काठमाडौं/१० असार–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ तयार पारेको छ ।
कोरोना भाइरस महामारीको कारण चैत ५ गते स्थगित भएको एसईई परीक्षा जेठ २९ गते बसेको मन्त्री परिषद्को बैठकले रद्द गर्ने निर्णय गरेसँग विद्यालयको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्नका लागि बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको संयोजकत्वमा कार्यविधि निर्माण समिति गठन गरिएको थियो । समितिले हिजो मंगलबार कार्यविधि निर्माण गरी स्वीकृत गरेको छ ।
कार्यविधि अनुसार विद्यालयमा मूल्यांकन समितिको गठन गर्ने र मूल्यांकन समितिले विद्यालयले सञ्चालन गरेको अन्तिम परीक्षाको मूल्यांकन विवरण भरी शिक्षा, विकास तथा समन्वय इकाइमा पठाउनु पर्ने छ । इकाइले विद्यालयको मूल्यांकन समितिबाट प्रमाणित गरि पेश गरेको विवरणसँग विद्युतीय प्रणालीबाट प्राप्त हुन आएको विवरण रुजु गरी परीक्षा नियन्त्रण कार्यालयले तोकेको सफ्टवेयर अपलोड गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै, विद्यालयले विद्यार्थी संख्याअनुसार लाग्ने परीक्षा आवेदन वापतको शुल्क राजश्व खातामा दाखिला गरे नगरेको यकिन गर्ने काम पनि इकाइले गर्नुपर्ने छ । त्यसपछि, उक्त मूल्यांकन इकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ । बोर्ड विद्यार्थीले प्राप्त गरेको प्राप्तांकलाई अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ ९संशोधन सहित० बमोजिम रुपान्तरण गर्ने र अन्तिम विवरण नतिजा प्रकाशनको लागि बोर्ड समक्ष सिफारिस गरी नतिजा प्रकाशन भएपश्चात अभिलेख अद्यावधिक गरी ग्रेडशिट र प्रमाणपत्र उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । इकाइ र विद्यालयले बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले पठाएको मूल्यांकन विवरण गोप्य राख्नुपर्नेछ ।
त्यस्तै, नतिजा प्रकाशनमा प्राविधिक कारणबाट कुनै त्रुटी भएमा वा नतिजा स्थगित भएमा वा नतिजा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिस सहित नतिजा प्रकाशन भएको मितिले पैँतिस दिन भित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा निवेदन पाउने व्यवस्था कार्यविधिमा गरिएको छ । तर, यसवर्ष नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडबृद्धि परीक्षा सञ्चालन हुने छैन ।
https://drive.google.com/file/u/0/d/1-iO3MQmC3YuTDiGWjBN51i73X23ZNevi/view