति धेरै प्रभावित बन्न पुगेको छ कि यस व्यवसाय सामान्य अवस्थामा फर्किन लकडाउन र अन्तर्राष्ट्रिय उडान सुचारु भएको मितिले कम्तिमा १ वर्ष लाग्ने निश्चित रहेको फेकनका अध्यक्ष युवराज कटुवालको भनाइ छ ।


यस महामारीको प्रभावमा हामी व्यवसायीहरु मात्र नभएर विद्यार्थी तथा अभिवावक पनि प्रभावित बन्न पुगेका बताउँदै उनले भने, कतिपय विद्यार्थीहरु भिसा पाएर पनि रोकिनु परेको छ भने कतिपयको वैदेशिक अध्ययन प्रक्रिया समेत बिचमै रोकिएको छ।भिसा लागेका विद्यार्थीको पढ्ने जाने व्यवस्था गर्न तथा प्रक्रियारत विद्यार्थीहरुको प्रक्रिया पुनस् सुचारु गर्न शिक्षा मन्त्रालय तथा अन्य सम्बन्धित निकायहरु सँग निरन्तर छलफलको रहेको पनि उनले जानकारी दिएका छन् ।