काठमाडौँ /२८ भदौ – प्रारम्भिक बालशिक्षालाई विद्यालय शिक्षाको संरचनाभित्रै समायोजन गर्ने कि बालविकासको छुट्टै चरणका रूपमा स्थापित गर्ने भन्ने विषय पाठ्यक्रम परामर्शका क्रममा बहस सुरु भएको देखिन्छ । बालबालिकाको विकासात्मक आवश्यकता, सिकाइको निरन्तरता र विद्यालय शिक्षासँगको समन्वयलाई ध्यानमा राख्दै प्रारम्भिक बालशिक्षाको संरचनाबारे मुख्य तीनवटा विकल्प अहिले छलफलमा आएका छन् ।
प्रारम्भिक बाल्यावस्थालाई बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासको महत्वपूर्ण चरण मानिन्छ । यो सँगै विद्यालय शिक्षाको प्रारम्भिक मेरुदण्डका रूपमा पनि यसलाई महत्पूर्ण पक्षका रूपमा सम्बोधन गर्नुपर्ने पछिल्ला बहसबाट सुझाब आएका छन्। । त्यसैले यो तहको संरचना निर्धारण गर्दा विद्यालयको विद्यमान संरचना मात्र नभई बालबालिकाको उमेरअनुसारको विकास र सिकाइ प्रक्रियालाई केन्द्रमा राख्दै बन्दै गरेका नीति र पाठ्यक्रममा पनि समावेश गर्नुपर्ने उत्तिकै रूपमा उठिरहेको छ ।
देशै भर गरिएको पाठ्यक्रमसम्बन्धी परामर्शमा प्रारम्भिक बालशिक्षाको भावी संरचनाका लागि मुख्यतः दुई वर्षे प्रारम्भिक बालशिक्षा, एक वर्षे प्रारम्भिक बालशिक्षा र विद्यालय शिक्षाभन्दा अलग छुट्टै प्रारम्भिक बालविकास प्रणाली गरी तीन विकल्पमा अघि बढ्नुपर्ने शिक्षाविद् डा. मिनाक्षी दाहालको भनाई छ ।
१. २ वर्षको प्रारम्भिक बालशिक्षा र कक्षा १–३
पहिलो विकल्पमा ३ देखि ५ वर्ष उमेर समूहका बालबालिकाका लागि दुई वर्षको प्रारम्भिक बालशिक्षा सञ्चालन गर्नुपर्ने दाहालले बताइन । त्यसपछि कक्षा १ देखि ३ सम्मलाई तीन वर्षको प्रारम्भिक आधारभूत सिकाइ चरणका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ ।
यसअनुसार प्रारम्भिक बालशिक्षा र कक्षा १–३ लाई जोडेर २+३ वर्षको समग्र प्रारम्भिक चरण निर्माण गर्न सकिने विचार व्यक्त गरिन ।
यो मोडेलले बालबालिकाको विकासात्मक अवस्थालाई केन्द्रमा राखेर पाठ्यक्रम, शिक्षण सिकाइ प्रक्रिया र मूल्याङ्कन प्रणाली निर्माण गर्न सहज हुने अपेक्षा गरिएको छ । अवधारणागत रूपमा यो संरचना भारतमा अभ्यासमा रहेको ५+३+३+४ विद्यालय शिक्षा संरचनासँग समेत केही हदसम्म उपयुक्त हुने सुझाब रहेको छ ।
२. एक वर्षको प्रारम्भिक बालशिक्षा, त्यसपछि कक्षा १–३
दोस्रो विकल्पमा ४ वर्ष उमेरमा एक वर्षको प्रारम्भिक बालशिक्षा सञ्चालन गर्ने र त्यसपछि कक्षा १ देखि ३ सम्मलाई चार वर्षे विकासात्मक तथा आधारभूत सिकाइ चरणका रूपमा हेर्ने सकिने डा. दाहालको भनाई छ । विकल्प कार्यान्वयनमा ल्याउँदा विद्यमान विद्यालय संरचनामा ठूलो परिवर्तन गर्नुपर्ने अवस्था नआउने भएकाले तुलनात्मक रूपमा सहज हुनसक्ने विचार व्यक्त गरिन ।
तर, चार वर्षे एउटै चरणमा ४ देखि ८ वर्षसम्मका बालबालिकालाई समेट्दा उनीहरूको उमेरगत तथा विकासात्मक भिन्नता लाई पाठ्यक्रम, शिक्षण पद्धति र मूल्याङ्कनमा कसरी सम्बोधन गर्ने भन्ने चुनौती रहेको बताइन ।
३. विद्यालयभन्दा अलग प्रारम्भिक बालविकास प्रणाली
तेस्रो विकल्पमा प्रारम्भिक बालशिक्षालाई विद्यालय शिक्षाको संरचनाभन्दा बाहिर राखेर छुट्टै बालविकास तथा प्रारम्भिक बालशिक्षा प्रणाली का रूपमा विकास गर्ने सुझाब दाहालको छ ।
यसमा चार वर्ष उमेरसम्मको प्रारम्भिक बालशिक्षा छुट्टै प्रणालीअन्तर्गत सञ्चालन गरी त्यसपछि मात्र बालबालिकालाई विद्यालय शिक्षामा प्रवेश गराउन सकिने छ । यदि यस्तो व्यवस्था लागु गर्ने हो भने प्रारम्भिक बाल शिक्षाका लागि छुट्टै विकासात्मक पाठ्यक्रम, शिक्षक वा सहजकर्ता, न्यूनतम मापदण्ड र व्यवस्थापन प्रणाली आवश्यक पर्नेछ ।
यद्यपि, विद्यालय प्रवेश गर्ने बेलामा बालबालिकाबिच सिकाइका अवसरमा देखिन सक्ने असमानता यसको प्रमुख चुनौती बन्न सक्ने देखिन्छ । प्रारम्भिक बालशिक्षामा सबै बालबालिकाको समान पहुँच र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न थप नीतिगत व्यवस्था आवश्यक रहेको दाहालले बताइन ।



