नैतिक शिक्षा गर्भदेखि नै परिवार र समाजबाट सिकाउन आवश्यक : बाल विशेषज्ञ अमात्य

काठमाडौँ /१० असोज – बाल विशेषज्ञ सानु अमात्यले नैतिक शिक्षा कुनै विषय वा सिद्धान्त मात्र नभई परिवार र समाजको व्यवहारबाट विकास हुने भएकाले गर्भावस्थादेखि नै यसको आधार तयार गर्नुपर्ने बताएकी छन् ।


नीति निर्माण गर्दा नीतिभित्रको नियत स्पष्ट हुनुपर्नेमा जोड दिँदै अमात्यले नैतिक शिक्षालाई व्यवहार, वातावरण र व्यवस्थापनसँग एकीकृत गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् ।


उनका अनुसार बालबालिकालाई केवल अवधारणा दिने, विषयवस्तु सिकाउने र परीक्षा लिने परम्परागत पद्धतिले उनीहरूको व्यवहारमा अपेक्षित परिवर्तन ल्याउन सक्दैन । त्यसैले शिक्षा प्रणालीले ज्ञानसँगै व्यवहारिक अभ्यास र सकारात्मक वातावरणलाई पनि प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।


पाठ्यक्रम तथा शैक्षिक नीति निर्माण गर्दा विगतका अभ्यासलाई मात्र आधार नबनाई २१औँ शताब्दीको आवश्यकता र बदलिँदो परिवेशलाई केन्द्रमा राख्नुपर्ने अमात्यले बताइन् ।


उनले पठन सामग्रीभन्दा पनि पठन विधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । बालबालिकाले के पढ्छन् भन्ने मात्र नभई कसरी सिक्छन् र सिकेको कुरा व्यवहारमा कसरी प्रयोग गर्छन् भन्ने विषयलाई शिक्षाको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने उनको भनाइ छ ।


यहाँबाट हेर्नुहोस् भिडियो ।