एसईईको नतिजा साउनको दोस्रो हप्ता, कक्षा ११ मा भर्नाका लागि नयाँ मापदण्ड बन्ने

काठमाडौं/२५ असार – कोरोना भाइरस महामारीका कारण यसवर्ष माध्यमिक तह कक्षा १० को अन्तिम परीक्षा एसईई रद्द भयो । परीक्षा रद्द भएपछि विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार मानी राष्ट्रिय परीक्षा बोडले ग्रेडसिट दिने गरी कार्यविधि बनी काम भईरहेको छ । तर, यता कलेजहरुले एसईईको नतिजा सार्वजनिक नहुँदै कक्षा ११ मा भर्ना खुलाएका छन् । कतिपय कलेजहरुले प्रि( रजिस्ट्रेशन समेत गरिसकेका छन् । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले नतिजा सार्वजनिक भएपछि राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्ना हुनका लागि नयाँ मापदण्ड बनाउने बताए । उनका अनुसार सोही मापदण्डअनुसार कक्षा ११ मा भर्ना प्रक्रिया अगाडि बढाइनेछ । तर, कलेजहरुले अहिले धमाधम भर्ना खुलाई रहेका छन् । नतिजा र भर्ना प्रक्रियाको मापदण्ड नपर्खि विद्यार्थी बटुल्न तर्फ कलेज लागेका छन् ।

कक्षा ११ को नयाँ पाठ्यक्रम छिट्टै सार्वजनिक हुने

केन्द्रले यस शैक्षिकसत्र देखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने गरी धमाधम पाठ्यक्रम निर्माण गरिरहेको छ । निर्देशक भट्टराईका अनुसार ८० वटा पाठ्यक्रम निर्माण भईसकेको छ भने ३३ वटा पाठ्यक्रम निर्माणको प्रक्रियामा रहेको छ । उनले छिट्टै नै नयाँ पाठ्यक्रम सार्वजनिक गर्ने केन्द्रको तयारी रहेको समेत जानकारी दिए । नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ मा तीन वटा अनिवार्य र तीन वटा ऐच्छिक विषय विषय पढ्नुपर्छ भने क्रेडिट आवर कम भएका विषयमा विद्यार्थीले थप एक विषय पढ्न पाउँछन् ।

कक्षा ११ र १२ लाई विद्यालय तहमा गाभेपछि संकाय प्रणाली हटाई एकल पथीय प्रणाली अनुसार नयाँ पाठ्यक्रम लागू गर्ने तयारीमा केन्द्र रहेको छ । निर्देशक भट्टराईले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू भएसँगै भर्ना गर्दा संकाय प्रणाली अनुसार गर्न नपाउने बताएका छन् ।

एसईईको नतिजा साउनको दोस्रो हप्ता:

राष्ट्रिय परीक्षा बोडले एसईईको नतिजा साउनको दोस्रो हप्ता सम्म सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । अहिले विद्यालयले विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरि शिक्षा विकास तथा समन्वय इकाईमा पठाईरहेका छन् भने इकाईले असार ३० गतेभित्र राष्ट्रिय परीक्षा बोडैमा पठाउनेछ । बोडैले इकाईले पठाएको मूल्यांकनलाई ग्रेडिङमा रुपान्तरण गरी नतिजा सार्वजनिक गर्ने छ ।